CanadaKhabar.com

Wednesday, June 24, 2026 -

हिमालयन मेलाको ‘बिग अनाउन्समेन्ट’ : मुख्य आकर्षणका रूपमा प्रकाश सपुत आउने

क्यानडाखबर संबाददाता – टोरन्टो । क्यानडास्थित नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक मानिने हिमालयन मेलाले आफ्नो ‘बिग अनाउन्समेन्ट’ सार्वजनिक गरेको छ। लोकप्रिय गायक, गीतकार तथा सर्जक प्रकाश सपुत यस वर्षको मेलाको मुख्य आकर्षणका रूपमा टोरन्टो आउने निश्चित भएको छ।

‘गलबन्दी’, ‘बोल माया’, ‘सकम्बरी’, ‘पिर’ लगायतका चर्चित र समाजको यथार्थ बोल्ने गीतमार्फत नेपाली संगीत क्षेत्रमा विशिष्ट पहिचान बनाएका सपुतको उपस्थितिले यस वर्षको हिमालयन मेलाप्रति उत्साह र अपेक्षा दुवै बढाएको छ। नेपाली जनजीवन, संस्कृति, संघर्ष र सामाजिक यथार्थलाई संगीतमा उतार्ने उनको शैलीका कारण उनी नेपालभित्र मात्र होइन, विश्वभर फैलिएको नेपाली डायस्पोरामाझ पनि उत्तिकै लोकप्रिय छन्।

प्रवासमा रहेर पनि आफ्नो भाषा, संस्कृति र पहिचानलाई जगेर्ना गर्दै आएका नेपालीहरूको सामूहिक उत्सवका रूपमा स्थापित हिमालयन मेला केवल मनोरञ्जनको कार्यक्रम मात्र नभई नेपालीपनको गौरव प्रदर्शन गर्ने साझा थलो बनेको छ। आयोजकहरूले यस वर्षको मेला समुदायको एकता, सहकार्य र सामूहिक शक्तिको उत्कृष्ट उदाहरण बन्ने बताएका छन्। सापकोटाका अनुसार यस वर्षको हिमालयन मेला अहिलेसम्मकै उत्कृष्ट, भव्य र ऐतिहासिक बनाउने लक्ष्यसहित तयारीहरू तीव्र गतिमा अघि बढिरहेका छन्। उनका अनुसार नेपाली कला, संस्कृति, खानपान, संगीत र सामुदायिक एकतालाई एउटै मञ्चमा प्रस्तुत गर्ने गरी कार्यक्रमको रूपरेखा तयार गरिएको छ।

टोरन्टोको मुटु मानिने नेथन फिलिप स्क्वायरमा शनिबार, अगस्ट ८, २०२६ मा आयोजना हुने मेलामा प्रवेश पूर्ण रूपमा निःशुल्क रहनेछ। यही कारणले पनि हजारौं नेपाली तथा अन्य समुदायका दर्शकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

मेलामा नेपालका विभिन्न भूगोल र समुदायका स्वादिष्ट रैथाने परिकार, हस्तकला, सांस्कृतिक प्रदर्शनी, मौलिक तथा आधुनिक नृत्य, बालबालिकादेखि युवा पुस्तासम्मका विविध प्रस्तुति र उत्कृष्ट लाइभ म्युजिक कार्यक्रमहरू समावेश गरिनेछन्। ती सबैबीच प्रकाश सपुतको विशेष सांगीतिक प्रस्तुति मेलाको केन्द्रबिन्दु बन्ने संस्थाका अध्यक्ष सुदर्शन सापकोटाली जानकारी दिए ।

आफ्नो कला, संस्कृति र पहिचानको उत्सव मनाउन परिवार, आफन्त, साथीभाइ तथा शुभेच्छुकहरूसहित उपस्थित भई ऐतिहासिक क्षणको साक्षी बन्न आयोजकहरूले सम्पूर्ण समुदायलाई हार्दिक निमन्त्रणा गरेका छन्।

प्रकाश सपुतको आगमनसँगै हिमालयन मेला २०२६ अहिले नै चर्चाको केन्द्रमा पुगेको छ। अब अगस्ट ८ मा नेथन फिलिप्स स्क्वायरमा नेपाली संस्कृति, संगीत र समुदायको शक्ति एकैसाथ झल्किने भव्य उत्सवको प्रतीक्षा मात्र बाँकी छ।