CanadaKhabar.com

Friday, April 26, 2024 -
  • मर्सिडिजले स्वचालित कार उत्पादन गर्ने

    mercedese self driven carविश्वविख्यात विलासी सवारी उत्पादक मर्सिडिजले स्वचालित ड्राइभिङ कारको उत्पादन गर्ने भएको छ । कम्पनीले यही दशकभित्र उक्त कारको बिक्री गर्र्नेे घोषणा गरेको हो । मर्सिडिजको ‘एस क्लास इन्टेलिजेन्ट ड्राइभ प्रोटोटाइप’ को गत महिना सफल परीक्षणपश्चात कम्पनीले उक्त घोषणा गरेको हो । परीक्षणमा परिमार्जित मर्सिडिज एस ५०० कारले १ सय ३ किलोमिटर यात्रा सफलतापूर्वक पार गरेको थियो । एस ५०० हाइब्रिड कार हो । म्यानहिमदेखि फर्जेइमसम्मको परीक्षण यात्रामा सफलतापछि मर्सिडिजले उत्पादनको घोषणा गरेको हो । यस कारको परीक्षण यात्रामा कारभित्र मानवीय उपस्थिति थिएन । कारको यात्रालाई ग्रामीण रफ रोड तथा शहरका व्यस्त सडक गरी दुई चरणमा विभाजन गरिएको थियो । यी दुवै प्रकारका सडक कारले सफलतापूर्वक पार गरेको थियो । यात्रामा कारमा प्रयोग भएका सम्पूर्ण स्वचालित सेन्सरले पूर्णरूपमा काम गरेका मर्सिडिजको दाबी छ ।
    हालै सम्पन्न फ्र्याङ्कफर्ट मोटरसोबाट मर्सिडिजले यसै दशकभित्र स्वचालित कार निमार्णको घोषणा गरेको हो । कम्पनीका अनुसन्धान तथा विकास प्रमुख थोमस वेबरले भने– ‘यो परीक्षणबाट स्वचालित ड्राइभिङ सवारी आजैबाट सम्भव भएको छ । १ सय २५ वर्षे सवारी उत्पादनको यात्रामा निकै उतारचढाव आए तर आजको मितिमा हामी दाबी गर्न सक्छौं कि हाम्रो यात्रा उपलब्धिमूलक छ’ –उनले भने । यो सफलताले मानिसको जीवनमा नयाँ आयाम थप्ने उनको कथन थियो ।
    मर्सिडिजको यो स्वचालित कारमा एस क्लास इन्टेलिजेन्ट ड्राइभ प्रयोग भएको छ । यसले सेन्सरको सहायताले सडकको सही नक्सांकन गर्छ । इन्टिलिजेन्ट ड्राइभले सडक नक्साको स्क्यान गरेर सडकमा भएका अवरोध तथा वस्तुहरूको समेत अध्ययन गदर्छ । एस ५०० मोडलको स्वचालित कारमा स्टेरियो क्यामेरा, दुई लामो रेन्जको राडार, ४ छोटो रेन्ज क्षमताका राडार, ट्राफिक लाइट अध्ययन गर्ने एक रङ्गिन क्यामेरा र सडकमा कारको वास्तविक अवस्थितीको विश्लेषण गर्न कारको पछाडि एक क्यामेरासहितको प्रणाली जडान गरिएको छ ।
    मर्सिडिजका अनुसन्धान प्रमुख वेबरका अनुसार तत्काल कार निर्माणमा प्रमुख तीन अवरोध रहेका छन् । पहिलो डाटा प्रशोधनमा अझै प्रभावकारी कम्प्युटिङ पावरको जरुरी पर्छ । त्यस्तै सडक तथा सडकका अवरोधको प्रभावकारी म्यापिङका लागि अझै केही कसरत बाँकी देखिन्छ । सबैभन्दा महŒवपूर्ण विषय यो कार सडकमा ल्याउन विद्यमान कानुनमै परिवर्तन आवश्यक छ । ‘यो प्राविधिक क्रान्ति हो र यसको मूर्तरूपका लागि केही समय अवश्य लाग्छ’ –उनले भने । उदाहरणका लागि यस स्वचालित कारले जेब्रा क्रसिङमा रोकिने र कार गुड्ने समयमा आफैं गुड््नुपर्ने हुन्छ । यसका लागि कही समय लाग्छ । ‘यसले मानवीय हाउभाउ तथा भावना बुझ्न सक्दैन तर हामी त्यो स्थितिमा पु¥याउन कसरत गर्दै छौं’ –वेबरले भने । मर्सिडिजलाई पहिलो स्वचालित कारका रूपमा चिनाउन कम्पनीले तीव्र रूपमा काम गरिरहेको वेबरको तर्क थियो । यो तीव्रताले यसै दशकभित्र सार्थकता पाउने उनले दाबी गरे । ‘सामान्यतया मानिसले कार हाँक्नलाई अर्को साथीको आश गर्दैन तर जब अत्यासलाग्दो ट्राफिक हुन्छ वा मानिस कारमा व्यस्त रहन्छ, त्यस अवस्थामा उसले चालकको आवश्यकता ठान्नु स्वाभाविक हो’ –वेबरले फ्याङ्कफर्ट मोटर शोमा भनेका थिए ।
    मर्सिडिजले जर्मन सरकारका अधिकारीसँग यस प्रकारको विकासका लागि आवश्यक कानुन तर्जुमाका लागि काम गरिरहेको छ । कम्पनीले तीन प्रकारका स्वचालित कारको अवधारणा सरकारलाई प्रस्तुत गरेको छ । यी तीनै कारको कानुनी मान्यताका लागि कानुन तयार पार्न समेत सरकारी अधिकारीलाई आग्रह गरिरहेको छ । तीन प्रकारका स्वचालित सवारीमध्ये पहिलो आशिंक स्वचालित कार हो । यसलार्ई चालकले निगरानी गरिरहनु जरुरी हुन्छ । त्यस्तै दोस्रो अधिक स्वचालित कार जसमा चालकले न्यून ध्यान दिए पुग्छ । र उ सवारी चलाउनेबाहेकको आफ्नो कार्य पनि गर्न सक्छ । तेस्रो सवारी पूर्ण स्वचालित सवारी हो । यसमा चालकले सवारीमा कुनै निगरानी गर्नुपर्दैन । यो कारको आगमनले सडक तथा अटोमोकाइल व्यवसायमा नयाँ युगको शुरआत गर्ने प्रस्ट छ । यसअघि नै गुगलकारका रूपमा स्वचालित कारको अवधारणा सार्वजनिक भइसकेको छ ।