CanadaKhabar.com

Friday, April 26, 2024 -
  • नेपालको खेलकुद विकासका लागि क्यानाडामा बहस

    क्यानाडाखबर संवाददाता – टोरोन्टो ।

    ‘युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन’ अन्टियफ क्यानाडा च्याप्टरले युवा तथा खेलकुद सचिव  महेश प्रसाद दाहालको स्वागत, सम्मान सहित खेलकुद परिचयात्मक कार्यक्रम ब्राम्टोनमा सम्पन्न गरेको छ ।
    नेपालमा रहदा तेक्वान्दो खेलमा समर्पित भै खेलाडी, प्रशिक्षक, बरिष्ठ प्रशिक्षक, राष्ट्रिय तथा अन्तराष्ट्रिय रेफ्रिको भूमिका निर्वाह गरि हाल विश्वका विभिन्न भागमा छरिएर रहेका ब्यक्तिहरुको पहलमा गठन गरिएको “युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन” अन्टियफ नेपालको तेक्वान्दो खेल मार्फत विगतमा कमाएको ख्यातिलाई कायम राखि अझ ससक्त रुपबाट देशको नाम विश्वमा चिनाउनका लागि सहयोग गर्ने उद्धेश्यका साथ सन् २०१४ मा अमेरिकामा दर्ता भै गठन गरिएको हो ।

    हाल यस फेडेरेसनको च्याप्टर १३ देशमा रहेको जनाएको छ । गठन भए यता यस सँस्थाले नेपालका दुर्गम क्षेत्रमा बस्ने तर तेक्वान्दो खेलमा दख्खल भएका खेलाडीहरुका लागि तेक्वान्दो ड्रेस, किक प्याड, ट्रेनिङ्ग म्याट लगायतको सामाग्रीहरुको सहयोग गर्दै आएको छ । साथै तेक्वान्दो प्रशिक्षक तथा खेलाडीहरुको बैदेशिक तालिम तथा सेमीनारहरुमा आर्थिक सहयोग समेत गर्दै आईरहेको छ । भबिष्यमा नेपालमा नेपाल सरकार, खेलकुद परिषद् र नेपाल तेक्वान्दो सँघ संग समन्वय गरि सुबिधा सम्पन्न तेक्वान्दो एकेडेमिको निर्माण गर्ने योजना रहेको बताईएको छ ।
    कार्यक्रममा नेपाल सरकारका तर्फबाट प्रमुख अतिथि रहनु भएका युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दाहालले नेपालमा आयोजना हुने राष्ट्रिय प्रतियोगिताहरुमा भविष्यमा एनआरएन टिमलाई पनि सहभागि गराउने प्रतिबद्धता जनाएका छन् ।

    त्यसका लागि विदेशमा रहेर तालिम लिईरहेका खेलाडीहरु तयार रहन र स्थानिय प्रतियोगिता गर्न समेत निर्देशन दिए । लामो समय खेलकुद क्षेत्रमा योगदान गरेका र हाल विदेशमा बसेर पनि नेपालको तक्वान्दोको बिकाश र विस्तारमा चिन्तित भै सहयोग गर्न सक्रिय रुपमा अग्रसर भएको देख्दा खुसी ब्यक्त गर्दै खेलकुद मन्त्रालयले त्यसका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । नेपालको खेलकुदको बिकाश गर्न खेलकुद क्षेत्रमा राजनैतिक हस्तक्षेप र नियूक्ति रोक्नुपर्ने तर्फ जोड दिदै सक्षम खेलाडीलाई नै नेतृत्व दिनु पर्नेमा आफु रहेको बताएका छन् ।
    बिशिष्ठ अतिथिको रुपमा आमन्त्रित गरिएका पूर्व मन्त्री ओमकार प्रसाद श्रेष्ठले, सहि काम गर्ने र नराम्रो काम गर्ने दुबैको बिरोध गर्ने बानीले गर्दा र हाम्रो सोच परिवर्तन नभएको कारणले खेलकुद क्षेत्रलाई पनि असर परेको बताएका छन् । यसमा राजनितिक नेता, प्रशासक र स्वयं जनताकै कमजोरी रहेको बताए ।

