CanadaKhabar.com

Saturday, February 21, 2026 -

अन्तर्राष्ट्रिय महिला दिवस २०२६ को अवसरमा स्कारबोरोमा रक्त तथा प्लाज्मा दान कार्यक्रम हुँदै

क्यानडाखबर डेस्क ।क्यानडामा बसोबास गर्ने नेपाली समुदायबीच सामाजिक उत्तरदायित्व, मानवीय सेवा र ऐक्यबद्धताको भावना सुदृढ गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय महिला दिवस २०२६ को अवसरमा स्कारबोरोमा विशेष रक्त तथा प्लाज्मा दान कार्यक्रम आयोजना गरिने भएको छ। GiveToGain नारासहित सञ्चालन हुन लागेको उक्त कार्यक्रम (ट्रिलियम फाउन्डेसन) ले (नेपाली रक्तदाता संघ क्यानडा) सँगको सहकार्यमा आयोजना गर्न लागेको हो।

आयोजक संस्थाका अनुसार कार्यक्रम शनिबार, फेब्रुअरी २१, २०२६ बिहान १०:३० बजेदेखि दिउँसो १:३० बजेसम्म सञ्चालन हुनेछ। रक्त तथा प्लाज्मा संकलन कार्यक्रम क्यानेडियन ब्लड सर्भिसेज अन्तर्गत पर्ने स्कारबोरो डोनर सेन्टर, ८८० वार्डेन एभिन्यू, स्कारबोरो, ओन्टारियो (ON M1L 4W6) मा आयोजना गरिनेछ।

अन्तर्राष्ट्रिय महिला दिवसको मूल भावना—महिलाको नेतृत्व, योगदान र सामाजिक रूपान्तरणमा उनीहरूको भूमिकाको सम्मानलाई व्यवहारमा उतार्दै यो कार्यक्रम विशेष रूपमा समर्पित गरिएको जनाइएको छ। “रक्तदान गर्नुहोस्; जीवन बचाउनुहोस्; र परोपकारी बन्नुहोस्” भन्ने सन्देशसहित समुदायका सबै वर्ग, विशेषतः महिलाहरूलाई अग्रसर भई सहभागिता जनाउन आयोजकहरूले आग्रह गरेका छन्।

रक्त र प्लाज्मा दानलाई मानव जीवन जोगाउने सबैभन्दा सरल, सुरक्षित र प्रभावकारी माध्यमका रूपमा लिइँदै आएको छ। क्यानडामा नियमित रूपमा रगतको आवश्यकता भइरहने सन्दर्भमा नेपाली समुदायको सक्रिय सहभागिताले सकारात्मक सन्देश दिने विश्वास आयोजकहरूको छ।

कार्यक्रमको व्यवस्थापन तथा समन्वयका लागि लिलेन गुरुङ (६४७–५७५–२७७७), चुनु केसी (४१६–७२१–६१०९), गीता प्रसाई (४१६–५१९–८७३०), सुनीता कोइराला (६४७–८५७–६६०८), लीलानाथ पाण्डे (६४७–७०१–५३६३) तथा दीपेन राउत (६४७–७७४–६५४२) सम्पर्क व्यक्तिका रूपमा रहेका छन्। इच्छुक दाताहरूले अग्रिम रूपमा सम्पर्क गरी आफ्नो सहभागिता सुनिश्चित गर्न सक्ने जनाइएको छ।

नेपाली समुदायको सामाजिक सक्रियता र मानवीय सेवाप्रतिको प्रतिबद्धतालाई अझ मजबुत बनाउने उद्देश्यले आयोजना हुन लागेको यस कार्यक्रमलाई व्यापक सहभागितामार्फत सफल बनाउन सबैमा हार्दिक आह्वान गरिएको छ।