दौंतरीहरू तारा टिप्ने अभियानमा थिए । सहपाठीहरू तारा टिपेर प्रेमीकाको पोल्टामा हालिदिने कल्पनाको आकाशमा रम्दै गर्दा वीरेशले आफ्नो जिन्दगीलाई फरक ढंगले गुडाउने अठोट गरे । सोह्र–सत्रको उटपट्याङ उमेरमा यसरी तारा ताक्नेमध्ये कोही आविस्कारक बने कोही दुव्र्यसनीमा फसे, तर वीरेशको साइकल दौडिरहेको छ आफ्नै रफ्तारमा ।
‘उटपट्याङ गर्ने उमेरमा कसरी समाजले चिन्ने मान्छे बन्न सक्छु होला भन्ने लागिरहन्थ्यो, त्यस्तोमा कसैले नगरेको विपरीत काम गरेर नाम कमाउनले सोच पलायो’ वीरेशले कुराकानीलाई क्वाइन गरे ।
उदयपुरको त्रियुगा नगरपालिकामा ०४२ मा जन्मेका वीरेश दाहालले ‘कच्चा केटाकेटी’ छँदै विपरीत काम गर्ने अठोटसहित उल्टो साइकलको अभ्यास थाले । उनी भन्छन्– ‘एक पाइडल मारेपछि सक्छु कि जस्तो लाग्यो, पछि अभ्यास गर्दागर्दै एक–दुई हात छाडेर डबल लोड, त्रिपल लोड हाँक्न थालेँ ।’ सुल्टो जानिसकेपछि ब्याक फर्केर चलाउन सकिन्छ कि सकिँदैन भन्ने कौतूहलताका बीच उनले अचानक उल्टोे चलाउन जानेका थिए ।
नौ कक्षाको पढाइ शुरु भएसँगै साइकल चलाउन थालेका दाहालले आफ्नो स्वामित्वको साइकलमा बसेर धक फुकाएरै सिक्न पाएनन् । ‘वन इलाकामा काम गर्ने पुलकित चौधरीको साइकल मागेर सिकेको’ वीरेशले विगत सम्झिए ।
साइकलको शौख बढ्दै गएपछि वीरशेका लागि एक थान साइकल जीवनको अभिन्न अंग जस्तै बन्यो । उनका पिता वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका थिए । परिवारले उदयपुरमा भैंसी पालेको थियो । दूध बेच्न हरेक दिन पैदल हिँडेर बजार धाउनुपर्ने दैनिकीमा अलि सहजता थपिने बहाना बनाएर वीरेशले परिवारसँग साइकलको अफर गरे । ‘साइकल किनिदिए बजारमा दूध पु¥याउने जिम्मा मेरो भयो भन्दै ममीमार्फत बुवालाई प्रेसर गर्न लगाएर पहिलोपटक चौबीस सयको साइकल किनें,’ प्रफुल्लित मुद्रामा दाहालले भने ।
कुरा ०५९ तिरको को हो । मागेर सिकेको उल्टो सिकाइलाई आफ्नो स्वामित्वको साइकलबाट परिमार्जन गरेका दाहालले करिब तीन वर्षमा त्यो साइकल फटाए । उनले परिवारलाई दोस्रो साइकल किन्दिनु भनेनन् । बरु मेची–महाकाली उल्टो यात्रा गर्ने प्रस्तावसहित जिविस र नगरपालिकाका ढोका ढकढक्याउन थाले ।
‘अञ्चल प्रशासक रामकुमार सुब्बाले मेरो प्रस्तावलाई समर्थन गर्दै ०६२ मा एउटा साइकल किनिदिनुभयो,’ वीरेशले मिल्क कफीको पहिलो सीप लिए ।
त्यही अञ्चल प्रशासकले किनिदिएको साइकलको पाइडल खियाउँदै दाहाल मेची–महाकालीको उल्टो यात्रामा निस्किए । ‘गाईघाटबाट उल्टो यात्रा शुरु गरेको १६ दिनपछि महाकाली पुलमा पुग्यौं,’ विजयी भावका साथ वीरेश बोले ।