    बिदेशमा रहेर पनि देशको खेलकुदको चिन्ता लिएकोमा खुसी ब्यक्त गर्दै आफ्नो तर्फ बाट गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
    कार्यक्रममा एनआरएन क्यानडाका अध्यक्ष तुल्सी प्रसाद सापकोटाले एनआरएनले ल्याएको नागरिकता सम्बन्धि विषयमा नेपाल सरकारले छिटो भन्दा छिटो कानुन ल्याएर लागु गर्नुपर्ने कुरामा जोड दिएका छन् । जसले एनआरएनएहरुलाई नेपालमा हरेक किसिमका सहयोग र लगानि गर्न सजिलो पर्ने बताए । उनले नेपालको खेलकुदको हरेक कृयाकलापमा पनि एनआरएनको टिमलाई सहभागिता जनाउने बाताबरण बनाउन समेत आग्रह गरे ।
    “युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन” अन्टियफ हेडक्वाटर अध्यक्ष ग्रान्ड मास्टर राजकुमार राईले अन्टियफको उद्धेश्यको बारेमा जानकारी गराएका थिए । अन्टियफ हेडक्वाटरका महासचिव मास्टर लव प्रसाद गोर्खालीले बिगतमा संथाले गरेका कार्यको बारेमा जानकारी गराएका थिए ।

    कार्यक्रमको सुरुमा, लामो समयदेखि क्यानडामा रहदै आउनु भएका नेपाली समाजका अति मिलनसार, सफल ब्यबसायी तथा समाजसेवी गुरु प्रसाद श्रेष्ठ र नेपाली खेलकुदका हस्ती भारोत्तोलन खेलका मूख्य प्रशिक्षक तथा ओलम्पियन शुनिल लाल जोशीको असामयिक निधन प्रति दुख प्रकट गर्दे मौनधारण मार्फत शोकसभा गरिएको थियो ।
    कार्यक्रममा अन्टियफ क्यानडा च्याप्टरका बरिष्ठ उपाध्यक्ष मास्टर गिरी बुढाथोकिले आगन्तुक सबै पाहुनाहरुलाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा जि.टि.ए. मा रहेका संघ संथाका प्रतिनिधिहरु लगायत नेपाली समुदायका उल्लेख्य सदस्यहरुले एभरेष्ट तेक्वान्दो एकेडेमिको सभाहल भरिभराउ थियो । कार्यक्रम संचालन, संयोजन एभरेष्ट तेक्वान्दो एकेडेमिका प्रमुख मास्टर धिरेन्द्र शाहीले गरेका थिए ।

    कार्यक्रमको सभापतित्व गरेका “युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन” अन्टियफ हेडक्वाटरका मिडिया संयोजक तथा क्यानडा च्याप्टर अध्यक्ष मास्टर राजु थापाले कार्यक्रममा सहभागि सबै पाहुनाहरुलाई धन्यबाद ज्ञापन गरेका थिए । साथसाथै कार्यक्रममा विशष सहयोग गर्नुहुने आईटि कुन्दन घिमिरे, रिपोर्टर्स क्लब क्यानाडाका संचालक तथा समाजसेवी नारायण घिमिरे, समाजसेवी सन्तराज राजभण्डारी लगायत मसलन्द, जलपान तथा डिनरमा विशेष सहयोग गर्नुहुनेहरु ईन्सुरेन्स एडभाइजर हेमराज पाण्डे, मोर्गेज एजेन्ट राजेन्द्र महर्जन र एनआरएन क्यानडा एनसीसी सदस्य माधब गजुरेल प्रति आभार प्रकट गरेका छन् । साथै प्रत्यक्ष अप्रत्यक्ष रुपबाट सहयोग गर्नुहुने सबैमा धन्यबाद दिईएको थियो ।