अन्टारियो । क्यानाडामा नेपाली समुदायलाई पत्रकारिता, व्यवसाय र उद्यमशीलतामार्फत थप सशक्त र एकताबद्ध बनाउने उद्देश्यले अन्टारियोको जर्जटाउनमा विशेष कार्यक्रम सम्पन्न भएको छ।
नेपाल अमेरिका पत्रकार महासंघ (नेजा) को मुख्य आयोजना तथा एनआरएनए क्यानाडा र फेडरेसन अफ क्यानाडा नेपाल च्याम्बर अफ कमर्सको सह-आयोजनामा ‘स्ट्रेन्थेनिङ द नेपाली डायस्पोरा इन क्यानाडा थ्रु कम्युनिटी जर्नालिज्म’ विषयक कार्यक्रम आयोजना गरिएको हो। नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्यानाडाका लागि नेपाली राजदूत भरतराज पौड्याल प्रमुख अतिथि थिए।
कार्यक्रम दुई सत्रमा विभाजन गरिएको थियो। पहिलो सत्रमा क्यानाडामा नेपाली पत्रकारिताको अवस्था, चुनौती, अवसर तथा पत्रकारितामा कृत्रिम बौद्धिकता (एआई) को प्रयोगबारे छलफल भयो। राष्ट्रिय सूचना आयोगकी पूर्वआयुक्त यशोदा तिम्सिनाले सहजीकरण गरेको सत्रमा डा. भानुभक्त आचार्य, बेनुप भट्टराई, वेदनिधी गौतम र अनिल थापाले पत्रकारिताका विभिन्न पक्षमा आफ्ना अनुभव र धारणा प्रस्तुत गरे।

दोस्रो सत्र क्यानाडामा व्यवसाय तथा नेपालमा लगानीको सम्भावनामा केन्द्रित थियो। एनआरएनए क्यानाडाका वरिष्ठ उपाध्यक्ष डा. पुण्यसागर मरहट्टाले सहजीकरण गरेको सत्रमा डा. तुल्सी धरेल, विजय पौडेल, मुगाराज भण्डारी र ऋषिराम गैरेले व्यवसाय, लगानी र आप्रवासी नेपालीले नेपालमा लगानी गर्दा देखिन सक्ने अवसर तथा चुनौतीबारे चर्चा गरे।
कार्यक्रममा प्रमुख अतिथि राजदूत पौड्यालले विदेशमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह गर्दै सूचना प्रविधिको विकाससँगै नेपालमा लगानीको वातावरण थप सहज बन्दै गएको बताए।

एनआरएनएका सह-कोषाध्यक्ष अभिमन्यु बस्नेतले मातृभूमिसँग नेपाली डायस्पोरालाई जोड्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताए। कार्यक्रममा नेजा क्यानाडा संयोजक गोकर्ण लामिछानेसहित विभिन्न सञ्चारकर्मी, व्यवसायी, लेखक तथा सामाजिक अगुवाले आफ्ना अनुभवसमेत साझा गरेका थिए।

जर्जटाउनस्थित तन्दुरी टिक्का लाउन्जमा आयोजित कार्यक्रममा ग्रेटर टोरन्टो क्षेत्रमा सक्रिय नेपाली सञ्चारकर्मी, लेखक तथा व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो। आयोजकका अनुसार कार्यक्रमले क्यानाडास्थित नेपाली समुदायबीच सहकार्य, एकता र समृद्धिका लागि थप आधार निर्माण गरेको छ।

