CanadaKhabar.com

Wednesday, January 7, 2026 -

मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम तथा जीवन–कल्याण विषयमा एनसीसीएसद्वारा विशेष भर्चुअल प्यानल गोष्ठी आयोजना 

टोरन्टो – एकातर्फको व्यस्त जीवनशैली र अर्कोतर्फ समयको पावन्दी का कारण, विश्वमा मानसिक स्वास्थ्य र यसमा आईपर्ने समस्या, एक चुनौतीको विषय बनेको छ। त्यसै अनुरुप क्यानडामा बसोबास गर्ने नेपाली समुदायमा पनि आप्रवासनपछिका सामाजिक, आर्थिक, सांस्कृतिक तथा मनोसामाजिक चुनौतीसँग जुधिरहेको वर्तमान सन्दर्भमा मानसिक स्वास्थ्यसम्बन्धी विषयमा खुला, तथ्यपरक र सचेत संवादको आवश्यकता अत्यन्त गम्भीर रूपमा महसुस गरिएको छ। यही यथार्थलाई आत्मसात् गर्दै नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेस (एनसीसीएस) ले मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम तथा समग्र जीवन–कल्याण विषयमा केन्द्रित एक विशेष भर्चुअल प्यानल गोष्ठी आयोजना गर्न लागेको हो।

आयोजक संस्थाका अनुसार यो कार्यक्रम आयोजना गर्नुका तीन प्रमुख औचित्य पहिलो-नेपाली समुदायभित्र मानसिक स्वास्थ्यसम्बन्धी विषयलाई अझै पनि लाज, डर र सामाजिक संकोचका कारण खुला रूपमा छलफल नगर्ने प्रवृत्ति विद्यमान रहेकाले उक्त मौनतालाई तोड्दै सुरक्षित र सम्मानजनक संवादको वातावरण सिर्जना गर्नु, दोस्रो- आप्रवासी जीवनमा बढ्दो मानसिक तनाव, एक्लोपन, निराशा र असहज परिस्थितिका कारण उत्पन्न हुन सक्ने आत्महत्याजस्ता गम्भीर जोखिमबारे समयमै सचेतना फैलाउँदै रोकथामका उपायबारे जानकारी प्रदान गर्नु, र तेस्रो-मानसिक स्वास्थ्यलाई केवल व्यक्तिगत समस्या नभई समग्र सामाजिक कल्याणसँग जोडिएको साझा जिम्मेवारीका रूपमा स्थापित गर्दै सन्तुलित, स्वस्थ र मर्यादित जीवनशैलीतर्फ समुदायलाई अभिमुख गराउनु हो।

उक्त प्यानल गोष्ठी हेल्पिङ ह्यान्ड्स विदाउट बोर्डर्स क्यानडा तथा आप्रवासी, आप्रवासनमा रहेका र शरणार्थीहरूको स्वास्थ्य संरक्षण संस्था को सहकार्यमा आइतबार, डिसेम्बर २८, साँझ ७:०० बजे (टोरोन्टो समय) मा आयोजना हुनेछ। कार्यक्रम भर्चुअल माध्यममार्फत सञ्चालन भई एनसीसीएसको आधिकारिक सामाजिक सञ्जाल पृष्ठबाट प्रत्यक्ष प्रसारण गरिनेछ, जहाँ सहभागीहरूले आफ्ना जिज्ञासा र प्रश्नहरू प्रत्यक्ष रूपमा राख्न सक्नेछन्।

कार्यक्रममा बाल तथा किशोर मानसिक स्वास्थ्य विशेषज्ञ डा. शरद कोइराला, स्वास्थ्य संरक्षण क्षेत्रमा क्रियाशील संस्था प्रोटेक्टिङ हेल्थ अफ माइग्रेन्ट्स, इमिग्रेन्ट्स एन्ड रिफ्युजीजका अध्यक्ष डा. संजीव सापकोटा, अनुभवी मानसिक स्वास्थ्य तथा क्लिनिकल परामर्शदाता निरुपमा शर्मा, तथा मनोचिकित्सक एवं मानसिक स्वास्थ्य परामर्शदाता राजन छत्कुली, विज्ञ प्यानलिस्टका रूपमा सहभागी हुनेछन्। उनीहरूले आप्रवासी नेपाली समुदायमा देखिने मानसिक स्वास्थ्यका समस्या, त्यसका कारण, प्रभाव, समाधानका उपाय तथा उपलब्ध सहयोग सेवाबारे आफ्नो विशेषज्ञ ज्ञान र व्यावहारिक अनुभव प्रस्तुत गर्नेछन्।

प्यानल गोष्ठीको संयोजन नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेसका अध्यक्ष सुदर्शन सापकोटा ले गर्नेछन्। छलफलका मुख्य निष्कर्ष, सन्देश र सिफारिसहरूलाई अभिलेखीकरण गर्ने जिम्मेवारी संस्थाका निर्देशक मण्डल सदस्यहरू खगेन्द्र कँडेल र निमिष खनाल ले सम्हाल्नेछन्।

आयोजकका अनुसार यस प्रकारका कार्यक्रमबाट मानसिक स्वास्थ्यसम्बन्धी सही जानकारीको विस्तार हुनुका साथै आत्महत्या रोकथामप्रति समुदायको चेतना अभिवृद्धि हुने, मानसिक समस्या पहिचान गरी समयमै सहयोग खोज्ने संस्कृतिको विकास हुने तथा आप्रवासी नेपालीहरूबीच आपसी समझदारी, सहानुभूति र समर्थनको वातावरण सुदृढ हुने अपेक्षा गरिएको छ।

उक्त प्यानल गोष्ठी विशेष गरी नयाँ आप्रवासी, अन्तर्राष्ट्रिय विद्यार्थी, कामकाजी नेपाली, अभिभावक, परिवारका सदस्य तथा मानसिक स्वास्थ्यप्रति चासो राख्ने सम्पूर्ण नेपाली समुदाय का लागि अत्यन्त लाभदायक हुने विश्वास आयोजकले व्यक्त गरेका छन्। कार्यक्रम निःशुल्क तथा सबैका लागि खुला रहनेछ।

मानसिक स्वास्थ्यजस्तो संवेदनशील तर अत्यावश्यक विषयमा समुदायस्तरमै जिम्मेवार संवादको थालनी गर्ने उद्देश्यसहित आयोजना गरिएको यस भर्चुअल प्यानल गोष्ठीले नेपाली समुदायको समग्र जीवन–कल्याणमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।