जापान सरकारको युथ एक्सचेन्ज कार्यक्रमअन्तर्गत विश्वविद्यालयमा अध्ययन गर्दै गर्र्दा सन् १९९६ को सेप्टेम्बरका १९ दिन जापानका टोकियोदेखि हिरोसिमा आसपासका धेरै ऐतिहासिक सांस्कृतिक, सौन्दर्यपूर्ण र कलात्मक संरचना तथा प्राविधिक विकासका नमुना र औद्योगिक प्रतिष्ठानहरू अवलोकन गर्ने मौका पाइयो । सोही क्रममा जापानको सबभन्दा अग्लो तथा अति सुन्दर हिमाल माउन्ट फुजीमा पुग्दा खुसीको सीमा नै रहेन । माउन्ट फुजीको काखैमा रहँदा मैले भने नेपाल सम्झेँ ।
हुम्लाको किर्मीगाउँ पश्चिमतिर रहेको अति सुन्दर सैपाल हिमाललाई बाटोबाट देखेको क्षण सम्झेँ । त्यसै बेला हुम्ला उत्तरको पुराङ क्षेत्रको पर्वतहरूका राजा कैलाश हिमालको दर्शन गरेको पनि याद गरेँ । हामीकहाँ कैलाशलाई श्रीकैलाश भनेजस्तै जापानमा पनि फुजीलाई फुजीसान (महामहिम फुजी) भन्ने गर्दा रहेछन् । लाग्यो, पर्वतलाई पूजा गर्ने यो संस्कार त नेपालकै हिन्दु धर्मबाट निःसृत भएको हुनुपर्छ ।
जापानी इतिहास अध्ययन गर्दा त्यो देश विशुद्ध बौद्धमार्गी राज्य हुनुपर्छ भन्ने लागेको थियो । त्यहाँ घुम्दाबस्दा र आन्तरिक धार्मिक, सांस्कृतिक जीवनबारे अध्ययन गर्दा नेपालजस्तै लाग्यो । जसरी नेपाललाई हिन्दु राष्ट्र भनिए पनि यहाँ जैन, बोन, बौद्ध, नागा, मुस्लिम आदि धर्म सुरक्षित छन् त्यसरी नै जापानलाई पनि बौद्ध धर्मावलम्बीको देश भनिए पनि त्यो हिन्दु राष्ट्र पनि रहेछ । हिन्दु र सिन्तो शब्दको उचित अर्थ लगाउन सके यसमा स्पष्ट हुने मेरो ठहर छ ।
२०३४ सालतिर कृष्णबहादुर बर्माले लेखेको पुस्तक ‘जापानमा के के पाएँ’मा जापान सूर्यवंशी राजाहरूको देश (पाना ४१) भन्ने भनाइले सूर्यवंशी मनु भएको र ईछ्वाकु राजाहरूसँग उनीहरूको सम्बन्ध देखिन्छ । त्यसै किताबको पाना १७९ मा जापान छैटौं शताब्दीबाट मात्रै बौद्ध र कन्फ्युसस धर्मको प्रभावमा परेको तथा त्यसअघि सिन्तो धर्ममात्रै मानिरहेको देश हो भनी लेखेको देखिन्छ ।
योगी नरहरिनाथले जापान घुमेर लेखेको र गोविन्द काफ्लेले २०५४ मा प्रकाशित गरेको ‘जापान शब्दचित्र’ भन्ने संस्कृत खण्डकाव्यमा इसेसी, नारा, क्योटो, ओसाकालगायतका प्राचीन सहरहरूमा रहेका विभिन्न मठमन्दिरमा हिन्दु देवीदेवताका सयौं मूर्तिको उल्लेख गर्नुभएको छ । विसं २०५८ मंसिर ९ गते ‘स्पेसटाइम दैनिक’मा जापानका कार्यवाहक राजदूत रहेका संस्कृतिविद् ताकानिजी ओकावेले ‘जापानमा हिन्दु देवीदेवताहरू’ भन्ने लेखमा त्यहाँ हिन्दु देवीदेवताको पूजा गर्ने व्यापक संस्कारको उल्लेख गरेका छन् ।
नेपालमा विद्याकी देवीको रूपमा पुजिने माता सरस्वतीलाई जापानमा वेन्जाइतिन वा वेन्तेन भनिन्छ । उनलाई त्यहाँ धन र सौन्दर्यकी देवी मानिएको छ र यस्तै उनलाई जलसँग सम्बन्धित मानेर सुन्दर ताल र समु्द्रनजिक राख्ने उल्लेख छ पुस्तकमा । जापानमा सरस्वतीका पाँचवटा महत्त्वपूर्ण पूजास्थल रहेको बताइएको छ । ‘चकुबुसिमा’ टापुमा रहेको त्यहाँको सबभन्दा ठूलो ताल विबाको बीच भागमा सरस्वतीको मन्दिर रहेको समेत उल्लेख गरेका छन् ।
