CanadaKhabar.com

Sunday, February 15, 2026 -

रामकुमारी झाँक्रीको अभिव्यक्तिप्रति क्यानाडा प्रजातान्त्रिक जन–सम्पर्क समितिको आपत्ति

टोरन्टो, क्यानडा

क्यानाडा प्रजातान्त्रिक जन–सम्पर्क समिति क्यानडाले एमाले नेता रामकुमारी झाँक्रीद्वारा हालै सार्वजनिक कार्यक्रममा व्यक्त अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समितिले ती अभिव्यक्तिहरूलाई गैरजिम्मेवार, असन्तुलित तथा राष्ट्रहितविपरीत रहेको ठहर गर्दै कडा शब्दमा भर्त्सना गरेको छ।

समितिद्वारा जारी विज्ञप्तिमा उच्च संवैधानिक पदमा आसीन व्यक्तिबाट आउने सार्वजनिक धारणा अझ जिम्मेवार, मर्यादित र सन्तुलित हुनुपर्ने उल्लेख गरिएको छ। विभाजनकारी वा उत्तेजनात्मक टिप्पणीहरूले लोकतान्त्रिक अभ्यास, सामाजिक सद्भाव तथा राष्ट्रिय एकतामा प्रतिकूल असर पार्न सक्ने भन्दै यस्ता अभिव्यक्तिबाट सचेत रहन आग्रह गरिएको छ।

विज्ञप्तिमा संवैधानिक पदमा रहेका व्यक्तिको अभिव्यक्ति सम्पूर्ण राष्ट्रको प्रतिनिधित्व गर्ने भएकाले भाषा, शैली र प्रस्तुति संयमित तथा जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ। साथै, राजनीतिक असहमति लोकतन्त्रको अभिन्न अंग भए पनि सार्वजनिक मञ्चबाट व्यक्त हुने विचार मर्यादित र सन्तुलित हुनुपर्ने बताइएको छ।

समितिले राष्ट्रिय एकता, विधिको शासन तथा लोकतान्त्रिक मूल्यहरूको संरक्षण सबै राजनीतिक शक्ति र नेतृत्वको साझा दायित्व भएको उल्लेख गर्दै विभाजनकारी अभिव्यक्तिले दीर्घकालीन रूपमा सामाजिक सद्भावमा गम्भीर असर पार्न सक्ने चेतावनी दिएको छ।

एमाले नेता झाक्रीलाई आफ्ना अभिव्यक्ति पुनर्विचार गरी सार्वजनिक रूपमा स्पष्टिकरण दिन आग्रह गरेको छ। साथै, भविष्यमा परिपक्व, जिम्मेवार तथा राष्ट्रहित केन्द्रित भूमिका निर्वाह गर्न सबै राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालाहरूसँग सहकार्य, संवाद र सहिष्णुताको संस्कार विकास गर्न सभापति बसन्त कार्कीले अनुरोध समेत गरेका छन् ।