CanadaKhabar.com

Sunday, March 15, 2026 -

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ट्रिलियम फाउन्डेसनले गर्‍यो रक्त–प्लाज्मा दान कार्यक्रम

स्कारबोरो, क्यानडा — अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ट्रिलियम फाउन्डेसनले रक्त तथा प्लाज्मा दान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। Nepalese Blood Donors Association Canada (एनबिडिए) सँगको सहकार्यमा आयोजित उक्त कार्यक्रम शनिबार फेब्रुअरी २१ मा स्कारबोरो डोनर सेन्टरमा सम्पन्न भएको हो।

बिहान १०:३० बजेदेखि अपरान्ह १:३० बजेसम्म सञ्चालन भएको कार्यक्रममा क्यानडामा बसोबास गर्ने नेपाली समुदायका विभिन्न वर्गका महिला तथा पुरुषहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममार्फत सामाजिक उत्तरदायित्व, मानवीय सेवा तथा महिला सशक्तिकरणको सन्देश प्रवाह गर्ने लक्ष्य राखिएको आयोजकले बताएका छन्।

अन्तर्राष्ट्रिय महिला दिवसको मूल भावना- महिलाको नेतृत्व, योगदान र सामाजिक रूपान्तरणमा उनीहरूको भूमिकाको सम्मान- लाई व्यवहारमा उतार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो। आयोजकहरूले विशेषगरी महिलाहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गरेका थिए।

कार्यक्रममा सहभागीहरूले “रक्तदान गर्नुहोस्; जीवन बचाउनुहोस्; र परोपकारी बन्नुहोस्” भन्ने सन्देशलाई आत्मसात गर्दै रक्त तथा प्लाज्मा दान गरेका थिए। यस अवसरमा ट्रिलियम फाउन्डेसन र एनबिडिएका प्रतिनिधिहरूले कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण सहभागीहरू प्रति आभार व्यक्त गरेका छन्।

उनीहरूले यस्ता मानवीय पहलहरूले समुदायमा दया, उदारता र ऐक्यबद्धता अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनहरूमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

यस कार्यक्रमले रक्त तथा प्लाज्मा दानलाई जीवन बचाउने प्रभावकारी माध्यमका रूपमा प्रवर्द्धन गर्नुका साथै नेपाली समुदायभित्र सामाजिक उत्तरदायित्व र मानवसेवाको भावना अझ सुदृढ बनाउने लक्ष्य राखेको संस्थाका संस्थापक अध्यक्ष लिलेन गुरुङले बताईन् । संस्थाले समुदायको हित हितमा विभिन्न कार्यक्रम गर्दै आएको उनले जानकारी दिईन् ।

कार्यक्रम केवल रक्तदानमा सीमित नभई महिला तथा समुदाय सशक्तिकरण, सहकार्य र एकताको सन्देश प्रवाह गर्ने एक महत्त्वपूर्ण पहलका रूपमा समेत स्थापित भएको छ।