- गोकर्ण लामिछाने
ओखलढुंगाका सुमन दाहालले आफ्नो जीन्दगीका धेरै वसन्तहरु जर्मन र अमेरिकातिर बिताए । स्वास्थ्य क्षेत्रमा आवद्ध भएर काम गर्दा उनले जर्मन र अमेरिकनहरुको शिष्टाचार शैलीलाई नेपाली शैलीमा तुलना गर्ने अवसर पाए । ‘ती देशहरुमा पनि आफ्नै किसिमका समस्याहरु छन्’ दाहाल भन्छन्, ‘तर २५ वर्ष विदेश घुम्दा विकसित मुलुकका मान्छेले मान्छेलाई गर्ने व्यवहारबाट प्रभावित भएँ ।’ त्यहि प्रभावका कारण आज उनले नेपालमा ‘शिष्टाचार अभियान’ शुरु गरेका छन् ।
यसरी जन्मियो शिष्टाचार
अभियान चार वर्ष युएस बस्दा कुनै पनि मानिसले अर्कोलाई हातपात गरेको मैले देखिन । त्यहाँको कानुन बलियो छ, तर हाम्रो देशमा पनि त्यस्तो कानुन नभएको हैने । हाम्रो कानुनको कार्यान्वयन पक्ष फितलो भएकोले हामी जंगली जस्ता भयौं ।
कानुन विपतिर काम गर्नेलाई समेत कारवाही हुन छाडेका उदाहरणको चाङ लागेपछि हामीइले शिष्टाचारको वातावरण बनाउन यस्तो अभियान शुरु गरेका हौं । समाजमा निष्टाको संकट देखापरेको छ । प्रत्येक व्यक्तिमा इमान्दारीता र नैतिकता भएन भने हाम्रो समाज कता जान्छ भन्नेकुरा हामी सबैलाई अनुभूत भएकै छ । हाम्रो चिन्ता यहिँ नेर हो । नेपाली समाजमा निष्ठाको खडेरी छ, जसको प्रत्यक्ष असरले हामी आक्रान्त छौं । त्यसैले भौतिक विकासभन्दा पनि चारीत्रिक विकास र नैतिकताको विकास हाम्रो लागि प्रमुख विषय बनिसकेको छ । निष्ठा र नैतिकता बिना हाम्रो सम्पूर्ण प्रगति र सम्बृद्धि सम्भव छैन भनेर हामीले ‘शिष्टाचार अभियान नेपाल’ नामक संस्था जन्मायौं ।
संस्था दर्ता भएको करिब एकडेढ वर्ष भयो, दर्ता नगरिकन लगभग हामी पाँच/छ वर्षदेखि अनवरत प्रयासरत थियौं । हामी अहिले स्कुल कलेजहरुमा गतिविधी गरिरहेका छौं भने समाजका प्रतिष्ठित व्यक्तिहरुसँग यसबारे छलफल गर्दैछौं । शिष्टाचारको प्रभावले दीर्घकालिन महत्व राख्छ । यस्को असर तत्काल देखिँदैन, हामी एउटा पुस्तादेखि अर्को पुस्तासम्म शिष्टाचार हस्तान्तरण गर्दैछौं । अहिले हामी विशेषगरी शैक्षिक संस्थाहरुमा गएर सिस्टाचार के हो ? यसमा हामी अहिले कुन अवस्थामा छौँ, र निष्ठाको अभावमा हाम्रो समग्र राष्ट्र विकासमा कस्तो असर पारेको छ भनेर हामी चिन्तन मनन गर्छौँ । अन्तरक्रिया कार्यक्रम गर्छौँँ । मान्छेको स्वभावमा तत्काल परिवर्तन संभाव छैन, त्यसैले अहिलेको प्रमुख पक्ष यसको रियलाइजेसन हो । जस्तो उदाहरणको रुपमा, सामान्य घरायसी कुराहरुबाट हामी धेरै कुरा अगाडी बढाउन सक्छौँ । एउटा बच्चाले घर परीवार संग कस्तो व्यवहार गर्नुपर्छ ? नैतिकताको सवालमा झुठो बोल्नु हुन्छ या हुँदैन ?
