१८औँ हिमालयन मेला : प्रकाश सपुतको विशेष प्रस्तुति, तयारी र विशेषताबारे सुदर्शन सापकोटासँग विशेष अन्तर्वार्ता
टोरन्टो। क्यानडामा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवमध्ये एक १८औँ हिमालयन मेला–२०२६ आगामी शनिबार, अगस्ट ८ मा टोरन्टोस्थित नेथन फिलिप्स स्क्वायरमा आयोजना हुँदैछ। नेपलिज क्यानेडियन कम्युनिटी सर्भिसेस (NCCS) को आयोजनामा हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको छ।
आयोजक संस्थाका अध्यक्ष सुदर्शन सापकोटाका अनुसार स्टल व्यवस्थापन, प्रायोजन, सांस्कृतिक कार्यक्रम, कलाकार समन्वय, स्वयंसेवक परिचालन, सुरक्षा योजना, प्रचार–प्रसार तथा सम्बन्धित सरकारी निकायसँगको समन्वयलगायत अधिकांश तयारी पूरा भइसकेको छ। यस वर्षका सबै खाद्य तथा व्यवसायिक स्टल पूर्ण रूपमा बुक भइसकेका छन् भने करिब ६० वटा स्टलमार्फत नेपाली परिकार, हस्तकला, व्यवसाय, सेवा तथा सामुदायिक संस्थाहरू सहभागी हुँदैछन्।
यस वर्षको मेलाको प्रमुख आकर्षण नेपालका चर्चित गायक, सर्जक तथा कलाकार प्रकाश सपुतको विशेष सांगीतिक प्रस्तुति हुनेछ। साथै नेपालका विभिन्न जातीय समुदायका सांस्कृतिक नृत्य, लोक तथा आधुनिक संगीत, झाँकी, बाल तथा युवा प्रतिभाको प्रस्तुति, नेपाली खानाको विविध स्वाद तथा परिवारमैत्री गतिविधिले मेलालाई अझ विशेष बनाउने अपेक्षा गरिएको छ।
अध्यक्ष सापकोटाका अनुसार हिमालयन मेला केवल मनोरञ्जनको कार्यक्रम मात्र नभई क्यानडामा नेपाली भाषा, कला, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने साझा अभियान हो। उहाँका अनुसार यो उत्सवले नेपाली समुदायबीचको एकतालाई सुदृढ बनाउनुका साथै नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृतिसँग जोड्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

उहाँसँग १८औँ हिमालयन मेलाको तयारी, उद्देश्य, चुनौती तथा यस वर्षका विशेष आकर्षणबारे क्यानडाखबरका मदन बस्नेतले गर्नुभएको विस्तृत कुराकानीको सम्पादित अंश :
१८औँ हिमालयन मेला नजिकिँदै छ। अहिले तयारी कहाँसम्म पुगेको छ? मुख्य तयारीबारे बताइदिनुहोस्।
१८औँ हिमालयन मेला–२०२६ को तयारी अन्तिम चरणमा पुगेको छ। स्टल व्यवस्थापन, प्रायोजन, सांस्कृतिक कार्यक्रम, कलाकार समन्वय, स्वयंसेवक परिचालन, सुरक्षा योजना, प्रचार–प्रसार तथा सरकारी निकायसँग आवश्यक समन्वयका अधिकांश काम सम्पन्न भइसकेका छन्। यस वर्ष सबै खाद्य तथा व्यवसायिक स्टल पूर्ण रूपमा बुक भइसकेका छन्। अब कार्यक्रमलाई अझ व्यवस्थित र सफल बनाउन अन्तिम समन्वय तथा व्यवस्थापनमा हाम्रो टोली केन्द्रित छ।
यस वर्षको हिमालयन मेलाको मूल उद्देश्य, सन्देश तथा मुख्य विशेषताहरू के–के हुन्?
हिमालयन मेलाको मुख्य उद्देश्य क्यानडामा नेपाली भाषा, कला, संस्कृति, परम्परा र पहिचानको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्नु हो। साथै नेपाली समुदायबीच एकता, सहकार्य र सामाजिक सद्भावलाई अझ मजबुत बनाउँदै बहुसांस्कृतिक क्यानडामा नेपालको समृद्ध सांस्कृतिक पहिचानलाई विश्वसामु प्रस्तुत गर्नु पनि हाम्रो लक्ष्य हो।
यो तपाईंको अध्यक्षीय कार्यकालको पहिलो हिमालयन मेला हो। यसलाई सफल, व्यवस्थित र स्मरणीय बनाउन कस्ता विशेष योजना तथा प्राथमिकताहरू तय गर्नुभएको छ?