मेची–महाकाली यात्रामा वीरेशलाई नीरज खड्काले साथ दिएका थिए । वीरेशको उल्टो यात्रामा सुल्टो चलाएर निर्देशनात्मक सहयोग गर्थे नीरज ।
हेराइ पूर्व, दौडाइ पश्चिम
सुन्दा एकादेशको कथा जस्तो लाग्ने वीरेशको उल्टो दौडाइ साँच्चै आश्चर्यजनक छ । उनको शरीर पूर्व फर्कन्छ भने साइकल पश्चिमतिर दौडाउँछन् । ‘बडी ब्यालेन्स मिलाएर ह्यान्डिल कन्ट्रोल गर्नुपर्छ, मुन्टो बाँगो पारेर हेनुपर्छ’ यत्ति भनेर वीरेशले आफ्नो आँखा कफी शपको सिसा बाहिर दौडाए, जहाँ सुल्टो साइकल दौडिरहेको थियो ।
माईमेलाको साइत जुराएर मेची–महाकाली अभियान शुरु गरेका वीरेशले सुरुवाती चरणमा हाईवेमा हाँक्दा निकै जोखिम महसुस गरेका थिए । भन्छन् ‘हाईवेमा चलाउन एकदमै गाह्रो भयो ।’ मुस्किलले २५ सय बोकेर गाईघाटबाट मुभ भएका वीरेशलाई दमक पुग्दा स्थानीय संघसंस्थाहरूले फाट्टफुट्ट सहयोग र सम्मान गर्न थाले । अभियानमा कहिलेकाहीं खर्चले चोट्टे पथ्र्यो, त्यस्तोमा उनी प्रहरी चौकी या त्यस्तै सार्वजनिक निकायमा बास माग्न पुग्थे । ‘त्यो अभियानमा हामी इनरुवा र रुपनीको प्रहरी चौकीमा बास बसेका थियौं,’ उनले कफीको अर्को सीप लिए । लाहान हुँदै महेन्द्रनगर पुग्दा उनलाई सम्मान र सहयोग गर्नेहरू थपिँदै थिए, यस्तोमा उनको आत्मविश्वास अझै उँचो हुँदै गयो । अञ्चलाधीशले किनिदिएको आल्मुनियकको एमटिभी साइकलको चक्का अन्ततः महाकाली पुलमा पुगेर अडियो, पुलवारिबाट महाकालीको बगर नियालेर उनले ह्यान्डिल मोडे । त्यतिबेलासम्म उनको उल्टो यात्राको एउटा जग बसिसकेको थियो ।
मेची–महाकाली अभियान सफल भएपछि वीरेश चुप लागेर बस्नै सकेनन् । त्यसै साल उनले राजधानीको रिङरोडमा दुईपटक र इटहरीदेखि विराटगर सम्मको उल्टो साइकल यात्रा सफलतापूर्वक सम्पन्न गरे ।
एकपछि अर्को यात्रा सफल हुँदै गएपछि वीरेश साइकल लिएर सिलगुढी तिर लागे । भारतका विभिन्न शहरमा उल्टो साइकल दौडाएर नेपाल आइपुग्दा तराईमा आन्दोलनको आगो दन्कँदै थियो । ‘तराई आन्दोलन हुनै लाग्दा, हिमाल पहाड तराई कोही छैन पराई– भन्ने नारा लिएर इटहरीदेखि विराटनगरसम्म दुई पटक उल्टो साइकल ¥याली ग¥यौं’ उनले भने । उनी साइकल लिएर इलाम र भेडेटार मात्र पुगेनन्, जनकपुर हुँदै सिन्धुलीमाढीसम्म आइपुगे ।
भुटानदेखि अमेरिकासम्म
०६३ मा भारतबाट फर्केको केही समयपछि भुटान पुगेर उल्टो साइकल दौडाए वीरेशले । ‘बंगलादेश पुगेर फेरि नेपाल फर्कियौं, जतिबेला तराईमा पहाडे समुदायका मान्छेहरूलाई गुलेली र तिरले ताकेर लखेटिन्थ्यो’ निरास मुद्रामा वीरेश बोले ।
वीरेशको साइकलले एउटा मुलुकबाट अर्को मुलुकको बोर्डर छुँदा करिब २६ सय किलोमिटर दौडिसकेको हुन्थ्यो । ‘यस्तोमा हामीले ५८ देशको यात्रा गरिसकेका छौं,’ उनले भने ।
