CanadaKhabar.com

Monday, January 12, 2026 -

टोरन्टोमा ‘जोइ अफ गिभिङ’ कार्यक्रममार्फत ५७ परिवारलाई खाद्यान्न सहयोग

क्यानडाखबर डेस्क ।

टोरन्टोमा एनआरएन, क्यानाडाको नेतृत्वमा विभिन्न नेपाली सङ्घसंस्थाहरूको सहकार्यमा आयोजित ‘जोइ अफ गिभिङ’ खाद्यान्न वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममार्फत अन्तर्राष्ट्रिय विद्यार्थी, नवआगन्तुक तथा आर्थिक रूपमा कमजोर अवस्थामा रहेका परिवारलाई राहत प्रदान गरिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार कार्यक्रमबाट कूल ५७ जनाले प्रत्यक्ष लाभ लिएका छन्। यसमध्ये ३३ जना अग्रिम रूपमा दर्ता भएका थिए भने २४ जना दर्ता नगरी वितरण स्थलमै उपस्थित भएपछि समेटिएका थिए। सहभागीहरूलाई दाल, चामल, तेल, नुन, चिनी, गेडागुडी, साबुन, श्याम्पू, पिनट बटरलगायत खाद्यान्न तथा सरसफाइका अत्यावश्यक सामग्रीहरू वितरण गरिएको थियो।

कार्यक्रम सञ्चालनका लागि पशुपतिनाथ नेपाली क्यानेडियन कल्चर सेन्टरले स्थल तथा व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुर्‍याएकोप्रति एनआरएन, क्यानाडाले सेन्टरका अध्यक्ष नील पौडेल तथा सम्पूर्ण कार्यसमितिप्रति आभार व्यक्त गरेको छ। साथै, नेपलिज क्यानेडियन कम्युनिटी सर्भिसेसका अध्यक्ष सुदर्शन सापकोटा र ट्रिलियम फाउन्डेसनका अध्यक्ष लिलेन गुरुङले कार्यक्रम सफल बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेको संस्थाका वरिष्ठ उपाध्यक्ष पुन्यसागर मरहठाले जानकारी दिए।
उनका अनुसार, “मानवसेवा केन्द्रित यस्ता कार्यक्रमलाई एनआरएन, क्यानाडाले आगामी दिनहरूमा पनि निरन्तरता दिनेछ।”

यस अभियानमा एनआरएन, क्यानाडाका अध्यक्ष जगन सापकोटा, बाग्लुङ सेवा समाज, पेङ्गुइन इमिग्रेसन, बिबेक बलामी, चितवन सोसाइटीका डा. कञ्चन देवकोटा, दिपक महरा, सन्दिप लामिछानेलगायतले आर्थिक तथा सामग्री सहयोग प्रदान गरेका थिए। त्यस्तै, एमडीएण्डपीएस इंक, ह्यरिटेल्स, बिड सिपिए प्रोफेसनल कर्पोरेसन, म्यापल स्टुडियो, एमआरआर क्यानाडा र कोर्टिफक्स डट कमजस्ता संस्थाहरूको पनि उल्लेखनीय योगदान रहेको थियो।

कार्यक्रममा नेपाली साहित्य समाज क्यानाडा, सुदूरपश्चिम समाज, ठकुरी समाज तथा टोरन्टो नेपलिज स्पोर्ट्स क्लबले कम्युनिटी आउटरीच पार्टनरका रूपमा सहकार्य जनाएका थिए।