टोरन्टो, क्यानडा — Non-Resident Nepali Association Canada (एनआरएनए क्यानडा) द्वारा आयोजित तथा विभिन्न संघ–संस्थाहरूको सहयोग र सहकार्यमा सञ्चालन गरिएको ‘Delight of Sharing Together’ नामक फुड ड्राइभ कार्यक्रम भएको छ। कार्यक्रममार्फत ६० जना लाभान्वित भएका छन्।
उक्त कार्यक्रम Everest Taekwondo मा आयोजना गरिएको थियो। जीटीए (ग्रेटर टोरन्टो एरिया) भित्रका २८ संघ–संस्था तथा व्यक्तित्वहरूले स्पोन्सरमार्फत कार्यक्रमलाई सहयोग गरेको जानकारी कार्यक्रम संयोजक प्रजापति सापकोटाले दिए ।

खाद्यान्न सामग्री वितरण अघि आयोजित औपचारिक कार्यक्रममा क्यानडाकी संघीय सांसद् Sonia Sidhu तथा अमनदीप सिद्धु अतिथिका रूपमा सहभागी हुनुभएको थियो। साथै, Everest Brokerage का ब्रोकर अफ रेकर्ड मदन केसीले कार्यक्रमको प्रमुख आतिथ्यता गरेका थिए । जीटीए अन्तर्गतका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको समेत कार्यक्रममा उल्लेखनीय उपस्थिति रहेको थियो।
आयोजकका अनुसार, अनलाइनमार्फत ४० जनाले दर्ता गराएकामध्ये २७ जना प्रत्यक्ष रूपमा खाद्यान्न लिन उपस्थित भएका थिए भने अन्य सहभागीहरू कार्यक्रम स्थलमै उपस्थित भई लाभान्वित भएका थिए।
कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण संघ–संस्थाका प्रतिनिधि तथा सहयोगी महानुभावहरूप्रति एनआरएनए क्यानडाले हार्दिक आभार व्यक्त गरेको छ। आगामी दिनहरूमा पनि संघद्वारा सञ्चालन गरिने मानव सेवाका कार्यक्रमहरूमा समुदायको निरन्तर सहयोग रहने विश्वास व्यक्त गरिएको छ।
‘Delight of Sharing Together’ कार्यक्रमले नेपाली समुदायबीच सहकार्य, एकता र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्दै सामुदायिक सेवाको क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्न कै लागि यस्ता कार्यक्रम गर्दै आएको संस्थाका अध्यक्ष जगन सापकोटाले बताए ।
संस्थाले यस अघी क्यालगरी र स्करब्रोमा कार्यक्रम गरीसकेको छ ।
