CanadaKhabar.com

Sunday, May 12, 2024 -
  • काठमाडौं हैन जाममाडौं

    सविन केसी   

    सरकारको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा २०३५ सालयता नयाँ बाटो बनेकै छैन । त्यसयता पुराना बाटोलाई चौडा गर्ने र कच्चीलाई ग्राभेल र ग्राभेललाई पिच गर्ने काम मात्रै भएको छ । सडक विभागले बनाएको मध्ये उपत्यकामा सात सय किलोमिटर मात्रै कालोपत्र छ । त्यस्तै काठमाडौं महानगरपालिका मातहत एक हजार चार किलोमिटर बाटो बनेका छन् । नयाँ सडक नबने पनि सवारी साधनको संख्या भने प्रत्येक वर्ष थपिँदै गएका छन् । जसका कारण सडक कम र सवारी धेरै भई ट्राफिक जाम बढेको छ ।

    काठमाडौं उपत्यकामा केही यस्ता स्थान छन्, जहाँ यात्रु र चालकले ट्राफिक जामको हैरानी नियमित खेप्नु परेको छ । बिहानदेखि अबेर साँझसम्म उपत्यकाका दर्जन स्थानमा ट्राफिक जाम बाक्लो हुने गरेको रामशाहस्थित महानगरिक ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार र सार्वजनिक बिदामा पातलो संख्यामा सवारी गुडे पनि बौद्ध, जावलाखेल, थापाथली, गौशाला, सोह्रखुट्टे, कलंकी, नयाँ बसपार्क, कोटेश्वर, महाराजगञ्ज, कालिमाटी र दरबारमार्गमा नियमित र बाक्लो ट्राफिक जाम हुने गरेको छ । कोटेश्वर–सूर्यविनायक खण्डमा आठ लेनको सडक बनेयता जाम हुने गरेका छैन । ट्राफिक प्रहरीका अनुसार व्यस्त चोकमा जामको समयमा प्रतिघण्टा सात हजार सवारी हुइँकिने गरेको छ ।

    कोटेश्वर
    नयाँ बानेश्वरदेखिको सवारी चापले कोटेश्वरमा जाम हुन्छ । अर्कातिर आठ लेनको सडक (कोटेश्वर–सूर्यविनायक खण्ड) बाट तीव्र गतिमा आएका सवारी पनि कोटेश्वर चोकमा आएरै ठोकिन्छन् । चक्रपथका सार्वजनिक र निजी सवारीले पनि थपिन्छन् । जसका कारण कोटेश्वरमा पछिल्लो समय ट्राफिक जाम बढेको छ । व्यस्त चोक भए पनि आसपास एउटा आकाशे पुल छैन । चोकको बीचबाट पैदल यात्रुले ट्राफिकको सहारामा बाटो काट्दै आएका छन् । कोटेश्वरको फुटपाथमा पसल धेरै छन् । ती फुटपाथका पसलमा कार्यालय र स्कुल समयमा कारोबार धेरै हुने अपेक्षामा साना व्यापारीको चहलपहल धेरै हुन्छ । बेलुका स्वाभाविक रूपमा सडक व्यापारीको बाक्लो उपस्थिति हुने गरेको छ । कोटेश्वर चोकमा पुग्ने केही सहायक बाटाहरू छन् । ती बाटो हुँदै चोकसम्म पुग्ने सवारी पनि धेरै छन् । कोटेश्वरमा बिहान ९ बजेर १५ मिनेटदेखि साढे ११ बजेसम्म र दिउँसो तीन बजेदेखि बेलुका सात बजेसम्म ट्राफिक जाम धेरै हुने गरेको छ ।
    थापाथली
    चौबाटोको चोक हो थापाथली । राजधानीका हरेक निजी सवारी साधन सम्भवतः दिनमा एकपटक थापाथली चोक भएर गुड्छन् । सबैभन्दा धेरै सवारी साधन जम्मा हुने रत्नपार्क, लगनखेल, कलंकीलगायतका स्थानबाट छुट्ने सार्वजनिक सवारी यहीं बाटो भएर दौडन्छन् । जसका कारण शनिबार र सार्वजनिक बिदाबाहेक थापाथली जाम नभएको समय हुँदैन । उपत्यकामा सबैभन्दा लामो जाम हुने स्थानमा पर्छ, थापाथली चोक । नर्भिक अस्पताल जाने बाटोबाहेक त्रिपुरेश्वर, कुपण्डोल र माइतीघरदेखि थापाथली चोक छिचोन्ल सवारीको लाइन लाग्ने गरेको छ । यो स्थानमा पिक आवर (कार्यालय जाने समय र कार्यालय सकिएपछि घर फर्कन समय) मा धेरै ट्राफिक जाम हुने गरेको छ । बेलुका पाँचदेखी साढे ६ बजेसम्म धेरै जाम हुने गरेको ट्राफिक अधिकारीहरू बताउँछन्sadak jaam _ autonewsnepal