टोकियोमा धन र सुन्दरताकी देवी किचिजोजी (लक्ष्मी) को पनि मन्दिर छ । लक्ष्मीलाई किसोटेन पनि भनिन्छ । क्योटोको जोरुङ्जी मन्दिरमा लक्ष्मीलाई परम्परागत जापानी लुगा किमोनो लगाइएको देखिन्छ । नेपालकी हारती मातालाई त्यहाँ किसिमोजिन भनिन्छ र केटाकेटीहरूका निम्ति आशीर्वाद माग्ने गरिन्छ ।
दुर्गा र पार्वतीलाई काण्डी र कुण्डी अर्थात् जुन्ते कानुन भनिन्छ । बच्चा जन्मन अप्ठ्यारो भएमा तिनको पूजा गरिन्छ । जापानमा गणेश भगवान्लाई योवयुम अर्थात् मैथुनका देवता मानिन्छ । त्यस्तै विष्णुलाई बिचुटेन र देवराज इन्द्रलाई इन्दाराम भनिन्छ ।
जापानको धर्मसंस्कृतिबारे अध्ययन गर्ने संस्कृतिविद्हरूले त्यहाँको प्राचीन तथा मूल धर्म सिन्तो मानेका छन् । जापानी शब्दकोषमा सिनको अर्थ देवदूत लगाइएको छ र जापानको इतिहासमा राज्य र राष्ट्रकै उत्पत्ति इसेसीमा भएको र सूर्यपुत्री आमातेरासुलाई मूलदेवी मानिएको छ ।
प्रेम कैदीको लेख ‘जगतजेष्ठ सिन्धु सभ्यता त्यसको विश्वव्यापी विस्तार र सिन्तो धर्मसँग त्यसको सम्बन्ध’ (लालीगुराँस साहित्यिक पत्रिका/ने.सा.वि.प. यूके १९९५ लन्डन)ले तेरासु भनेकी मानव सृष्टिकी जननी माता तारा वा त्रिपुरासुन्दरी हुन् भनी ठोकुवा गरेको छ । रेडियोलाई राजियो, कम्प्युटरलाई कम्प्युतुरु, नेपाललाई नेपारु भनेझैं तारालाई तेरासु भनिएको उनको दाबी छ । उक्त लेखमा सूर्यपुत्री भनेकाले सूर्यपुत्र मनुसँग उनको दाजुबहिनीको सम्बन्ध रहेको दाबी गर्दै उनी नेपालकै छोरी भएको दाबीसमेत गरिएको छ ।
यस्तै जापानीहरूले घरघरमा खोपा बनाएर भात चढाउने देवता हुन्— खामीसामा । एक प्रकारले सिन्तो धर्मावलम्बीका ‘आदि देवता’ मानिने खामीसामा विष्णुका कुर्म अवतार हुन् । जापानी भाषामा कछुवालाई खामी भनिएकोबाट यसको पुष्टि हुन्छ ।
मैले जापानमा बाहिरबाट बौद्ध चैत्यहरू भित्र पनि धेरै हिन्दु देवताका मात्रै मूर्ति भएको देख्ने अवसर पाएँ ।
क्योटो सहरको मूलद्वारमा रहेको र केही वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्धलाई मात्र जल चढाएको देखाइएको तोदाइजी भन्ने चैत्यभित्र इन्द्र महांकाललगायतका लगभग १६ वटा हिन्दु देवताका मूर्तिहरू जुहार्ने अवसर छोपेको थिए । त्यस्तै तोदाइजीभन्दा केही पश्चिममा आगलागी भएर हाल एउटा चौरमा काठको मौलोजस्तो बाँकी रहेको ठाउँमा कुनै बेला भगवान् श्रीविष्णुको मन्दिर थियो र त्यसको नाम शाहीजी मन्दिर रहेको क्योटोसम्बन्धी पुस्तिकाहरूमा उल्लेख भएको पाएपछि आफू हिन्दू भएको नाताले त्यहाँ फूल चढाएको थिएँ ।
