२००७ सालतिर काठमाडौंमा औंलामा गन्न सकिने संख्यामा सवारी साधन थिए । फाट्टफुट मोटरसाइकल गुड्ने सडकमा चारपाङ्ग्रे सवारीको उपस्थिति ज्यादै न्यून थियो । राणा र राजपरिवारका सदस्य गाडीमा सवार हुनेबाहेक अन्य विरलै देखिन्थे । त्यही समय ९ वर्षे ठिटो शंकर खड्गी भने पेन्टिङसम्बन्धी काम सिक्न सानुमान नकर्मीको वर्कशप धाइरहेका हुन्थे । अहिले उनी नेपालका पुराना पेन्टरमध्येका एक हुन् ।
सवारी साधन जति नै राम्रो भए पनि बाहिरी रंगरोगन आकर्षक बनाउन सकिएन भने उपभोक्ताको रोजाइमा नपर्न सक्छ । पेन्टर खड्गीले सानै उमेरदेखि गाडीलाई आकर्षक रंगरोगन गरी कसरी उपभोक्तालाई आकर्षित गर्ने भन्ने मात्रै सोचिरहेको बताउँछन् ।‘गाडीलाई बाहिरबाट रंगरोगन गरी आकर्षक बनाउन धेरै रंगहरूको उचित समायोजन गर्नुपर्छ’ उनी भन्छन् ।
सानै उमेरमा पेन्टिङ क्षेत्रमा लागेका उनलाई पहिलो त उपलब्ध रंगहरूको समायोजन कसरी गर्ने भन्ने ठम्याउन मुस्किल थियो । अर्कातिर त्यतिखेर डेन्टपेन्ट गर्ने सामग्रीको अभाव उत्तिकै झेल्नुपरेको थियो । त्यो बेलाको कठिनाइ सम्झँदै उनी भन्छन्, ‘त्यो बेला हावा हाल्ने पम्पको सहायताले गाडीको बाहिरी भागमा पेन्ट गर्नुपर्ने बाध्यता थियो । अहिलेको जस्तो कम्प्रेसरको चलन थिएन ।’ कलर र पुटिन लगायतका सामग्री जुटाउन पनि मुस्किल थियो ।
हाल नवीनतम् प्रविधि प्रयोग गरी डेन्टपेन्ट गरिरहेका उनले शुरुवाती समयमा भने ठूलो दुःख गरेका छन् । अहिले एउटा गाडी ६ घण्टामा रंगाएर सकिन्छ । तर, त्यतिबेला ६ महिनासम्म लगाएर पेन्ट गर्नुपर्ने बाध्यतात्मक अवस्था रहेको उनले बताए । ‘अहिले हाम्रो ग्यारेजमा आएको गाडीलाई ६ घण्टामै रंगाएर सिध्याइदिन्छौं,’ उनी भन्छन्, ‘शुरुवाती समयमा भने ६ महिनासम्म लाग्थ्यो । त्यतिबेला रसायनको ढिक्कालाई पिँधेर पुटिन आफैंले बनाउनुपथ्र्यो । पिँधेको पुटिनलाई नरम बनाउन आँखामा लगाउने गाजल मिसाइन्थ्यो ।’
त्यतिमात्रै होइन, पुटिनमाथि रंग लामो समयसम्म टिकाउने गज्जबको घरेलु उपाय थियो त्यतिखेर । खड्गीका अनुसार गाजल मिसाएको नरम पुटिनमा ढुङ्गाको धूलोसमेत मिसाइने गरिएको थियो । ढुङ्गा आफैंले पिँधेर धूलो बनाउने गरेको उनले सुनाए । ‘पुटिनमा ढुङ्गा हालेपछि बलियो हुन्थ्यो’ उनी सम्झन्छन् ।
गाडी र मोटरसाइकलसँगै उनले साइकलमा समेत पेन्ट गरेका थिए । गाडीभन्दा साइकल धेरै हुने समय थियो । त्यसैले मानिसहरू पुरानो भएको साइकलमा पेन्ट गरेर नयाँ जस्तै बनाई कुदाइरहन्थे । साइकलमा पेन्ट गर्न चाहनेलाई शंकरले आकर्षक रंगरोगन गरिदिन्थे । उनले ग्राफिक्ससमेत आफैंले गर्ने गरेको बताए । ‘साइकलमा रंग लगाउँदा ग्राफिक्स पनि आफंैले गर्थे । ग्राफिक्स धेरै राम्रो गर्न थालेपपछि पुलिसले लगाउने हेल्मेटमा श्रीपेचको आकारको पेन्टिङ पनि धेरै पटक गरेको छु’ उनले भने । पछि उनले टेम्पोको डेन्टपेन्ट र सिट बढाउनेसम्मको काम गर्न थाले । सेवाग्राहीको आवश्यकता अनुसार टेम्पोको बडी नै बनाउने गरेको उनी बताउँछन् ।
ज्याला चाहिँ कति हुन्थ्यो नि ? भन्ने हाम्रो प्रश्नमा उनले फिस्स हाँस्दै भने, ‘दिनभरि काम गरेको पच्चीस पैसा ।’ तर, त्यो पच्चीस पैसा पर्याप्त थियो । चार पैसाको खाजा खाएर अन्य काममा खर्च गरी केही पैसा बचत पनि हुने गरेको उनले सुनाए । दैनिक पच्चीस पैसा ज्यालादारीमा गाडी रंगाउन काम गरिरहेका उनले आफूलाई पेन्टरको भूमिकामा मात्रै सीमित राखेनन् ।
केही समयपछि नै लेथ र इन्जिनको काम पनि शुरु गरे । काम शुरु गरेपछि विदेशी प्राविधिकबाट तालिम पाएको उनले बताए । ‘मलाई जर्मनका प्राविधिकले ग्यास वेल्डिङ गर्न सिकाए । अनि रसियनले इन्जिनको काम सिकाए’ उनले भने । विदेशी प्राविधिकको सहयोगमा काममा निपुणता हासिल गर्दै गएको उनको भनाइ छ ।
कामदारका रूपमा अरूको ग्यारेजमा काम गरिरहेका उनले पेन्टिङ, ग्यास वेल्डिङ, इन्जिन मर्मतलगायतका काममा निपुणता हासिल गरेपछि २०३० सालमा आफ्नै शंकर अटो वर्कशप खोले । अन्य काममा भन्दा उनले पेन्टरका रूपमा ख्याती कमाएका थिए । त्यसलाई आफ्नो वर्कशपबाट थप विस्तार गरे । शंकर अटो वर्कशपमा उनले पेन्टिङको कामलाई पहिलो प्राथमिकतामा राखेका थिए ।
घरेलु सामग्रीको प्रयोगबाट गाडीमा रंग लगाइरहे पनि उनले सेवाग्राहीको विश्वास जित्न त्यतिबेलै ग्यारेन्टीको अवधारणा लागू गरे । ‘आफ्नो वर्कशपलाई विश्वसनीय बनाउन र धेरै सेवाग्राहीलाई आफूतिर तान्न मैले उतिबेलै एक पटक पेन्ट गरेको गाडीमा पाँच वर्षसम्मको वारेन्टी दिएँ । यो फर्मुलाले काम पनि ग¥यो र धेरै गाडी मेरो वर्कशपमा पेन्टिङ गर्न आए ।’छोराहरुसंग तस्बिर खिचाउंदै सानुमान नकर्मी