    दरबारमार्ग
    राजधानीको चौडा सडक भएर पनि व्यस्त चोकमा गनिन्छ दरबारमार्ग । यहाँ दुईवटा पाँचतारे होटल अन्नपूर्ण र याक एण्ड यति छ । त्यस्तै स्तरीय होटल, रेस्टुरेन्ट पनि छन् । जहाँ दिनहुँ भोजभतेर र खानपिन गर्ने मानिसको लर्को लाग्ने गरेको छ । होटल, रेस्टुरेन्टमा बस्ने मानिसको गाडी पार्किङ गर्न सडकको एक तिहाइ भाग छुट्याइएको छ । यहाँ उपयुक्त बस बिसौनी पनि छैन । जमल, लैनचौर, नक्साल, हात्तिसार लगायतबाट आउने सवारी साधन दरबारमार्ग हुँदै गुज्रने गरेका छन् । दरबारमार्गमा बेलुका साढे पाँचदेखि साढे ६ सम्म धेरै जाम हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।

    कालिमाटी

    बल्खु चोकका कारण कालिमाटीले धेरै जाम खेपिरहेको छ । थानकोटदेखि रत्नपार्क र कलंकीदेखि रत्नपार्क र कोटेश्वरका लागि आउने सवारीले पनि चाप दिइरहेका छन् । टेकुको साँघुरो बाटोका कारण हुने जाम कालिमाटीसम्म फैलिने गरेको छ । बल्खुमा टाटा सुमोको अव्यवस्थित स्टेशन कारण त्यहाँ जाम हुन्छ र जाम छुटेर तिव्र गतिमा आएका सवारीले कालिमाटीमा चाप दिने गरेका छन् । कालिमाटी आसपास यात्रु चढाउने र ओराल्ने स्टेशनका लागि ठूलो ‘स्पेस’ छैन । सवारी साधनले गुड्दै गरेको सडकमै यात्रु चढाउने र ओराल्ने गरेका छन् । त्यस्तै पैदल यात्रुले पनि चोकको दुईतिरबाट बाटो काट्दै आएका छन् । कालिमाटीमा बिहान साढे आठ बजेदेखि १२ बजेसम्म र बेलुका पाँचदेखि सात बजेसम्म जाम हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।

    सोह्रखुट्टे
    सोह्रखुट्टे चोक, म्हैपीमोड र गल्कोपाखोको चाप यो चोकलाई छ । सडक अस्तव्यस्त त छँदैछ । फुटपाथको व्यवस्था छैन । यो चोकको आसपास एउटा पनि आकाशे पुल छैन, जसका कारण बीच सडकबाट बाटो काट्नेहरू प्रशस्तै छन् ।
    यो चोकमा पुग्ने बाटो पनि गतिला छैनन् । लैनचौर हुँदै सोह्रखुट्टे पुग्ने र बालाजु हुँदै सोह्रखुट्टे पुग्ने बाटो स्तरीय छैन । जसका कारण सार्वजनिक र निजी सवारीले बाक्लो जामको हैरानी खेपिरहेका छन् । यहाँ बिहान ९ देखि साढे १० बजेसम्म र बेलुका पाँचदेखि साढे ६ बजेसम्म थेगिनसक्नुको जाम हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

    महाराजगञ्ज
    नारायणगोपाल चौक र लाजिम्पाट जाने मुख्य मार्गको रूपमा महाराजगञ्ज चोकलाई लिइन्छ । लाजिम्पाट हुँदै महाराजगञ्च चोक छुने तीनैवटा बाटोमा सवारी साधन जाने गरेका छन् । अर्कातिर चक्रपथ हुँदै लाजिम्पाट पस्ने सवारी पनि उत्तिकै हन्छन् । नारायणगोपाल चौकमा धैरै तिरबाट सवारी भेला भई महाराजगञ्ज आउने पनि उत्तिकै छन् । पिक बिहान पिक आवर र बेलुका साढे पाँचदेखि साढे ६ बजेसम्म बाक्लो जाम हुने गरेको छ । लाजिम्पाटका स्तरीय होटल र स्कूल हुनाले पनि महाराजगञ्जलाई सवारी चाप धेरै हुने गरेको छ ।