औपचारिक रूपमा अध्यक्षको रूपमा यो मेरो पहिलो हिमालयन मेला हो। तर विगतका तीनवटा हिमालयन मेलाको योजना, समन्वय र कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर पाएको थिएँ। त्यस अनुभवले यस वर्षको मेलालाई अझ व्यवस्थित, प्रभावकारी र उच्चस्तरीय बनाउन ठूलो सहयोग पुगेको छ।
यस वर्ष हाम्रो प्राथमिकता सहभागीहरूको उत्कृष्ट अनुभव, समयमै कार्यक्रम सञ्चालन, सुरक्षित र परिवारमैत्री वातावरण, पारदर्शी व्यवस्थापन तथा सबै समुदायको समावेशी सहभागिता सुनिश्चित गर्नु हो। हामी हिमालयन मेलालाई केवल एक दिनको कार्यक्रममा सीमित नराखी नेपाली समुदायको गौरव, एकता र सांस्कृतिक पहिचानको साझा उत्सवका रूपमा अझ उचाइमा पुर्याउने लक्ष्यका साथ काम गरिरहेका छौं।
विगतका हिमालयन मेलाभन्दा यस वर्षको मेला किन फरक र विशेष हुनेछ? सहभागीहरूले नयाँ के–कस्ता अनुभव गर्न पाउनेछन्?
सुदर्शन सापकोटा: यस वर्षको मेला विगतभन्दा अझ बृहत्, व्यवस्थित र आकर्षक हुनेछ। विविध सांस्कृतिक प्रस्तुति, नेपाली खानाका परिकार, व्यवसायिक प्रदर्शनी, बालबालिका तथा परिवारमैत्री गतिविधि, आधुनिक मञ्च व्यवस्थापन तथा विशेष सांगीतिक प्रस्तुतिले सहभागीहरूलाई नयाँ अनुभव प्रदान गर्नेछ।
यस वर्ष चर्चित गायक तथा सर्जक प्रकाश सपुतको प्रस्तुति विशेष आकर्षणका रूपमा रहनेछ। उहाँको सहभागिताले कार्यक्रमलाई कस्तो उचाइ दिने अपेक्षा गर्नुभएको छ?
सुदर्शन सापकोटा: प्रकाश सपुत नेपाली संगीत क्षेत्रका अत्यन्त लोकप्रिय, सशक्त र सिर्जनशील कलाकार हुनुहुन्छ। उहाँको सहभागिताले कार्यक्रमको आकर्षण अझ बढाउनेछ भन्ने हाम्रो विश्वास छ। उहाँको प्रस्तुति सबै उमेर समूहका दर्शकका लागि विशेष आकर्षण बन्नेछ।
प्रकाश सपुतबाहेक यस वर्षका अन्य प्रमुख सांस्कृतिक तथा मनोरञ्जनात्मक आकर्षणहरू के–के रहनेछन्?
विभिन्न नेपाली समुदायका सांस्कृतिक नृत्य, लोक तथा आधुनिक संगीत, परम्परागत झाँकी, बाल तथा युवा प्रतिभाहरूको प्रस्तुति, विभिन्न सांस्कृतिक संस्थाहरूको सहभागिता तथा नेपाली खानाको विविध स्वाद यस वर्षका प्रमुख आकर्षण रहनेछन्।
सांस्कृतिक कार्यक्रमको तयारी कस्तो भइरहेको छ? विभिन्न समुदाय, उमेर समूह तथा नयाँ प्रतिभालाई समेट्न कस्तो प्रयास गरिएको छ?
सांस्कृतिक कार्यक्रमको तयारी उत्साहजनक रूपमा भइरहेको छ। नेपालका विभिन्न जातजाति, भाषा र संस्कृतिको प्रतिनिधित्व हुने प्रस्तुति समावेश गरिएको छ। बालबालिका, युवा, महिला, वरिष्ठ नागरिक तथा नयाँ प्रतिभालाई पनि समान अवसर प्रदान गरिएको छ।
नेपाली भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा हिमालयन मेलाले कस्तो भूमिका खेल्ने अपेक्षा गर्नुभएको छ?
