CanadaKhabar.com

Wednesday, February 18, 2026 -

क्यानडामा जबर्जस्ती असुली प्रकरण: सयौं विदेशी नागरिकमाथि आप्रवासन छानबिन

टोरोन्टो । क्यानडाको आप्रवासन अधिकारीहरूले ब्रिटिस कोलम्बियाको एण्टी–एक्सटोर्सन (जबरजस्ती असुली विरोधी) इकाइले चिन्हित गरेका सयौं विदेशी नागरिकमाथि छानबिन थालेका छन्। Global News लाई सार्वजनिक गरिएको नयाँ तथ्यांकअनुसार Canada Border Services Agency (CBSA) ले बी.सी. एक्सटोर्सन टास्क फोर्सका साझेदार निकायहरूले “चासोका व्यक्ति” (persons of interest) का रूपमा ध्यानाकर्षण गराएका २९६ जनामाथि अनुसन्धान सुरु गरेको जनाएको छ।

फेब्रुअरी ४ सम्मको उक्त विवरण एक महिनाअघिको अवस्थासँग तुलना गर्दा उल्लेख्य वृद्धि देखिएको छ। गत महिना १०० भन्दा केही बढी CBSA अनुसन्धान मात्रै जारी रहेको बताइएको थियो।

आप्रवासन कार्यान्वयन अधिकृतहरूले ती फाइलहरू “सम्भावित अयोग्यता” (potential inadmissibility) को आधारमा समीक्षा गरिरहेका छन्, जसअन्तर्गत आप्रवासन उल्लङ्घन पुष्टि भएमा सम्बन्धित व्यक्तिलाई क्यानडाबाट हटाउने प्रक्रिया अघि बढ्न सक्छ। CBSA का अनुसार हालसम्म ३२ जनालाई देशनिकाला आदेश जारी गरिएको छ, जसमा १० जना पहिले नै क्यानडाबाट हटाइसकिएको छ। थप ९ जना Immigration and Refugee Board of Canada समक्ष सुनुवाइको पर्खाइमा छन्, जहाँबाट देशनिकाला आदेश जारी हुन सक्छ।

यी तथ्यांकले दक्षिण एसियाली समुदायको उल्लेख्य बसोबास रहेका क्यानडाका सहरहरूमा त्रास फैलाउँदै आएको जबर्जस्ती असुली गिरोहविरुद्धको कारबाही तीव्र बन्दै गएको संकेत गर्छ। ब्रिटिस कोलम्बियासँगै ओन्टारियो, अल्बर्टा र म्यानिटोबा प्रान्तमा भारत–आधारित आपराधिक समूहहरूले ठूलो रकम असुल्न धम्की दिने घटनाहरू बढेका छन्। अधिकांश पीडितहरू सिख मूलका क्यानडाली नागरिक रहेका छन्।

पीडितहरूलाई सुरुमा फोनमार्फत धम्की दिइन्छ। मागिएको रकम नतिरे घर वा व्यवसायमा गोली प्रहार गर्ने वा आगजनी गर्ने जस्ता हिंसात्मक गतिविधि हुने गरेको प्रहरीले जनाएको छ। केही हत्याकाण्डमा समेत यिनै गिरोहको संलग्नता रहेको आरोप छ।

प्रायः हिंसात्मक कार्य स्थानीय रूपमा भर्ना गरिएका भारतीय नागरिकमार्फत गराइएको बताइएको छ, जो विद्यार्थी वा कामदार भिसामा क्यानडा प्रवेश गरेका थिए र ती अनुमति अवधि समाप्त भइसकेको थियो।

यस योजनामागि केही संगठित आपराधिक समूह सक्रिय रहेको बताइन्छ, विशेषगरी Lawrence Bishnoi को गिरोह, जसले भारतीय जेलभित्रैबाट आफ्नो सञ्जाल सञ्चालन गरेको आरोप छ। गत सेप्टेम्बरमा क्यानडा सरकारले बिश्नोई गिरोहलाई आतङ्कवादी सूचीमा राख्दै दक्षिण एसियाली समुदायका अगुवा, व्यवसायी र सांस्कृतिक व्यक्तित्वहरूलाई लक्षित गरेको आरोप लगाएको थियो।

उता ब्रिटिस कोलम्बिया सरकारले Royal Canadian Mounted Police (RCMP) को नेतृत्वमा एक्सटोर्सन टास्क फोर्स गठन गरेको छ, जसमा आप्रवासन कार्यान्वयन अधिकारीहरू समेत समावेश छन्। CBSA ले “सार्वजनिक सुरक्षा दायित्व अन्तर्गत क्यानडामा बस्ने अधिकार नभएका विदेशी अपराधीलाई देशबाट हटाउन कानुन कार्यान्वयन निकायहरूसँग सहकार्य गरिरहेको” जनाएको छ।

बी.सी. का मुख्यमन्त्री David Eby ले जबर्जस्ती असुलीलाई “ढिलो गतिमा हुने आतंकवादी आक्रमण” को संज्ञा दिँदै संघीय सहयोग बढाउन माग गर्दै आएका छन्। सरे (Surrey) सहरकी मेयर Brenda Locke ले समेत प्रभावित समुदायका लागि थप सुरक्षात्मक सहयोगको आवश्यकता औंल्याएकी छन्।

मुख्यमन्त्री इबीले केही संदिग्धहरूले शरणार्थी दाबी गरेर देशनिकाला प्रक्रिया ढिलाइ गराएको अवस्थालाई “अत्यन्तै असंगत” भएको टिप्पणी गर्दै आप्रवासन तथा देशनिकाला प्रक्रियामा सुधारको माग गरेका छन्।

यसबीच, अचानक बढेको अनुसन्धान संख्याबारे CBSA ले विस्तृत स्पष्टीकरण नदिएको र RCMP ले समेत प्रतिक्रिया नदिएको जनाइएको छ।