क्यानडाखबर संवाददाता – टोरन्टो। गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले निर्माणाधीन नेपाली सांस्कृतिक भवनका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले चर्चित गायिका समीक्षा अधिकारीको सहभागितामा देशव्यापी सांगीतिक यात्रा आयोजना गर्ने भएको छ। नेपाली समुदायको साझा पहिचान, भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने लक्ष्यसहित अघि बढाइएको भवन निर्माण अभियानलाई थप सशक्त बनाउन कार्यक्रमहरू आयोजना गर्न लागिएको जनाइएको छ।
एनआरएनए क्यानडाले निर्माण गरिरहेको नेपाली सांस्कृतिक भवनलाई क्यानडामा बसोबास गर्ने नेपाली समुदायको साझा केन्द्रका रूपमा विकास गर्ने योजना बनाएको छ। संघका अनुसार भवन निर्माण कार्य निरन्तर अघि बढिरहेको छ भने आवश्यक आर्थिक स्रोत जुटाउन समुदायस्तरमा विभिन्न अभियान सञ्चालन भइरहेका छन्।
आँगन इभेन्ट्सका जीआर भण्डारीका अनुसार भवन निर्माण अभियानलाई समुदायमाझ थप प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले समीक्षा अधिकारीको देशव्यापी सांगीतिक यात्रा आयोजना गर्न लागिएको हो। उनले सार्वजनिक गरेको कार्यतालिकाअनुसार जुन २७ मा नायाग्रा, जुलाई ३ मा क्याल्गरी, जुलाई ४ मा एडमन्टन, जुलाई ५ मा भ्यानकुभर, जुलाई १० मा सडबरी, जुलाई ११ मा लन्डन (ओन्टारियो), जुलाई १२ मा मिसिसागा तथा जुलाई १७ मा स्कारबरोमा विशेष सांगीतिक कार्यक्रम आयोजना गरिनेछ।
भण्डारीका अनुसार जुलाई १९ मा सास्काटुनमा समेत कार्यक्रम आयोजना गर्ने विषयमा छलफल भइरहेको छ र त्यसको अन्तिम निर्णय हुन बाँकी छ। उनले नेपाली समुदायलाई कार्यक्रमहरूमा सहभागी भई सांस्कृतिक भवन निर्माण अभियानलाई सहयोग गर्न आग्रह गरेका छन्।
एनआरएनए क्यानडाले निर्माण गरिरहेको सांस्कृतिक भवनलाई केवल भौतिक संरचनाको रूपमा नभई नेपाली भाषा, कला, साहित्य, संस्कार र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने साझा केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखेको जनाएको छ। भवन निर्माण सम्पन्न भएपछि विभिन्न सामाजिक, सांस्कृतिक, शैक्षिक तथा सामुदायिक गतिविधिहरू सञ्चालन गर्न थप सहज हुने अपेक्षा गरिएको छ।
संघका अनुसार भवन निर्माण अभियानलाई सफल बनाउन व्यवसायिक क्षेत्र, सामाजिक संस्था, सामुदायिक अगुवा तथा शुभेच्छुकहरूसँग निरन्तर सहकार्य र सहयोग संकलनको काम भइरहेको छ। अभियानलाई नेपाली समुदायको साझा सपना र भावी पुस्ताका लागि महत्वपूर्ण लगानीका रूपमा प्रस्तुत गर्दै एनआरएनए क्यानडाले सबै नेपालीलाई साथ र सहयोगका लागि आह्वान गरेको छ।
समीक्षा अधिकारीको देशव्यापी सांगीतिक यात्राले भवन निर्माण अभियानप्रति समुदायको चासो र सहभागिता बढाउनुका साथै आवश्यक आर्थिक सहयोग जुटाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। एनआरएनए क्यानडाले सांस्कृतिक भवन निर्माणलाई क्यानडास्थित नेपाली समुदायको दीर्घकालीन र ऐतिहासिक परियोजनाका रूपमा व्याख्या गर्दै कार्यक्रमहरूलाई सफल बनाउन सबै समुदाय सदस्य, संघसंस्था, व्यवसायी तथा शुभेच्छुकहरूलाई सहभागी हुन आग्रह गरेको छ।

