CanadaKhabar.com

Sunday, April 28, 2024 -
  • दुर्घटनबाट बचाउन मोटरसाइकलमा एयरब्याग

    air bagसुरक्षाका लागि अहिलेसम्म कारमा मात्रै एयरब्यागको प्रयोग गरिँदै आएको छ । तर, अब मोटरसाइकल चालकले एयरब्याग प्रयोग गरी सम्भावित दुर्घटनाको जोखिम कम गर्न सक्ने भएका छन् ।
    स्पोर्टस् साइकल बनाउने कम्पनी एल्पाइनस्टार्सले मोटरसाइकल प्रयोगकर्तालाई मिल्ने गरी एयरब्याग उत्पादन थालेको छ । यस्तो एयरब्यागले दुर्घटनन हुँदा मोटरसाइकल चालकलाई गम्भीर चोट हुनबाट जोगाउने कम्पनीको दाबी छ ।
    मोटरसाइकल प्रयोगकर्ताले शरीरमा ज्याकेट जसरी नै लगाउन मिल्ने गरी एयरब्याग उत्पादन थालिएको छ । यो एयरब्यागको मोटाइ कम बनाइएको र सुरक्षा प्रणालीमा विशेष ध्यान दिइएको छ । एयरब्याग प्रयोग पछि मोटरसाइकल चालकले असहज अनुभव नगर्ने कम्पनीको दाबी छ । ‘एयरब्याग लगाएर पनि आफ्नो बाइक हाँक्ने प्रवृत्तिमा चालकले कुनै परिवतर्न गर्नू पर्दैन’ कम्पनीले भनेको छ ।
    टेक एयर स्ट्रिक नामको एयरब्यागले दुर्घटना भएको जानकारी पाउनासाथ चालकलाई बचाउने छ । दुर्घटना भएको वा सेन्सरमा कुनै वस्तु ठोक्किएको ३० देखि ६० मिलिसेकेन्डमा एयरब्यागमा जानकारी आइसक्छ । र, दुई सिलिण्डरमा भरिएको कम्प्रेस्ट ग्यास एयरब्यागमा भरिन्छ । चालकले प्रयोग गर्ने गन्जी भित्र यसलाई प्रयोग गर्न मिल्ने गरी बनाइएको छ । ज्याकेट शैलीको एयरब्यागलाई चेनले बन्द गर्न मिल्छ । एयरब्यागको चेन बन्द गर्नासाथ यसले काम शुरु गर्छ ।
    एयरब्यागको कन्ट्रोल युनिटलाई मोटरसाइकलको एउटा सेन्सरमा जडान गरिएको छ । र, ढाडको सुरक्षाको लागि विशेष ध्यान दिएर एयर ब्याग बनाइएको छ । चालकले एयरब्याग जडित ज्याकेटको चेन बन्द गर्ने र टेक एयर स्ट्रिट बन्द गरेपछि एयरब्याग सुचारु हुन्छ । र, दुर्घटनाबारे सेन्सरले जानकारी दिएको ३०–६० मिलिसेकेन्डमै चालकलाई गम्भीर चोट लाग्नबाट बचाउँछ । अर्थात्, दूर्घटना हुनसाथ एयरब्याग फुल्छ र शरीरका विभिन्न भागमा अन्य बस्तु ठोक्किन नदिई सुरक्षित राख्छ ।
    एयरब्यागलाई शरीरको अगाडि र पछाडिको भागमा लगाउन मिल्ने गरी बनाइएको छ । जसले दुर्घटनाको समयमा डाढ, काँध, मृगौला र छातीमा चोट लाग्नबाट जोगाउँछ ।
    बाहिरपट्टि लगाएको लुगालाई धेरै चापले थिच्यो भने मात्रै चालकले एयरब्याग लगाएको बारे थाहा पाउन सकिन्छ । नत्र, चालकले शरीरमा तीन वटा स्वीटर लगाएको जस्तो मात्रै देखिन्छ । जुनसुकै मोडल र कम्पनीको मोटरसाइकल प्रयोगकर्ताले यो एयरब्याग प्रयोग गर्न सकिन्छ ।
    तर, एयरब्यागको सिस्टमको ब्याट्री भने चार्ज गरिरहनुपर्छ । एक पटक चार्ज गरेको ब्याट्री करिब २५ घण्टासम्म काम गर्छ । चालकको पाखुरामा लगाएको एउटा पट्टिले ब्याट्री कति चार्जमा छ भन्ने देखाइरहेको हुन्छ ।
    करिब एक दशकको खोज, अनुसन्धानपछि मोटरसाइकल चालकका लागि एयरब्याग उत्पादन संभव भएको हो । उत्पादक एल्पाइनस्टारले माइनस १० डिग्रीदेखि अधिकतम ५० डिग्री सेल्सियस डिग्री तापक्रमसम्म एयरब्यागले काम गर्ने दाबी गरेको छ । मोटरसाइकल सर्कसहरूमा पनि यसको सफल परीक्षण भइसकेको छ ।
    बाइक स्टन्ट सिक्नेका लागि एयरब्याग सबैभन्दा उपयुक्त हुने देखिन्छ । स्टन्ट सिक्दा र स्टन्ट गर्दाको सम्भावित जोखिमलाई एयरब्यागले कम गर्छ ।
    कम्पनीले पानीजहाज, रेल र हवाइजहाजमा पनि यात्रुले उक्त एयरब्याग प्रयोग गर्न सक्नेबारे पहल थालिएको जनाएको छ । ‘हामीले सिई प्रमाणपत्र लिएपछि एयरब्यागलाई पानीजहाज, रेल र हवाईजहाजमा यात्रा गर्दा पनि प्रयोग मिल्न सक्छ । जसले सम्भावित दुर्घटनाबाट यात्रुलाई जोगाउन सक्छ । अहिले हामीले यसबारे तयारी थालिरहेका छौं’ कम्पनीले भनेको छ ।
    सन् २०१५ को शुरुबाटै युरोपमा मोटरसाइकल चालकका लागि निर्मित एयरब्यागको बिक्री शुरु हुँदैछ । त्यसपछि अमेरिकामा पनि एयरब्याग उपलब्ध हुनेछ । एयरब्यागको सुरुवाती मूल्य १२ सय युरो राखिएको छ । –(एजेन्सी)