CanadaKhabar.com

Wednesday, June 24, 2026 -

एनआरएनए क्यानडाको साधारणसभा सेन्ट क्याथरिनमा हुँदै

एनआरएनए क्यानडाको साधारणसभा सेन्ट क्याथरिनमा: सदस्यहरूलाई सक्रिय सहभागिताको आह्वान

क्यानडाखबर संबाददाता – टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले आफ्नो १९औँ वार्षिक साधारण सभा आगामी जुन २७, २०२६ मा ओन्टारियोको सेन्ट क्याथरिनमा आयोजना गर्ने भएको छ। संस्थाको वार्षिक कार्यसम्पादनको समीक्षा तथा आगामी कार्यक्रमहरूको रूपरेखा तय गर्ने उद्देश्यसहित आयोजना हुन लागेको उक्त सभा बिहान ११ बजेदेखि सुरु हुने जनाइएको छ।

संघका पदाधिकारीहरूका अनुसार सभाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। वार्षिक साधारण सभाका लागि आवश्यक प्रतिवेदन, आर्थिक विवरण तथा छलफलका विषयहरू सदस्यहरूलाई पूर्वसूचनासहित उपलब्ध गराइएको छ।

सभामा गत वर्षभरि संस्थाले सञ्चालन गरेका कार्यक्रम, समुदाय केन्द्रित पहल, आर्थिक गतिविधि तथा संस्थागत उपलब्धिहरूमाथि विस्तृत समीक्षा गरिनेछ। यससँगै संस्थाको विधानमा प्रस्तावित संशोधन, भावी रणनीति तथा आगामी वर्षका प्राथमिक कार्यक्रमहरूबारे पनि निर्णय लिइने संस्थाका अध्यक्ष जगन सापकोटाले बताए ।

एनआरएनए क्यानडाले साधारण सभालाई संस्थागत सुशासन, पारदर्शिता र सदस्य सहभागितालाई सुदृढ बनाउने महत्वपूर्ण मञ्चका रूपमा लिएको जनाएको छ। सभामार्फत देशभर रहेका नेपाली समुदायका प्रतिनिधि तथा सदस्यहरूबीच विचार आदान–प्रदान गरी संस्थाको भावी यात्रालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

संघले सबै सदस्य तथा सरोकारवालाहरूलाई कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै आफ्ना सुझाव र रचनात्मक धारणा प्रस्तुत गर्न आह्वान गरेको छ। संस्थाका अनुसार समुदायको सहभागिता र साझा प्रतिबद्धताले नै एनआरएनए क्यानडाको आगामी कार्यदिशा निर्धारणमा महत्वपूर्ण भूमिका खेल्नेछ।

दर्ता अनिवार्य

वार्षिक साधारण सभामा सहभागी हुन इच्छुक सदस्यहरूले पूर्वदर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ। आयोजकले तोकिएको अनलाइन माध्यममार्फत समयमै दर्ता प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ।

दर्ता लिंकः https://www.paypal.com/ncp/payment/4BYRNBN7SR6N8

Screenshot