‘कार सेयरिङ’ भन्नाले भइरहेको सवारीलाई सामूहिक प्रयोजनका लागि प्रयोग गर्ने या नयाँ सवारी सामूहिक हितका लागि खरिद र उपभोग गर्ने प्रचलनलाई बुझिन्छ । विकसित देशहरूमा प्रायः डिपार्टमेन्टल स्टोर, सपिङ मल, रेस्टुरेन्ट तथा तरकारी बजार जस्ता गन्तव्यमा पुग्न डेढ दुई माइलको यात्रा सामान्य हो । यी प्रयोजनका लागि पैदल यात्रा सहज हुन सक्दैन । करिब ५० माइल प्रतिघण्टाको द्रुत ट्राफिकयुक्त शहरमा बाइक वा पैदल यात्रा निकै कष्टप्रद हुन्छन् । यस्ता शहरका मुख्य सडकमा नत कसैले पैदलयात्रा रुचाउँछन् न त बाइक राइडर नै भेटिन्छन् । हुन्छ भने एकातिर घाँस र अर्कोतिर ५० माइल प्रतिघण्टाको ट्राफिक । यही तीव्र ट्राफिकले गर्दा नै यी सडक र चोक बाइक र पैदलयात्राका लागि खतरनाक मानिन्छ ।
ग्रेटर एटलान्टाका केही मानिसले यो समस्या र बढ्दो शहरी जीवनको खर्च घटाउन नयाँ नीति लिएका छन् । त्यो हो ‘कार सेयरिङ’ कल्चर । अझ एटलान्टा जस्तो शहरको अत्यधिक आद्रताले पैदल तथा बाइक यात्रा झनै कठोर बनाइदिएको छ । सडकमा केही समय मात्रै पैदल हिँड्ने हो भने हावामा भएको बाफले शरीर नै भिजाइदिन्छ । त्यसैले एटलान्टामा मोटर निर्विकल्प बनेको छ । यो शहरमा कारको विकल्पलाई ‘कार सेयरिङ’ कल्चरले मात्र पूरा गर्नेछ ।
ग्रेटर एटलान्टा त उदाहरण मात्र हो । आधुनिक शहरी समाजमा कार सेयरिङ सेन्टरले उद्योगकै रूप लिइसकेको छ । यसका साथै छिमेकी तथा साथीसँगको समझदारीमा ‘कार सेयरिङ’ कल्चर पछिल्लो समय झनै लोकप्रिय बन्दै गएको छ । छिमेक तथा साथीभाइसँगको यो समझदारीले व्यावसायिक ‘कार सेयरिङ’ सेन्टरबाट हुन सक्ने कतिपय चुनौतीलाई समेत समाप्त पारेको छ । कार सेयरिङ प्रचलनले यस्ता समाजमा दोहोरो फाइदा भएको छ । पहिलो त एउटा परिवारलाई एउटा सवारी भए पुग्नेछ भने आर्थिक मितव्ययीताका हिसाबले समेत यो संस्कृति फलदायी छ । शहरको तीव्र ट्राफिक थप बढ्न नदिन यस्तो कल्चर अनिवार्यतातर्फ लम्किरहेको आभास हुन्छ । यस्ता सेन्टरले शहरी समाजमा छिमेकीबीचको दूरी घटाउने निश्चित छ ।
व्यस्त जीवशैलीका कारण एकलकाँटे जीवन व्यतीत गर्दै आएका पश्चिमाको यो प्रचलन नेपाली पर्म प्रचलनसँग करिब मेल खाने देखिन्छ । यो प्रचलनले गर्दा लामो तथा छोटो सबै यात्राका लागि उपयुक्त सवारी उपलब्ध हुनेछ भने खर्चको समेत बचत गर्नेछ । अहिले ग्रेटर एटलान्टालगायत केही विकसित शहरमा फस्टाएको ‘कार सेयरिङ’ व्यवसायले भविष्यमा विश्वव्यापी रूप नलेला भन्न सकिन्न । यसले यात्राका लागि मात्र होइन मालसामग्री खरिद तथा बिक्री कार्यका लागि समेत सहयोग पु¥याएको ग्रेटर एटलान्टाबासीको अनुभव छ । त्यहाँका एक बासिन्दाका अनुसार उनले पारिवारिक भ्रमणमा जाँदा उनको छिमेकको टोयोटा जिप प्रयोग गर्छन् । उनका छिमेकीलाई सानो सवारीको आवश्यकता पर्दा उनले आफ्नो कार दिँदै आएका छन् । त्यस्तै उनीहरूको जमातमै दैनिक उपभोग गर्नका लागि मिनी भ्यानको व्यवस्था छ । जसले उनीहरूको रासनपानी ल्याउन सहज बनाएको छ ।
यस्तो प्रचलनले पश्चात्य जगत्को समाजमा नयाँ अध्याय थपेको छ । यसले हराउँदै गएको सामाजिकीकरणमा नयाँ ऊर्जा थप्दै लग्ने निश्चित छ । यस कार्यले ती समाजमा एकअर्काप्रतिको विश्वासमा वृद्धि गर्नेछ र आपसी सहयोगका लागि सामूहिक तत्परता प्रदान गर्नेछ ।
कार शेयरिङ सेन्टरले ल्याएको नयाँं परिवर्तन
छिमेकीसँगको आत्मीयताः व्यस्त शहरी जीवनमा छिमेकीका बारेमा कमैलाई थाहा हुन्छ । तर कार सट्टापट्टा तथा पैंचो लिनकै लागि पनि छिमेकीका बारेमा जानकारी लिनु अनिवार्य हुन्छ त्यसैले यस्तो कल्चरले छिमेकीका बीचमा आत्मीयता बढाउन मद्दत गर्ने देखिन्छ ।
मितव्ययीः कार शेयर गर्नाले व्यक्तिअनुसार कार किन्ने पैसा अन्य काममा लगाउन सकिन्छ । त्यस्तै १० वर्ष पुराना, १ लाख माइल कुदेका तर राम्रो अवस्थाका ‘कार सेयरिङ’ सेन्टरबाटै पनि लिन सकिन्छ जसले आफ्नो आवश्यकता सस्तो मूल्यमै पूरा गर्नेछ ।
सामूहिक हितको पहिचानः ‘कार सेयरिङ’ सेन्टरबाट कारको प्रयोग नगरी छिमेकीबीच आपसी आवश्यकता र हितको पहिचान गरेर नयाँ सवारी खरिद गर्न सकिन्छ । यसो भएमा एउटा समुदायमा हाल खपत कारभन्दा आधा संख्याले नै सेवा दिन सम्भव हुनेछ ।