हामी अविभावकहरुले पनि धेरै कुरामा झुठो बोलीरहेका हुन्छौँ । त्यसले समग्र राष्ट्रिय चिन्तनमा असर गरीरहेको हुन्छ । त्यसैले शुरुदेखि नै ईमान्दारीताप्रति हामी अभ्यस्त हुन सक्यौँ भने त्यो इमान्दारित विस्तारै हाम्रो रगतमा पनि छिर्छ । अन्यथा हामी मुखले एउटा बोल्छौं काम अर्कै गरिरहन्छौं । स्वयम् परिवर्तनको चुनौती अभियान सुरु गरेसँगै हामीले सबैतिरबाट सपोर्ट पाएका छौं । सबैले भनेका छन्, ‘यो आवश्यक कुरा हो ।’ समाज परिवर्तनको चुनौती त छँदैछ त्यसअघि व्यक्ति स्वयं परिवर्तन भएर समाजलाई कसरी अगाडि बढाउने भन्ने प्रमुख चुनौती हो । त्यसैले हामी जहाँ जान्छौँ त्यहाँ तीन वटा ‘ब’ को कुरा गर्छौँ । पहिलो विचार, त्यसपछि बोली र अर्को व्यवहार । विचार शुद्ध भएपछि त्यसलाई बोलिले व्यक्त गरिन्छ । त्यसैले विचार एउटा किसिमले गर्ने, बोली अर्कै र व्यवहार अर्कै हुँदा हाम्रो समग्र शिष्टाचारमा तालमेल मिल्न सकेको छैन । त्यसैले यी सबै कुरामा तालमेल मिलाउनु नै शिष्टाचार हो । यो अभियानमा आम नेपाली आबद्ध हुन सक्छन् । अभियानको साधारण सदस्यता लिएपछि यसको उद्देश्यप्रति प्रतिबद्ध भएर लागेमा समाज परिवर्तन धेरै टाढाको विषय छैन् ।
हामी ‘शिष्टाचार अभियान’को सदस्यका नाताले, शुभचिन्तकका नाताले घर–घरबाट यसको उद्देस्य प्राप्तिमा लाग्न सकेमा समाजको समग्र संरचना परीवर्तन गर्न सक्छौं । हाम्रो देशका ठूला मान्छेहरु समेत भ्रष्टाचारबाट अछुतो रहन सकेनन्, त्यो हाम्रै समाजको उपज हो । त्यसैले घरपरिवारबाट हाम्रा बच्चाहरु र विद्यार्थीहरु जो सिक्दै छन्, त्यो उनीहरुको लागि हो । पहिले हाम्रो पाठ्यक्रममा नैतिक शिक्षा समावेश थियो, अहिले हटाइएको छ । त्यसले व्यवहारीक रुपमा नभएपनि सैद्धान्तिक रुपमा मष्तिस्कलाई छुने गथ्र्यो । नैतिक शिक्षाले मानिसमा अलिकति सजगताका कुरा सिकाउँदा ‘ओहो ! म त यस्तो बन्नुपर्छ’ भन्नेतिर ट्रिगर गथ्र्यो । हाम्रो अभियान कुनै वर्गप्रती लक्षित छैन । समाजमा शिष्टाचारको शुरुवात र निष्ठाको प्रत्याभूति कसरी दिनसक्छौं भन्नेमा हामी केन्द्रित छौं ।
विचार एउटा गर्ने बोली र व्यवहार अर्को गर्ने गरेपछि अहिले निष्ठा संकटमा छ । त्यसैले समग्र वर्गलाई नै यसको सचेतना आवश्यक छ । संभ्रान्त वर्गमा शिष्टाचार हुने र सामान्य वर्गमा नहुने भन्ने हुँदैन । भौतिक सुख सुविधाको हिसावले मान्छे जत्ति संभ्रान्त बनेको ठान्छ, त्यति नै शिष्टाचार न्युन भएको हामीले महसुस गरेका छौं । त्यसैले विचारमा परिवर्तन र क्रान्ति ल्याउन जरुरी छ । सोचमा परिवर्तन आउनुर्छ । अठोट : नेपालभरी शिष्टाचार अहिले हामी सुरुवाती चरणमा छौं । हामीले यतिबेला जनचेतनाका लागि सामाजीक संजालहरुको माध्यमबाट सबै वर्गमा पुग्ने प्रयत्न गरेका छौं । त्यसमा हामी एक हदसम्म सफल पनि भएका छौं । धेरैले हाम्रो अभियानलाई राम्रो मात्र भनेका छैनन्, राष्ट्रको सम्बृद्धिको लागि यो अभियानको जरुरी रहेको भन्दै हातेमालो सुरु गरिसकेका छन् । हाम्रो राष्ट्रको लागि यसको अभिवृद्धी जरुरी छ, अझ भनौं समग्र मानवताका लागि नै यसको जरुरी छ भन्ने सोच बढ्दै छ । हामी यसैमा लागिरहेका छौं । भोलीको दिनमा कमसेकम राष्ट्रिय लेभलमा शिष्टाचार सम्वन्धी एउटा प्रशिक्षण केन्द्रको स्थापना हाम्रो प्रमुख लक्ष्य रहेको छ । त्यसको साथसाथै हामीले यो अभियानलाई नेपालभरी फैलाउन अठोट गरेका छौं ।
स्कुल, कलेजहरु र विषेशगरी संघ–संस्थाहरुसँग आबद्ध भएर हामी यो अभियानलाई फैलाउन चाहन्छौं । केही सहकारी संस्थाहरुसँग पनि समन्वय गरेर काम सुरु गरेका छौं । धेरै सहकारी संस्थाहरुसँग यसबारे छलफल गरिसकेका छौं । जहाँ मानिसहरुको जमघट हुन्छ त्यहाँ हामीले काम गरेका छौँ, र यसको असर प्रभाव छाड्न सफल भएका छौं । एकैदिनमा या दुई–चार वर्षमै परिवर्तन नहोला, तर ४०/५० वर्षमा अलिकति परिवर्ततको आभाष हामीले पाउन सक्छौंँ भन्ने सोचका साथ अगाडि बढेका छौं । हामी दीर्घकालीन लक्ष्यका साथ यो अभियानमा होमिएका छौं । अन्त्यमा, हाम्रो गतिविधीको बारेमा थाहा पाउने व्यक्तिहरुलाई हामी एउटै अनुरोध के गर्दछौँ भने हामीले हाम्रो बालबच्चाहरुलाई जस्तो संस्कार सिकायौँ, उनीहरुबाट पनि त्यतिमात्र अपेक्षा गर्न सक्छौँ । त्यो बाहेक अरु अपेक्षा गर्न मिल्दैन । त्यसकारण अहिलेको परीवेशमा सम्रान्त वर्गहरुबाट पनि पढ्नु र लेख्नु एउटा कुरा रहेछ, शिष्टाचारमा जान्नु र बुझ्नु अर्को कुरा रहेछ । त्यसैले घरैबाट नैतिकताका कुरा र इमान्दारीता साथै शिष्टाचारका कुरामा सबैले विशेष ध्यान दिएको खण्डमा समग्र समाज परीवर्तनका लागि अत्यन्त ठूलो सहयोग पुग्ने छ । सबैले यो मान्यतालाई मनन गरौं, साथ दिऔं ।