नेपाल, हिन्दूस्तान, श्रीलंका, म्यानमार आदिका हिन्दु, बोन्पो, जैन, बौद्ध सबै धर्मावलम्बी मुस्लिम र क्रिस्चियन धर्मको चर्को विरोध गर्छन् तर यथार्थमा यी देशको कुनै धर्मसंस्कृतिसम्बन्धी ठोस नीति पाइँदैन । जापान यस्तो दोहोरो मापदण्ड भएको देश होइन रहेछ ।
जापानी इतिहास अध्ययन गर्दा त्यो देश विशुद्ध बौद्धमार्गी राज्य हुनुपर्छ भन्ने लागेको थियो । त्यहाँ घुम्दाबस्दा र आन्तरिक धार्मिक, सांस्कृतिक जीवनबारे अध्ययन गर्दा नेपालजस्तै लाग्यो ।
ध्वजाहरूलाई नेपालमा तोरण भनिएजस्तै त्यहाँ तोरा भनिन्छ । नेपालको दक्षिणी सीमा भएको बनारस सहरलाई काशी भनेजस्तै त्यहाँ काशी भन्नेजस्ता थुप्रै मिल्दाजुल्दा नाम भएका सहरहरू छन् । नेपालको कर्णाली क्षेत्रमा घरहरू तीनतले हुन्छन् र माथिल्लो तलामा देवता, बीचको तलामा मान्छे र भुइँतलामा पशुहरू राख्ने गरिन्छ । माथिल्लो तलामा जहाँ ढोका बन्द हुँदैन, त्यहाँ देवताको पूजाकोठा मात्र हुन्छ, त्यसलाई नार्या भन्छन् । ठीक त्यस्तै जापानको दैवीस्थान र देवताको राज्य इसेसी र नारामा सूर्यवंशी देवताहरूले राज्य गरेको इतिहास छ ।
जापानमा इसेसी र नारा देवलोकको रूपमा रहेको छ । जापानीहरूले बारम्बार आफूलाई देवताको सन्तान भन्ने गरेबाट उनीहरूको सिन्तो धर्मसँगको सम्बन्ध रहेको तथा सूर्यपुत्री आमातेरासुका सन्तती भएको पनि प्रमाणित हुन्छ । सुगौली सन्धिपूर्व अयोध्या नेपालमा थियो । त्यसैले राम र सीताको बिहा दुई नेपाली राजघरानाबीचको सम्बन्ध हो भन्दै श्री कैदीले विश्वव्यापी सूर्यपूजकहरूको सभ्यताजस्तै जापानी सिन्तो धर्म पनि कर्णाली सभ्यताकै एक अंग भएको व्याख्या प्रस्तुत गरेका छन् ।
जापानीहरूले नेपाललाई समेत इन्दो भन्ने गरेकोमा सुरुसुरुमा मलाई रिस उठ्थ्यो, नेपालको अस्तित्वलाई चुनौती दिएजस्तो लाग्थ्यो । जब योगी नरहरिनाथबाट हिमवत्खण्ड, ग्यागार, सपादलक्ष्यका साथै प्राचीन भूगोल श्रृष्टिमुन्धुम अनि कैलाशपुराणअनुसार हिन्दुस्तानका महान् अन्वेषक स्वामी प्रणवानन्दको ‘कैलाश मानसरोवर’ भन्ने पुस्तक पढेर कैलाश दक्षिणको क्षेत्र जम्बुदीप वा जम्बुलिंग (बाँदर बस्ने ठाउँ) भन्ने थाहा पाएँ, त्यसपछि बुझेँ प्राचीन नेपाल नै इन्डो रहेछ । यस्तै जापानका प्रथम मानव शासक तथा क्योतो (कोट)मा राजधानी बनाउने राजाको नाम जिम्बु हो र यिनैले सहरको मूल ढोकाको दाहिनेपट्टि शाहीजी ( श्रीविष्णु) को मन्दिर बनाएका थिए ।
जापानको इसेसी, नारा, क्योटो र अन्य स्थानका मन्दिर एवं चैत्यमात्रै होइन दरबारहरू पनि नेपालको पशुपतिनाथको मन्दिरजस्तै लाग्छन् । विदेशी राजामध्ये नेपाल नरेश श्री ५ वीरेन्द्र शाहले जापानी नरेशको दरबारको अन्तरंग कक्षमा शयन गर्न अनुमति पाएको जानकारी दिँदै जापानी राजदरबार भ्रमणको बेला हाम्रो टोलीका जापानी प्रदर्शकले मलाई सुटुक्क नेपाल जापानबीच अलौकिक मैत्री रहेको गर्वसाथ सुनाएका थिए ।
Source: http://www.annapurnapost.com/news/54855