हिमालयन मेला नेपाली समुदायको साझा सांस्कृतिक उत्सव हो। यसले नयाँ पुस्तालाई आफ्ना भाषा, संस्कृति, परम्परा र मौलिक पहिचानसँग जोड्ने महत्वपूर्ण माध्यमका रूपमा काम गर्दै आएको छ। यही माध्यमबाट हामीले नेपालको सांस्कृतिक सम्पदालाई क्यानडाको बहुसांस्कृतिक समाजमा चिनाउन सफल भएका छौं। भविष्यमा पनि हिमालयन मेलाले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा पुस्तान्तरणमा अझ प्रभावकारी भूमिका खेल्ने विश्वास लिएका छौं।
बालबालिका, युवा तथा दोस्रो पुस्ताका नेपाली–क्यानेडियनलाई कार्यक्रममा आकर्षित गर्न विशेष रूपमा के–कस्ता कार्यक्रम समावेश गरिएको छ?
बालबालिका तथा युवालाई लक्षित सांस्कृतिक प्रस्तुति, पारिवारिक गतिविधि, मनोरञ्जनात्मक कार्यक्रम, स्वयंसेवा अवसर तथा नेपाली संस्कृतिसँग जोडिने विभिन्न कार्यक्रम समावेश गरिएका छन्। दोस्रो पुस्ताका नेपाली–क्यानेडियनले आफ्नो मौलिक पहिचान बुझ्ने, संस्कृतिप्रति गर्व गर्ने र समुदायसँग थप नजिकिने वातावरण सिर्जना गर्नु हाम्रो प्रमुख उद्देश्य हो।
नेपाली परिकार, हस्तकला, व्यवसायिक तथा सूचना स्टलहरूको व्यवस्थापन यस वर्ष कसरी गरिएको छ? कुनै नयाँ अवधारणा वा आकर्षण पनि समावेश गरिएको छ?
सुदर्शन सापकोटा: यस वर्ष करिब ६० वटा विभिन्न स्टल रहनेछन्, जसमा नेपाली परिकार, व्यवसाय, सेवा, हस्तकला तथा सामुदायिक संस्थाहरूको सहभागिता हुनेछ। सबै खाद्य तथा व्यवसायिक स्टल पूर्ण रूपमा बुक भइसकेका छन्। यसले मेलास्थलमा आउने सहभागीलाई सानो नेपालको अनुभूति गराउने विश्वास लिएका छौं। स्टल व्यवस्थापनलाई अझ व्यवस्थित र सेवामुखी बनाउनेतर्फ पनि विशेष ध्यान दिएका छौं।
कार्यक्रम व्यवस्थापन, सुरक्षा, स्वयंसेवक परिचालन, ट्राफिक तथा दर्शकको सहज सहभागिताका लागि कस्ता तयारीहरू गरिएको छ?
सुदर्शन सापकोटा: सहभागीहरूको सुरक्षा र सहज सहभागिता हाम्रो पहिलो प्राथमिकता हो। त्यसका लागि सुरक्षा निकाय, स्वयंसेवक, कार्यक्रम व्यवस्थापन टोली तथा सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय गरिएको छ। ट्राफिक व्यवस्थापन, प्राथमिक उपचार, आपतकालीन सेवा तथा दर्शकको सहज आवतजावतका लागि विस्तृत कार्ययोजना तयार गरिएको छ, जसले कार्यक्रमलाई सुरक्षित र व्यवस्थित बनाउन सहयोग गर्नेछ।
टोरन्टोको प्रतिष्ठित नेथन फिलिप्स स्क्वायरमा हिमालयन मेला आयोजना गर्नुको महत्वलाई तपाईं कसरी हेर्नुहुन्छ?
नेथन फिलिप्स स्क्वायर टोरन्टोको सबैभन्दा प्रतिष्ठित सार्वजनिक स्थलमध्ये एक हो। यहाँ हिमालयन मेला आयोजना गर्नु भनेको नेपाली समुदायको पहिचान, योगदान र सांस्कृतिक समृद्धिलाई क्यानडाको मूलधारसमक्ष गर्वका साथ प्रस्तुत गर्ने महत्वपूर्ण अवसर हो। यसले नेपालको कला, संस्कृति र परम्परालाई अन्तर्राष्ट्रिय समुदायमाझ चिनाउन पनि महत्वपूर्ण भूमिका खेल्छ।
तपाईंको विचारमा हिमालयन मेलाले नेपाली समुदायबीच एकता, सहकार्य, सामाजिक सद्भाव तथा नेपाली पहिचान प्रवर्द्धनमा कस्तो योगदान पुर्याउँदै आएको छ?
