CanadaKhabar.com

Sunday, February 15, 2026 -

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा ‘नागरिक करार’ सार्वजनिक, पाँच वर्षभित्र प्रतिफल दिने प्रतिबद्धता

क्यानडाखबर डेस्क । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘नागरिक करार’ सार्वजनिक गरेको छ। पार्टीले यसलाई मतदातासँगको औपचारिक प्रतिबद्धता पत्रका रूपमा प्रस्तुत गर्दै सुशासन, आर्थिक समृद्धि र सामाजिक न्याय केन्द्रित स्पष्ट कार्ययोजना अघि सारेको जनाएको छ। पार्टीका अनुसार नागरिकले दिएको मतलाई “विश्वासको अमूल्य जनादेश” का रूपमा ग्रहण गर्दै सोही विश्वासअनुसार काम गर्ने प्रतिवद्धता जनाइएको छ।

करारपत्रमा विगतका राजनीतिक अभ्यासप्रति असन्तुष्टि जनाउँदै अबको पाँच वर्षभित्र मापनयोग्य उपलब्धि दिने लक्ष्यसहित योजना कार्यान्वयन गर्ने उल्लेख गरिएको छ। करारपत्रमा पाँच प्रमुख प्राथमिकता निर्धारण गरिएको छ। पहिलो, सुशासन र भ्रष्टाचार नियन्त्रण अन्तर्गत नीतिगत, व्यवहारगत र संस्थागत सुधारमार्फत सार्वजनिक सेवामा पारदर्शिता र जवाफदेहिता कायम गर्ने उल्लेख छ।

सरकारी सेवामा डिजिटल प्रणाली विस्तार गर्दै भ्रष्टाचार नियन्त्रणमा कडाइ गरिने प्रतिबद्धता जनाइएको छ। दोस्रो प्राथमिकतामा मध्यम वर्गीय विस्तार लाई राखिएको छ। प्रतिव्यक्ति आय वृद्धि, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा सर्वसुलभ पहुँच, वित्तीय समावेशीकरण तथा उद्यमशीलता प्रवर्द्धनमार्फत आर्थिक आधार सुदृढ गर्ने योजना अघि सारिएको छ। तेस्रो, रोजगार सिर्जना मा विशेष जोड दिँदै बाध्यात्मक वैदेशिक रोजगारी घटाउने, स्वदेशमै औपचारिक र सम्मानजनक रोजगारीका अवसर विस्तार गर्ने लक्ष्य लिइएको छ।

सूचना प्रविधि, निर्माण, पर्यटन, कृषि, उद्योग तथा सेवा क्षेत्रलाई प्राथमिकतामा राखेर लाखौं रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। चौथो प्राथमिकतामा पूर्वाधार विकास अन्तर्गत सडक, ऊर्जा, हवाई तथा डिजिटल सञ्जालको तीव्र विस्तार गर्ने योजना उल्लेख छ। आर्थिक गतिविधि विस्तारका लागि रणनीतिक पूर्वाधार निर्माणलाई तीव्रता दिने पार्टीको भनाइ छ। पाँचौं, प्रवासी नेपालीको भूमिका सुदृढीकरण लाई महत्व दिँदै गैरआवासीय नेपालीको लगानी, सीप र सञ्जाललाई राष्ट्र निर्माणमा उपयोग गर्ने नीति अवलम्बन गरिने बताइएको छ।

सुरक्षित, सम्मानजनक र व्यवस्थित वैदेशिक रोजगारीका लागि कानुनी तथा कूटनीतिक पहल सशक्त बनाइने उल्लेख छ। पार्टीले बहुमत प्राप्त भए करारअनुसार काम नगरेमा राजनीतिक जवाफदेहिता वहन गर्ने जनाएको छ। संविधान, प्रचलित कानुन र सामाजिक करारअनुसार कार्यसम्पादन गर्दै परिणाम नआए पुनः जनतामाझ जवाफ दिन तयार रहने प्रतिबद्धता व्यक्त गरिएको छ।

रास्वपाले नागरिक करारलाई केवल चुनावी घोषणापत्र नभई “विश्वास र जिम्मेवारीको सार्वजनिक प्रतिज्ञा” का रूपमा व्याख्या गरेको छ। अन्य पार्टीहरु भन्दा फरक अभ्यास गर्ने रास्वपाको अझै चुनाव लक्षित प्रतिबद्दताहरु आउन बाँकी नै छ ।