यात्रा गर्दै जाँदा सडक मार्ग भएमा पाइडल मार्न कहिल्यै अल्छी गरेनन् उनले । ‘समुद्र पार गर्नुपर्ने ठाउँमा कहिले पानीजहाजमा त कहिले हवाईजहाजबाट सिमाना नाघ्यौं, यस्तोमा युके हुँदै अमेरिका पुगियो’ उनले थपे ।
झन्झटिलो र खर्चिलो भएका कारण सामुन्द्रिक बोर्डर पार गर्न वीरेशले पानीजहाजभन्दा हवाईजहाजलाई नै माध्यम बनाए । ‘जहाज वा पानीजहाज हाम्रो साथमा साइकल हुन्थ्यो’ उनले भने ।
मेची–महाकालीको यात्रामा साथ दिएका नीरजले ‘सम्मान मात्रै खाएर के गर्नु’ भन्दै यात्रा छाडिदिए । ‘भारत र बंगलादेशको यात्रामा बचन राईले साथ दिए, त्यसपछि मेरो यात्रामा जनार्दन खनाल जोडिए’ उनले भने । खनालले उनलाई २७ मुलुकको यात्रामा साथ दिए । साथ दिनेहरू जोडिने र छुट्टिने जारी रहन्थ्यो । ‘जो जान्थे उनीहरू सुल्टो कुदाएर मलाई बाटो देखाउँथे, म उल्टो दौडिन्थेँ’ उनले भने ।
उल्टो साइकल दौडाउन युके पुगेका वीरेशले करिब दुई साता युकेस्थित नेपाली दूतावासमा बिताए । ‘दूतावासले खान दिँदैनथियो, सहयोग जुटाएको पैसाले दाल चामल किनेर खान्थ्यौं,’ मलिन स्वरमा वीरेश बोले ।
दुईसाता उल्टो साइकल लिएर युकेका सिटी घुम्ने वीरेश दाहाल टिमका सदस्यलाई एनआरएन लगायतका संघसंस्थाहरूले आर्थिक सहयोग जुटाएर अमेरिका पुग्ने प्रबन्ध मिलाइदिए ।
उल्टो साइकल गुडाउने अभिलाषासहित विश्वको शक्तिशाली मुलुक अमेरिका पुगेका वीरेश त्यहाँबाट भने निराश भएर फर्किए । ‘विपरीत काम गर्नका लागि त्यहाँको प्रहरी प्रशासनलाई तीन महिनाअगाडि जानकारी गराउनुपर्ने कानुन रहेछ, हामीले त्यसो गरेका थिएनौं त्यसैले साइकल दौडाउन पाएनौं’ आफ्नो साइकल अमेरिका गुड्न नसक्नाको कारण खोले दाहालले । त्यस्तोमा करिब तीन महिना विविध कार्यक्रम गरेर वीरेशको टोली स्वदेश फर्कियो । उनी थप्दै थिए, ‘त्यहाँबाट क्यानडा जाने तयारी थियो, हिउँ पर्न थालेपछि फर्कियौं ।’ वीरेशको टिम थाइल्यान्ड पुग्दा अनौठो घटना घटेछ । ‘दूतावास भित्रबाटै साइकल हरायो’ उनले घटनाको तथ्य फुकाए । उनले भने– ‘मेरो देशको झन्डावाल पारी फालेर साइकल लगेछ, पछि एकजना मनाङको दाइले किनिदिनुभो ।’ चार दिनको मात्र भिसा बाँकी रहँदा दूतावासले अफिसियल छलफल गर्न चार दिन लाग्छ भनेका बेला एकजना नेपालीले केही घण्टामै साइकल किनिदिँदा वीरेशको यात्रामा नयाँ किरणको रेखा पोखिएको थियो ।
दौड्दा दोड्दै वीरेशको साइकलमा जडित मिटर पटक–पटक खस्यो त्यसकारण उनले ठ्याक्कै आँकडा राख्न सकेनन् कि आफू कति हजार किलोमिटर दौडिएँ । ‘अनुमानित ४६ देखि ५० हजार किलोमिटर दौडिएँ’ उनले भने । शरीर उल्टो दिशामा हुन्थ्यो, हम्समा साइकल उछिट्टिँदा मिटर खस्थ्यो, जडान खर्च महँगो लाग्ने हुनाले उनले तेस्रो पटकबाट चौथो पटक मिटर जडान गरेनन् ।