हिमालयन मेलाले वर्षौंदेखि सम्पूर्ण नेपाली समुदायलाई एउटै मञ्चमा जोड्दै आएको छ। यसले विभिन्न संस्था, समुदाय र व्यक्तिबीच सहकार्य, आपसी विश्वास, सामाजिक सद्भाव र नेपाली पहिचानलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको छ। यही कारणले हिमालयन मेला आज नेपाली समुदायको साझा गौरवको उत्सवका रूपमा स्थापित भएको छ।
गैरनेपाली तथा बहुसांस्कृतिक समुदायलाई नेपाली संस्कृति, कला र परम्परा चिनाउन यस वर्षको कार्यक्रम कत्तिको प्रभावकारी हुने अपेक्षा गर्नुभएको छ?
क्यानडाको बहुसांस्कृतिक समाजमा नेपाली संस्कृति चिनाउने उत्कृष्ट अवसर हिमालयन मेला हो। गैरनेपाली समुदायले हाम्रो संस्कृति, संगीत, नृत्य, परम्परा, नेपाली खानाको स्वाद र आतिथ्यताको प्रत्यक्ष अनुभव गर्ने अवसर प्राप्त गर्नेछन्। यसले नेपाली समुदायप्रति सकारात्मक परिचय विस्तार गर्नुका साथै नेपालको सांस्कृतिक विविधतालाई अन्तर्राष्ट्रिय समुदायमाझ अझ प्रभावकारी रूपमा प्रस्तुत गर्ने विश्वास लिएका छौं।
हिमालयन मेलाको सफल आयोजनामा विभिन्न संघसंस्था, व्यवसायी, प्रायोजक, स्वयंसेवक तथा समुदायको योगदानलाई तपाईं कसरी मूल्यांकन गर्नुहुन्छ?
सुदर्शन सापकोटा: हिमालयन मेला कुनै एक संस्था वा व्यक्तिको कार्यक्रम होइन। यो सम्पूर्ण नेपाली समुदायको साझा उत्सव हो। यसको सफलतामा विभिन्न संघसंस्था, व्यवसायी, प्रायोजक, स्वयंसेवक, कलाकार, सञ्चारमाध्यम तथा सम्पूर्ण शुभेच्छुकहरूको अमूल्य योगदान रहँदै आएको छ। उहाँहरूको निरन्तर साथ, सहयोग र विश्वासबिनाको यस्तो बृहत् कार्यक्रम सफल बनाउन सम्भव हुँदैन। यस अवसरमा सबैप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
आगामी वर्षहरूमा हिमालयन मेलालाई अझ बृहत्, आधुनिक र अन्तर्राष्ट्रिय स्तरको उत्सवका रूपमा विकास गर्ने कुनै दीर्घकालीन योजना छ?
अवश्य छ। हाम्रो दीर्घकालीन लक्ष्य हिमालयन मेलालाई उत्तर अमेरिकाकै अग्रणी नेपाली सांस्कृतिक महोत्सवका रूपमा विकास गर्नु हो। आगामी दिनमा डिजिटल प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय कलाकार तथा अतिथिहरूको सहभागिता, युवा नेतृत्वको विकास, नेपालको पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदानलाई थप प्राथमिकतामा राख्दै मेलालाई अझ बृहत् र प्रभावकारी बनाउने योजना छ।
तयारीका क्रममा अहिले देखिएका मुख्य चुनौतीहरू के–के हुन्? ती चुनौतीहरूको व्यवस्थापन कसरी गरिरहनुभएको छ?
यति ठूलो सार्वजनिक कार्यक्रम आयोजना गर्दा आर्थिक व्यवस्थापन, समयको समन्वय, मौसमको अनिश्चितता, प्राविधिक तयारी तथा ठूलो संख्यामा सहभागीको व्यवस्थापन स्वाभाविक रूपमा चुनौतीपूर्ण हुन्छ। तर अनुभवी कार्यसमिति, समर्पित स्वयंसेवक, साझेदार संस्था तथा समुदायको सहयोगले ती सबै चुनौतीलाई योजनाबद्ध रूपमा व्यवस्थापन गर्दै अघि बढिरहेका छौं।
टोरन्टो तथा आसपासका नेपाली समुदायका साथै सम्पूर्ण क्यानेडियन समुदायलाई १८औँ हिमालयन मेलामा सहभागी हुन तपाईंको विशेष सन्देश के छ?
