CanadaKhabar.com

Friday, April 26, 2024 -
  • पेट्रोल वा डिजेल कस्तो किन्ने कार !

    सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ । गत वर्ष १३ असोजबाट स्वचालित प्रणाली लागू भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर घट्दा नेपालमा पनि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको छ । पेट्रोल र डिजेलको मुल्यमा औसत १० रुपैयाँ प्रतिलिटरको अन्तर राखेर मूल्य निर्धारण भइरहेको छ । अर्थात् डिजेलभन्दा पेट्रोल कम्तीमा १० रुपैयाँ प्रतिलिटर महँगो हुने गरेको छ ।
    हाल मूल्य घटे पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लाग्न थालेकाले अब विस्तारै पेट्रोल र डिजेलको मूल्य पनि बढ्ने अनुमान गरिएको छ । यस्तोमा तपाईं कार किन्दै हुनुहुन्छ र पेट्रोल वा डिजेल कुन कार छान्ने भन्ने दुविधामा हुनुहुन्छ भने यो खबर तपाईंका लागि फाइदाजनक हुनसक्छ । किनभने हामीले पेट्रोल र डिजेल इन्जिन भएका कारको फाइदा÷बेफाइदाबारे केलाउने प्रयास गरेका छौं । इन्धनको मूल्यले कार खरिदको छनौटमा ठूलो भूमिका नखेले पनि अन्य धेरै पक्ष छन्, जसलाई ध्यान दिएर कार खरिद गर्नु उपयुक्त हुन्छ । img_xcent_gallery_8
    १ . पावरफुल हुन्छ पेट्रोल कार
    सामान्यतया पेट्रोल इन्जिन भएका कार पावरफुल हुन्छन् । हरेक निर्माता कम्पनीले पेट्रोल भर्सनका कार बढी पावरफुल बनाएका हुन्छन् । तर, पेट्रोल कारको माइलेज भने कम हुन्छ । व्यावसायिक प्रयोजनका लागि कार खरिद गर्दै हुनुहुन्छ भने डिजेल भर्सनको कार छान्नु उपयुक्त हुन्छ । दैनिक ५० किलोमिटर र मासिक एक हजार पाँच सय किलोमिटर दौडनु छ भने डिजेल कार सबैभन्दा उत्तम विकल्प हुन्छ ।

    २. सस्तो हुन्छ पेट्रोल कार

    सामान्यतया पेट्रोल कारको मूल्य कम हुन्छ । उदाहरणका लागि नेपालमा केही समयअघि सार्वजनिक भएको टाटा जेस्टको मूल्य पेट्रोल इन्जिनको २४ लाख ९५ हजारबाट शुरु गरी ३१ लाख २५ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ । त्यस्तै डिजेल इन्जिन भएको टाटा जेस्टको मूल्य ३० लाख ७५ हजार रुपैयाँबाट शुरु गरी ३४ लाख ९५ हजार रुपैयाँसम्म निर्धारण गरिएको कम्पनीले जनाएको छ । यहाँ पेट्रोल कारको अधिकतम मूल्य नै डिजेल कारको शुरुवाती मूल्यसँग करिब मेल खान जान्छ ।

    ३. पेट्रोल कारको रिसेल राम्रो
    पेट्रोल कार खरिद गर्नेहरूले लामो समय प्रयोग गरेर बिक्री गर्न चाहे उपयुक्त मूल्य पाउन सक्छन् । किनभने पेट्रोल कारको ‘रिसेल भ्यालु’ राम्रो हुन्छ । यसको तुलनामा डिजेल कारको रिसेल भ्यालु छोटो समयमै घट्छ । यसैकारण व्यावसायिक प्रयोगका लागि सेकेन्ड ह्यान्ड डिजेल कारको माग धेरै हुने गरेको छ ।

    ४. पेट्रोल कारको मर्मत खर्च कम
    डिजेलकारको तुलनामा पेट्रोल कारका प्रयोगकर्ताले मर्मत सम्भारका लािग धेरै खर्च गर्नु पर्दैन । डिजेल कारको स्पेयर पार्ट्स खिइने र बिग्रने भइरहन्छन्, त्यसैले धेरै फेरबदल गरिरहनुपर्छ । जसका कारण डिजेल कारमा मर्मत सम्भार खर्च उच्च हुने गर्छ । उदाहरणका लागि दुई वर्ष वा २० हजार किलोमिटर गुडेपछि मारुतीको पेट्रोल कारमा औसत पाँच हजार तीन सय रुपैयाँ खर्च हुन्छ भने मारुतीकै डिजेल कारमा करिब ६ हजार पाँच सय रुपैयाँ खर्च हुन्छ ।SD_Subaru_R1_EXT_1X1_Car

    ५. डिजेल कारको माइलेज राम्रो
    तुलनात्मक रूपमा डिजेल इन्जिनले कम तेल खपत गर्छ । अर्थात् थोरै तेलमा लामो दूरीसम्म गुडन सक्ने क्षमता डिजेल इन्जिनमा हुन्छ । उदाहरणका लागि हुण्डाईको भेर्ना ४ एस फ्लुडिक सार्वजनिक हुँदा पेट्रोल इन्जिनयुक्त कार औसतमा प्रतिलिटर १७.४ किलोमिटरसम्म गुड्ने र डिजेलयुक्त कार औसतमा २४.८ किलोमिटरसम्म गुड्ने कम्पनीले जनाएको थियो ।

    ६. पेट्रोल कारको आवाज कम
    तुलनात्मक रूपमा पेट्रोल कार गुडिरहँदा आवाज धेरै कम आउँछ । जसका कारण कारभित्रका यात्रुलाई पनि आनन्ददायी महसुस हुन्छ भने सडकमा रहेका अन्य व्यक्तिलाई पनि ठूलो आवाजको सामना गर्नुपर्दैन । त्यस्तै पेट्रोल कारको पर्फरमेन्स राम्रो हुन्छ । पेट्रोल इन्जिनमा स्पार्क इग्निशन लगाइएको हुन्छ, जसले डिजेल इन्जिनको तुलनामा उत्कृष्ट पफरमेन्स दिन्छ ।