वीरेश साइकल लिएर विश्वका विकसितमध्येको अर्को एउटा मुलुक दक्षिण कोरिया पनि पुगे । तर त्यहाँ जनार्दन खनाल गएर साइकल यात्रा सकेर फर्किसकेका थिए । ‘एउटै अभियान लिएर दुईजना जाँदा त्यहाँका सहयोगी संस्थाहरूलाई पनि असहज हुन्थ्यो, त्यसैले म साइक्लिङ नगरी फर्किएँ’ उनले भने । अब आउने दिनमा पुनः दक्षिण कोरिया जाने योजनामा छन् वीरेश ।
परदेशमा भिसा लाग्यो भन्दैमा हत्तारिएर पुग्ने र साइकल चलाएजस्तो गरेर कहिल्यै फर्केनन् वीरेश । ‘एम्बेसीमार्फत त्यहाँको सरकारलाई भनेर केही घण्टाका लागि सडक बन्द गराएर त्यो देशमा बस्ने सबै नेपालीलाई साक्षी राखेर मैले साइकल कुदाएँ’ उनले भने । त्यस्तो ¥यालीमा उपलब्ध भएसम्मका नेपालीहरू गाडी लिएर दौरा–सुरुवाल र नेपाली टोपीमा वीरशेलाई फलो गर्थे । उनी पनि दौरा–सुरुवाल र नेपाली टोपीमा सजिएर पाइडल खियाउँथे । यो तरिका सबै देशमा लागू भयो ।
वीरेश भन्दै थिए– ‘युरोपमा साइक्लिङका लागि छुट्टै बाटो बनेको रहेछ, एसियामा कतै कतै मात्र भेटियो, छुट्टै बाटो नभए पनि मेरो देशको सडकमा साइकल गुडाउँदाको आनन्द छुट्टै थियो ।’ घरेलु देशदेखि परदेशसम्म प्रतिघण्टा १८ देखि ३४ किलोमिटरसम्मको स्पिडमा दौडिए वीरेश । ‘बाटो हेरेर गति बढाउँथे, खुल्ला ओरालो र समथर बाटोमा बढ्थ्यो, उकालोमा घट्थ्यो’ यत्ति बोलेर उनले कफीको कप नियाले, कफी आधा कपबाट ओरालो लागेर निकै तल पुगिसकेको थियो ।
भुटानदेखि अमेरिकासम्म पुग्दा विदेशिएका लाखौं नेपालीबाट मायाको महासागर नै पाए उनले । भन्दै थिए, ‘नेपालको झन्डा देख्दा कत्तिको आँखा रसाउँथ्यो, नेपाल किन अरूको देश जस्तै बन्न सकेन भनेर चिन्तित थिए ।’ विदेशका सडकमा राष्ट्रिय झन्डा अगाडि राखेर साइकल दौडाएको देख्दा त्यहाँ बस्ने नेपालीहरू वीरेशलाई अँगालेर भन्थे ‘गो अहेड ।’
०६३ माघबाट विदेशमा साइकल यात्रा थालेका वीरेशले आजसम्म ६ वटा साइकल परिवर्तन गरिसकेका छन् । ‘नयाँ साइकल किनेर विदेश यात्रा शुरु गरेको थिएँ, त्यसयता ६ वटा परिवर्तन गरेँ,’ उनले भने ।
आफूजस्तै नयाँ प्रतिभा भएकाहरूलाई बचाउने योजनामा छन् वीरेश । प्रतिभा भएर पनी विदेशिन बाध्य भएकाहरूलाई नेपाल फर्काउने अभियान उनले शुरु गरिसकेका छन् । ‘प्रतिभाहरू पलायन हैन स्थापित हुनुपर्छ,’ उनले भने । यसरी प्रतिभाहरूलाई स्थापित गर्ने उद्देश्यसहित उनले आफ्नै नाममा ‘उल्टो साइकल यात्री वीरेश प्रतिष्ठान’ निर्माण गरेका छन् ।
विरेश दाहालको विश्वभरी पाईडल खियाउने भोक अझै मेटीएको छैन । भन्छन्– ‘२०१९ सम्ममा १५१ देश पुग्ने योजनामा छु ।’ उनले कुराकानीको बिट मारे ।