आगामी शनिबार, अगस्ट ८, २०२६, टोरन्टोको नेथन फिलिप्स स्क्वायरमा आयोजना हुने १८औँ हिमालयन मेलामा सम्पूर्ण नेपाली तथा क्यानडाली समुदायलाई परिवार, साथीभाइ र आफन्तसहित सहभागी भई नेपाली कला, संस्कृति, संगीत, स्वाद र आत्मीयताको उत्सव सँगै मनाउन हार्दिक निमन्त्रणा गर्दछु। यो हाम्रो साझा पर्व हो, त्यसैले सबैको सक्रिय सहभागिताले यसको रौनक अझ बढ्नेछ।
१८औँ हिमालयन मेला–२०२६ सफल बनाउन सम्पूर्ण समुदाय, प्रायोजक, स्वयंसेवक तथा शुभेच्छुकहरूलाई तपाईंको के आग्रह छ?
१८औँ हिमालयन मेला हाम्रो साझा उत्सव हो। यसको सफलता हामी सबैको सामूहिक जिम्मेवारी र गौरव पनि हो। सम्पूर्ण समुदाय, प्रायोजक, स्वयंसेवक, कलाकार, सञ्चारमाध्यम, साझेदार संस्था तथा शुभेच्छुकहरूलाई साथ, सहयोग र सक्रिय सहभागिताका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु। आउनुहोस्, “हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव” भन्ने भावनाका साथ यस वर्षको हिमालयन मेलालाई ऐतिहासिक, सभ्य, भव्य र अविस्मरणीय बनाऔँ।
यस वर्ष धेरै व्यक्ति तथा सांस्कृतिक समूहहरूले हिमालयन मेलाको मञ्चमा प्रस्तुति दिन इच्छा व्यक्त गरे पनि सबैलाई अवसर दिन सम्भव भएको छैन। यस विषयमा उठेका जिज्ञासा तथा गुनासाहरूलाई तपाईं कसरी सम्बोधन गर्नुहुन्छ?
यो अत्यन्त महत्वपूर्ण र स्वाभाविक प्रश्न हो। सबैभन्दा पहिले, हिमालयन मेला नेपाली भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि आयोजना गरिने साझा सांस्कृतिक महोत्सव हो। प्रत्येक वर्ष सयौं कलाकार, सांस्कृतिक समूह तथा संस्थाहरूले प्रस्तुति दिन उत्साहपूर्वक आवेदन दिनुहुन्छ। उहाँहरूको उत्साहले हामीलाई थप ऊर्जा प्रदान गर्छ।
तर कार्यक्रमको समय सीमित भएकाले हामी अधिकतम करिब २० वटा प्रस्तुति मात्र समावेश गर्न सक्षम हुन्छौं। त्यसैले सबै इच्छुक कलाकार तथा समूहलाई एउटै वर्ष अवसर दिन सम्भव हुँदैन। यो कसैको प्रतिभा, योगदान वा क्षमताको मूल्याङ्कन होइन; केवल कार्यक्रम व्यवस्थापन र समयको सीमितताका कारण सिर्जिएको अवस्था हो।
प्रस्तुति छनोट गर्दा हामीले सांस्कृतिक विविधता, गुणस्तर, विभिन्न जातीय तथा क्षेत्रीय समुदायको प्रतिनिधित्व, उमेर समूहको सन्तुलन तथा कार्यक्रमको समग्र स्तरलाई विशेष ध्यान दिएका छौं। हाम्रो उद्देश्य दर्शकलाई उत्कृष्ट प्रस्तुति प्रदान गर्नुका साथै नेपालको समृद्ध सांस्कृतिक विविधतालाई न्यायोचित रूपमा प्रस्तुत गर्नु हो।
यस वर्ष अवसर प्राप्त गर्न नसक्नु भएका सम्पूर्ण कलाकार तथा सांस्कृतिक समूहप्रति हामी हार्दिक सम्मान व्यक्त गर्दछौं। आगामी वर्षहरूमा थप अवसर सिर्जना गर्ने दिशामा निरन्तर प्रयासरत रहनेछौं। हिमालयन मेला हामी सबैको साझा उत्सव भएकाले सम्पूर्ण समुदायको समझदारी, साथ, सहयोग र निरन्तर विश्वासको अपेक्षा गर्दछौं।

