CanadaKhabar.com

Wednesday, February 11, 2026 -

विदेशमा रहेका नेपालीप्रति झांक्रीको अपमानजनक अभिव्यक्ति: एनआरएन क्यानडाद्वारा कडा आपत्ति

टोरन्टो – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएन–क्यानडा) ले प्रतिनिधिसभाकी निर्वाचित सांसद रामकुमारी झाँक्रीले विदेशमा बसोबास गर्ने गैरआवासीय नेपाली समुदायप्रति व्यक्त गरेको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएको छ।

जारी प्रेस विज्ञप्तिमा संघले उक्त अभिव्यक्तिलाई “अपमानजनक र असंवेदनशील” भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ। विदेशमा रहेका नेपालीले रेमिट्यान्स, सीप, लगानी तथा अन्तर्राष्ट्रिय वकालतमार्फत नेपालको अर्थतन्त्र र प्रतिष्ठामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै संघले यस्तो समुदायलाई होच्याउने र अपमान गर्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारेको छ।

विज्ञप्तिमा नेपालको राजनीतिक अस्थिरताका कारण बाध्य भएर विदेशिएका नेपालीलाई दोषारोपण गर्ने प्रयास गैरजिम्मेवारपूर्ण भएको उल्लेख गरिएको छ। पूर्वमन्त्रीसमेत रहेकी सांसदबाट यस्ता अभिव्यक्ति दोहोरिनु दुःखद भएको भन्दै संघले विभाजनकारी गतिविधि तुरुन्त बन्द गर्न आग्रह गरेको छ।

एनआरएन–क्यानडाले विशेषगरी विदेशमा रहेका नेपालीको मताधिकारसम्बन्धी मागलाई नकारात्मक रूपमा प्रस्तुत गर्नु लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको भावनाविपरीत भएको जनाएको छ। एकपटकको नेपाली सधैं नेपाली भन्ने मान्यताअनुसार जन्मसिद्ध नागरिकसरह अधिकार सुनिश्चित हुनुपर्ने गैरआवासीय नेपाली समुदायको माग वैध र न्यायोचित रहेको संघको भनाइ छ।

एनआरएन–क्यानडाका प्रवक्ता तिलाराम सापकोटाद्वारा जारी गरिएको विज्ञप्तिमा विभाजनकारी र अपमानजनक भनाइको विरोध गर्दै प्रवासी नेपाली समुदायको गरिमा, आत्मसम्मान तथा राष्ट्रप्रतिको योगदानको रक्षा गर्न प्रतिबद्ध रहेको स्पष्ट गरेको छ।