CanadaKhabar.com

Tuesday, June 16, 2026 -

क्यानडाको ‘गोल्ड हार्भेस्ट अवार्ड’ नेपाली वैज्ञानिक डा. सङ्गीता धौभडेललाई

मदन बस्नेतक्यानडाखबर डेस्क ।

क्यानडामा कार्यरत नेपाली मूलकी वैज्ञानिक डा. सङ्गीता धौभडेललाई वनस्पति विज्ञान तथा कृषि नवप्रवर्तन क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानका लागि प्रतिष्ठित ‘२०२६ गोल्ड हार्भेस्ट अवार्ड फर इनोभेसन’ प्रदान गरिएको छ।

क्यानडा सरकारद्वारा प्रदान गरिएको उक्त सम्मान डा. धौभडेलले सोयाबिन (भटमास) बिरुवाको प्रतिरक्षा प्रणालीसँग सम्बन्धित आधा शताब्दीभन्दा लामो समयदेखि वैज्ञानिक समुदायलाई चुनौती दिँदै आएको एउटा महत्वपूर्ण रहस्य समाधान गरेको योगदानको कदरस्वरूप प्रदान गरिएको हो।

उनको नेतृत्वमा गरिएको अनुसन्धानले सोयाबिनले रोगजन्य आक्रमणविरुद्ध कसरी आफ्नो प्राकृतिक प्रतिरक्षा प्रणाली सक्रिय गर्छ भन्ने विषयमा नयाँ तथ्य उजागर गरेको छ। यस उपलब्धिलाई कृषि तथा जैविक विज्ञान क्षेत्रमा पछिल्ला वर्षहरूको महत्वपूर्ण वैज्ञानिक खोजमध्ये एकका रूपमा हेरिएको छ।

अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित वैज्ञानिक जर्नलमा प्रकाशित अनुसन्धानमा डा. धौभडेल र उनको टोलीले ‘ग्लाइसिओलिन्स’ नामक प्राकृतिक सुरक्षात्मक यौगिक उत्पादनमा भूमिका खेल्ने प्रमुख इन्जाइमहरू पहिचान गरेका छन्। वैज्ञानिकहरूका अनुसार यी यौगिकहरूले सोयाबिनलाई विभिन्न रोगबाट जोगाउन मद्दत गर्नुका साथै मानव स्वास्थ्यका लागि समेत लाभदायी हुन सक्ने सम्भावना रहेको छ।

विशेषज्ञहरूले यो खोजले विश्वभर बालीमा लाग्ने रोगका कारण हुने अर्बौं डलर बराबरको क्षति कम गर्न मद्दत पुर्‍याउन सक्ने बताएका छन्। साथै, रोग नियन्त्रणका लागि रासायनिक विषादी र अन्य कृषि रसायनको प्रयोग घटाउन सहयोग पुग्ने भएकाले वातावरणमैत्री तथा दिगो कृषिको प्रवर्द्धनमा समेत यसको महत्वपूर्ण योगदान रहने अपेक्षा गरिएको छ।

वैज्ञानिक समुदायले डा. धौभडेलको अनुसन्धानलाई खाद्य सुरक्षा, कृषि उत्पादन वृद्धि र दिगो विकाससँग प्रत्यक्ष सम्बन्धित उपलब्धिका रूपमा लिएको छ। यो सम्मानले अन्तर्राष्ट्रिय अनुसन्धान क्षेत्रमा नेपाली मूलका वैज्ञानिकहरूको योगदानलाई थप उजागर गर्नुका साथै विज्ञान तथा नवप्रवर्तन क्षेत्रमा नेपाल र नेपाली समुदायका लागि गर्वको विषय बनेको छ।

डा. धौभडेलको यो उपलब्धिले विश्व वैज्ञानिक मञ्चमा नेपाली प्रतिभाको उपस्थिति थप सशक्त बनाएको छ भने विज्ञान अनुसन्धानमा लाग्न चाहने नयाँ पुस्ताका नेपाली युवायुवतीलाई समेत प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ ।