- होमनाथ सुबेदी शब्द समिक्षा
किरण ढुङ्गानाको पहिलो पुस्तकाकार कृति हो ‘मन्ट्रियल क्याफे ’ । यो संस्मरण हो । यसलाई आख्यानेतर गद्य भित्र राख्नु पर्ने भए पनि आख्यानात्मक जीवनी कै स्मरण छ यसमा । यो साना साना स्मरणात्मक निबन्ध वा प्रवन्ध संग्रह हैन बरु यो आत्मवृतान्त जस्तै समग्रमा प्रस्तुत गरिएको कृति हो तर सन् २००० भन्दा अगाडिसम्मको किरणको बसाइ सराइ र सामाजिक साहित्यिक वर्गको ऐतिहासिक विवरण हो । यसको भाषा र प्रस्तुतिको बारेमा पूर्वस्मृति र कवितात्मक भाषा भएकोले यो इतिहास नभएर संस्मरण हो । तर पनि संस्मरण साहित्यमा दिन सक्ने जति वस्तु सन् १९८० देखि २००० सम्मको दर्पणको रुपमा छ । यो यस्तो प्रकारको रचना क्यानडामा पहिलो हो।
मन्ट्रियल क्याफे २०७१/२०१५ माघमा नेपाली साहित्य समाज क्यानडाबाट र बाबा ज्ञानी प्रकाशन, मित्र पार्क, काठमाडौको संयुक्त प्रकाशन हो । यसमा राजदूत काली प्रसाद रिजालको भूमिका छ । त्यो भूमिका अनुसार किरण ढुङ्गानाको जन्म १९५३/२०१० मा पिता महेन्द्रनाथ ढुङ्गाना र माता दमयन्ती ढुङ्गाना सिग्देलको चौथो सन्तानको रुपमा भएको हो, उनले प्रारम्भिक शिक्षा मित्र मण्डल, चावहेल, र पद्मोदय हाइस्कुलमा अनि त्रिचन्द्र कलेजमा कलेज स्तरको पढाइ गरी उनी सन् १९८० मा ओन्टारियो आए (ढुङ्गाना, २०७१ः२७१) ओन्टारियो आउनु अगि २०३६/१९७८ को जनमत संग्रहको आन्दोलनमा सक्रिय सहभागिता जनाएका र सुभास नेवाङ्ग, प्रदीप नेपालसित भद्रगोल जेलमा ५७ दिन जेल जीवन पनि विताएका थिए (रावत, गोविन्द सिहको भूमिका क्यानडाका नेपालीले विर्सनै नहुने नाम किरण ढुङ्गाना, ढुङ्गानाको विद्यार्थी जीवन राजनीति जान्ने र क्रान्तिकारी भएको देखिन्छ । जेलबाट निक्ले पछि उनी केही दिन पिताजी जस्तै जागिरे जीवनतिर लाग्छन् र २०३६ साले जनमत संग्रहको हारबाट उनीमा अरुलाई जस्तो केही निराशाले पनि पाठ खेलेको हुन सक्छ र विदेश गए पढेर आपूmलाई अझ योग्य बनाउन हुन सक्छ उनी सन् १९८० मा मन्ट्रियल आए (ढुङ्गाना, २०७१ः२७)।
किरणले पनि अरु सबैले जस्तो प्रवासी दुःख वेदना र संघर्ष झेलेर क्यानडामा सेटल भएका हुन् । यो सबैको बाटो योटै हो । उनी मन्ट्रियलमा आएको केही महिनामा नै आमाको स्वास्थ्यको कारण उनी नेपाल फर्के (ढुङ्गाना, १९७१ः१६३) । आमाको स्वास्थ्य सुधारको लागि दिल्ली र बेंगलोर लगे पनि बचाउन सकेनन् । दुःख भए पनि ४ महिना पछि उनी मन्ट्रियल फर्किए (ढुङ्गाना, १९७१ः१६९) । उनी भन्दा पहिले राधा बस्नेतका श्रीमान ओटावामा आएर बसेका थिए । उनलाई भेट्न ओटावा गए । (ढुङ्गाना २०७१ः१७०) । मन्ट्रियलमा केही समय बसे पछि उनी टोरोन्टो आए । यो जुन १९८४ को कुरा थियो । टोरोन्टोमा डा. कुमुद शर्मा र कुन्जर शर्मा छन् भन्ने सुनेको भए पनि उनी उनकै साथी नरेन्द्रका बङ्गाली दिदी भिनाजुको ठेगाना लिएर आएका थिए । पहिले त्यही बसे र पछि रमाकान्त, कुमुदहरुसित भेट भएको कुरा र त्यही साल रमाकान्त कोलोराडो गएको कुरा उल्लेख छ । (ढुङ्गाना, २०७१ः १७८) । टोरोन्टोको यानी ब्राम्प्टनमा कुमुद र भद्रिकाको साथ राम्रो सम्बन्ध रहेको कुरा उनले पृ.१८२ मा उल्लेख गरेका छन्।
सन् १९८५ मा किरण कामको लागि भ्यान्कुबर गए । भ्यान्कुबर यो गोलार्थको अन्तिम शहर हो । त्यहाँ गएर उनी आनन्दपूर्वक नै कार्य गर्दै एक्लै घुमफिर पनि गरी बसेका थिए तर किरण अलि सामाजिक राजनैतिक चेत भएका हुनाले उनलाई टोरोन्टो छोडेर बाहिर जान गरेको निर्णय मन नपरेको देखिन्छ । सन् १९८५ को क्रिसमससम्म उनी भ्यान्कुवर मै थिए । सन् १९८६ को जनवरीमा भ्यान्कुबरको जागिर राजीनामा गरी ब्राम्प्टन आए । कुमुदकहाँ बसे १९८६ को जनवरी २५ मा किरणको परिवार नेपालबाट आयो । फरवरी १ मा उनीहरु आफ्नो डेरा लिई सरे । सर्नु त अनिवार्य थियो तर एक सूत्रताको खोजीमा किरण भ्यान्कुबरबाट टोरोन्टो आएर आफ्ना भाषा साहित्य संस्कृतिका काम गर्ने मनोकाक्षाहरुलाई कार्यरुपमा परिणत गर्न सके (ढुङ्गाना २०७१ः१९५)।
प्रवासमा परिवार नयाँ काम र डेरा खोज्नु बसाइ व्यवस्थित गर्नु कम दुस्कर थिएन । ती पीडाका दिनमा उनले नेपालको द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तको खेमामा रहेर जेल यातना सहेको पनि विर्से र उनले आफ्ना प्राप्ति र अप्राप्तिको श्रेय ईश्वरलाई दिन पुगेका छन् (ढुङ्गाना २०७१ः१९६) । मूल राष्ट्रबाट नयाँ भलै इच्छित होस् त्यो नयाँ ठाउँमा टिक्न कति पीडा हुन्छ ! उनी आफ्ना सिद्धान्तका कुरा बिर्सेर सम्पूर्ण बिर्सेर केबल नेपाली सभ्यता र सँस्कृतिको उत्थानतिर समर्पित हुन्छन् । क्यानडालाई मल्टिकल्चरल कन्ट्रीको रुपमा उनले अचेतमा पनि स्वीकारेका छन् । मल्टिकल्चरल डायस्पोराहरुको पीडा पहिचान र कामका समस्यामा आ–आफ्नै प्रकार छन् तापनि किरणले क्यानडामा प्राकृतिक सौन्दर्य अकुत सम्पति भएको वर्णन वाक्य वाक्यमा गरेका छन् । सन् १९८९ मा क्यानडामा एएन्एको च्याप्टर गठन भयो । त्यसमा उनी उपाध्यक्षमा छानिए।
किरणको वंश वृक्षः भारतमा मुसलमानको साम्राज्य बढ्दै गए पछि हिन्दू धर्मावलम्बीहरु भागेर उत्तराखण्डतिर लागेका थिए । तिनै समुहका आर्य मध्येका एक हंसराज भट्ट, कौशिक गोत्रीय पनि अछामको कुन्ती ढुङ्गिनी गाउँ, कालाखोला भन्ने ठाउँमा स्थायी रुपमा बसोबास गरे । उनी विद्वान् थिए । सिंजाका महाराजा सुमुन्दुपालले गुरु बनाएर राखे । ढुङगेनी गाउँको नजीक हंसराज गुरुले पूर्णागिरि भगवतीको स्थापना गरे र त्यही गुठी पाएर त्यही ढुङ्गिनीमा बस्ने हुनाले भट्ट थर त्यागेर ढुङ्गाना भन्ने थर लेख्न थाले । बसाइ सराइको क्रम सदा चलिरहन्छ केही समय पछि त्यो वंश लमजुङ स¥यो । केही पुस्ता पछि फटकशीलामा स¥यो । त्यहाँबाट करिब ३०० वर्ष अगि किरणका पूर्खा काठमाडौको चावहिलमा आई बसे।
ऐलेसम्म अरू काठमाडौ नै छन् तर किरण ढुङ्गानाको वंश वृक्ष अब क्यानाडाको टोरोन्टोमा बसाइ सरेको छ (ढुङ्गाना २०७१ः २१०)। राष्ट्र फेरिए पनि ऐले सम्म पहिचान फेरिएको छैन । ‘एक पटकको नेपाली सदाको नेपाली’ अमर रहे, नेपाली यौटा हाम्रो थर बराबर भएर रहने छ तर स्थान त नयाँ नै हो । क्यानाडा, त्यहाँका मानिसको लागि किरण त छपाली नै हुन् । यो कुराको चेत भएकैले उनका क्रियाकलापहरू नेपाल र क्यानाडा दुवैको सन्तुलनमा हुने गर्दछन् । क्यानडेलीहरुसित पनि उनको मित्रता सद्भाव उच्चकोटीको पाइन्छ । बसाइ सराइले वंशको मूल नभुलिओस् भनेरै नै डायस्पोरा चेत हुनु आवश्यक देखिन्छ जुन नाम न लिइकन ‘मन्ट्रियल क्याफे’ मा डायस्पोरा चेत भरिएको छ र नेपालीहरु क्यानडामा को को कसरी माइग्रेट भए त्यसको इतिहास भने हुन्छ यो ‘मन्ट्रियल क्याफे’मा अवतरित भएको छ।
किरणका पुर्खा काठमाडौमा जागिर नै खान्थे । उनका काका भवनाथ शर्मा २०१७ सालमा बीपीको पालामा सचिव थिए । वी.पी. लाई थुने पछि यिनको जागिर पनि छिनिएको हो । किरणको बुबा पनि सडक विभागका प्रमुख हाकिम थिए । सरुवा गरी जाजरकोट पठाए । त्यस पछि नेपालको उनको परिवारमा विस्थापन र निराशा छाएको हो (ढुङ्गाना २०७१ः २२३) । त्यही निराशाको पल्लो किनारबाट उदाएको हो क्यानडाको बसाइ । सन् १९८८ मा उनले पुरानो डेरा छाडे । अलि राम्रो हाइराइज मिसिसौगा अपार्टमेन्टमा सरे।
यद्यपि क्यानडामा, सन् १९६६ मा नै आभाका बाबा राजसिंह कटौत क्यानडामा आएका थिए ता पनि किरणको बसाइ सराइ नेपालीको किरण दियो, डा.कुमुदको प्रवेशले कुमुदिनी नेपालीको, र कुञ्जरको प्रवेशले यौटा हाथी नेपाली कै प्रवेश गराएको हो भन्ने कुरा सन् १९८८ मा आएर देखिन थाल्यो । धेरै हुँदै गए तुलना पनि हुँदै जाने हो (ढुङ्गाना १९७१ः २१३) । त्यस्तै विजय र दिनेशको परिवार सन् १९७५ मा आएको थियो खुशीको कुरा हो तर पनि क्यानडामा नेपाली भाषा साहित्यको बिहानी किरणसितै झुल्कन्छ र टल्कन्छ।
परिवारहरु बढ्दै गए पछि पितृभक्त किरण ढुङ्गानाले उनका पिता महेन्द्रनाथ ढुङ्गानालाई क्यानडा घुम्नको लागि सन् १९८९ मा निम्तो दिए । उनी भिसा पाएर आए पनि । नेपालमा सं. २०४६ मा प्रजातन्त्रकको पुनर्वहाली भएको थियो (पृ.२२२) । नेपालीको विश्व रङ्गमञ्चमा नै किरण पर्ने लक्षण देखिएको थियो। क्यानडामा अखिल नेपाली अमेरिकी संगठन (ANA) को च्याप्टर सन् १९८९ मा डा. कुमुद शर्माले गठन गराए, जसमा वीरेन्द्र थापा अध्यक्ष र उपाध्यक्षमा किरण ढुँगाना भए । सन् १९९० मा किरण च्याप्टरका अध्यक्ष भए (पृ.२३५) । यसैबाट सन् १९९१ मा ‘लाली गुराँस’ पत्रिका निकाले (पृ.२३८)।
पहिले व्यक्तिगत बसाइ थियो । त्यो पारिवारिक भयो । पारिवारिक बसाइ पनि अर्को देश संयुक्त राज्य अमेरिकामा दर्ता भएको संस्था एएनएको अन्तर्गत थियो समाज । क्यानडामा मान्छे बढ्दै गए पछि च्याप्टरले तृप्ति दिएन । क्यानडामा छुट्टै संस्था खोले किरण र अरु नेपालीहरुले जसको नाम एनसीएनसी थियो । त्यसपछि अनेसास अमेरिकासित हात मिलाउन अगि सरेका हुन्।
सन् १९९४ मा एनसीएनसीबाट ‘दियालो’ प्रकाशन सुरु भएको थियो किरणको सम्पादकत्वमा हाल सम्मको इतिहास बोकेर ऐले त्यो प्रधान सम्पादकको जिम्मेवारी काफ्लेको काँधमा यो सरेको छ । २ दशक सम्म निरन्तर ‘दियालो’ चलाउनु भनेको नेपाली भाषा र साहित्यलाई ठूलो गुन लगाउनु हो । अन्तर्राष्ट्रिय साहित्य समाजले त यो पत्रिकालाई सन् १९९५ मा “Famouse Magazine for the year 1995” बाट पुरस्कृत पनि गरेको थियो र सम्पादक किरण ढुङ्गानालाई त्यो वर्षको प्रसिद्ध लेखक २०९५ “Famouse Writer for the year 1995” को पदवीबाट प्रदान गरेको थियो (अन्तर्दृष्टि, दिसम्बर १९९५)।
सन् १९९४ सालमा किरणको पिता दिवङ्गत भए । नेपाल गए आए जे जस्तो शोकमा परे पनि किरणले भाषाको सेवा छोडेनन् । सन् १९९५ मा एएनए्मए को कन्भेन्सनमा उनी मेरिल्याण्डमा आए । त्यस बेला उनी अनेसासको १९९६–९७ का लागि अध्यक्षमा छानिए । होमनाथ सुवेदीको घरमा बसे र डा. कमल पाण्डेसित भविष्यको योजनाहरु बनाए । प्रकाश सुवेदीले उनलाई डेलास एयरपोर्टबाट स्वागत गरेर ल्याएको घरमा बसेको यो पंक्तिकारकी पुत्रबधु कविताकादम्बिनी कल्पना सुवेदीले किरण, शारदा र नन्दादेवी सुवेदीलाई एक साथ डिसी घुमाएको कुरा उनले पृ.२५६ मा मुक्तकण्ठले प्रशंशा गरी छर्लङ्ग लेखेका छन् । त्यो उनको सुखको अनुभव गरेको समय थियो । प्रेम थापाको डिनर निमन्त्रणा उनको रमरणीय रहेको छ यो संस्मरणमा।
त्यस्तै बसन्त श्रेष्ठसित (पृ.२६१) डा. प्रसाद पन्त, डा. श्याम कार्कीसित भेटघाटका चर्चा उल्लेख्य छन् । यी भाषा र सामुदायिक सेवाबाट प्रेरित भ्रमण थिए । त्यस्तै गोविन्द गिरीको र रमेश खकुरेलको क्यानडा यात्रा र उनले साहित्यकारहरुलाई खुला दिलले गरेका सेवा र स्वागत सगौरव प्रस्तुत गरेका छन् (पृ.२६७) । किरण र गोविन्द गिरी ‘प्रेरणा’ र रमेश खकुरेलको भेटघाट सन् १९९८ मा भएको देखिन्छ । यो संस्मरण ‘मन्ट्रियल क्याफे’ यही १९९८ मा आएर टुङ्गिएको छ । उनका जीवनका १९९८ देखि यताको अर्को डेड दशकको संस्मरण भने त्यो किरणको गर्भमा नै छ । प्रकाशित हुन शेष रहेको कुरा अनुमान गर्न सकिन्छ । यो संस्मरण र किरणको जीवनी एक साथ जान्छन् । संस्मरणका अन्य पक्षको अध्ययन पनि आवश्यक छ।
संस्मरणको मुख्य उद्देश्य आप्रवासीले आप्रवासमा सेटल हुँदा के कस्ता संघर्ष गर्नुपर्छ त्यसमा प्रकाश पार्नु रहेको छ । अर्को उद्देश्य नेपाली इमिग्रान्टस्को क्यानडामा वृद्धि र विकासमा प्रकाश पार्नु हो । भाषा साहित्य र संगठनहरुको विकासमा प्रकाश पार्नु र आत्मश्लाघा विना सुख र दुःखलाई जस्ता–तस्तै पाठक सामु राख्नु यसको उद्देश्य रहेको छ। परिवेशमा क्यानडाका रुप वर्णनमा मेपल रुख, प्लम रुख, नदी, म्युजियम, इतिहास सबै समेटेर त्यो परिवेशलाई कथ्यको अनुकुल बनाएको पाइन्छ (पृ.१२८)।
यो स्मरणको लेखन प्रविधिमा पूर्वस्मृतिको प्रयोग गरिएको छ । यसले गर्दा यो औपन्यासिक लाग्छ तर संस्मरणहरु आख्यान इतिर गद्य नै हुन् । आख्यान हुनको लागि घटनाहरु यथार्थ हैन ती काल्पनिक हुनुपर्छ । संस्मरणका घटनाहरु किरण ढुङ्गानाका आफ्ना जीवनका यथार्थ वस्तु हुन्। आख्यानेतर विधा संस्मरणमा यो उच्चकोटीको छ । किरण स्वयम् बेला बेलामा पुराना घटना वर्तमानमा ल्याएर लेख्छन् यो प्रविधिले गर्दा उपन्यास पढे जस्तो लाग्छ । उद्देश्य, प्रविधि उत्तम छन्।
यसमा भएका सम्वाद सुन्दर छन् तर यसमा सम्वाद भन्दा बढी वर्णन छन् । संस्मरण भएकोले आत्मनेपदमा नै छ । भाषा कवितामय छ । तद्भव शब्दको प्रयोगमा लता, वृक्ष जस्ता शब्दमा अत्यन्त धनी छन् । नेपाली अनुकरणात्म शब्द – ज्इाकजुरुक, क्वारक्वार्ती, कल्याङ कुलुङ, जस्ता ठेट नेपाली शब्दका प्रयोग प्रशस्त छन्।
सुक्तिहरु अनगिन्ती छन् – इन्साफ नपाए गोर्खा जानू, धैर्यको फल मीठो हुन्छ, सोच्नु चिन्तन गर्नु प्रकृतिको वरदान हो । मनुष्य जाति न सोची बाँच्न सक्दैन । संस्कृत सुक्ति पनि छन् जस्तो – विनाशकाले विपरीत बुद्धि, जातस्य हि ध्रुवोमृत्यु… … सोचितुमहर्सि (पृ.१२७)
जातस्य हि ध्रुवो मृत्युर्ध्रुवं जन्ममृतस्य च ।
तस्मादपरिहार्येऽर्थे न त्वं शोचितुमर्हसि ।।२७।।
यो भगवद्गीता द्वितीय अध्यायको साङ्ख्ययोगको सन्दर्भको सत्ताइसौँ श्लोक हो । यो सूक्ति दिएर अति नै व्यावहारिक सन्दर्भलाई यो संस्मरणले अगाडि सारेको छ । अप्रत्यक्षरुपमा मानवलाई मानव बनेर जीवनको तत्वबोध गराउने काममा यो पनि एक यो संस्मरणको उपयोगिता रहेको छ । अलिकति यसमा छपाइमा पु्रफ हेर्ने र मुद्राराक्षसका आँखा फुटेर हिज्जे बिगे्रको छ । त्यसो त नेपाली भाषामै ऐले कतिलाई शुद्ध लेख्न आँउछ र ? भाषा विज्ञहरुले न बनाइदिने हो भने हाम्रा महाकविहरु पनि डार्बिनको मान्छेसित मीत लगाइदिए हुने भएका छन् । लेखकले त शुद्ध लेख्नै जान्न पर्दैन रे ! लौ खा ! महावाणि ! यही सूक्ति बनेको छ आज ! अंग्रेजीमा यौटा स्पेलिङ्ग बिग्रदा कत्रो हङ्गामा हुन्छ तर नेपाली त जे गरे पनि भो नि महापुरुषहरुलाई । म यो भाषाशास्त्रीहरुको क्षेत्रमा जान चाहन्न ऐले । जे भए पनि किरण ढुङ्गानाको यो प्रयास कि आफूले जानेबुझेसम्म स्मृतिलाई प्राकृत भाषामा भए पनि पाठक अगाडि ल्याउन सक्नु स्तुत्य प्रयास हो । यसमा ऐले यत्ति।
के खोज्छेस् कानी, आँखो (पृ.१७२) बिंबहरुले गर्दा गद्य पनि पद्य बराबर भएको पाइन्छ । नमुनाको रुपमाः
बीच समुद्रमा अचानक यौटा सानो डुङ्गा भेटे जस्तो भयो (उपमा बिम्ब पृ.१७२) ।
मन खोला जस्तो ……………… (उपमा बिम्ब पृ.१७३) । भाषामा विविधता छ अंग्रेजी, नेपाल भाषा (पृ.२९) गुभाजु, बाज्या (भाषिका पृ.२९) । यस्ता धेरै पक्ष छन् उद्गार व्यक्त गर्नुपर्ने तर यो समीक्षाको क्षेत्रभित्र अट्दैन।
यो संस्मरणमा ऐतिहासिक वस्तुहरुको विवरण अगाध छ, प्रकृति वर्णन अथाह छ व्यक्तिको चिनारीको यौटा कोठा नै छ । किरण स्वयम् सन् १९८० देखि १९९८ सम्मको नेपाली क्यानेडियन डायस्पोराको समग्र गतिविधिका पुस्तक हुन् । यो किरणको यथार्थ प्रतिविम्ब हो । नेपालमा भ्रष्टाचार र दुस्प्रवृतिको पर्दाफास छ, राष्ट्रियताको भण्डार छ – ‘सुन्दर शान्त विशाल मेरो देश नेपाल’ लाई ललाटमा लपेटेको छ, परिवेश वर्णन व्यापक छ र काव्यात्मक वर्णन छ, वस्तुलाई तार्किक ढँगले सप्रमाण पुष्टि गर्दछ, डायस्पोरामा हुने गृहकातर होमसिक र नोस्टाल्जियाको पनि प्रयोग छ (पृ.२६) । अटुट धाराप्रवाह आख्यानेतर संस्मरण विधाको यो गद्यको महाकाव्य भएको छ।
पुस्तकको नामाकरण गरिएको पुस्तकको पृ. ५० मा प्रयोग भएको मन्ट्रियल क्याफेको आधारमा नामकरण पनि अर्थपूर्ण छ किन कि किरण पहिलो पटक सात समुद्र तरेर मजा लिएको ठाउँ त्यही हो । अंग्रेजी शब्द प्रयोग पनि छन् (पृ.१३२) तर ती युक्ति सङ्गत छन्।
डायस्पोरिक चेत छ यौटा नमुना – पृ.१३५, १३६, १३७ मा डायस्पोरा हुनका धारण उनीले पृ.१९२ मा खुलसा दिएका छन् । एक सूत्रताको खोजी नै किरण भारतीसित, वङ्गालीसित साथी बनाउन पुग्छन् र भ्यान्कुवर पुगेका मानिस पनि एक सूत्रताको खोजीको लागि टोरोन्टो फर्किन्छन् । यो उनको अचेतनले नै गरेको एक सूत्रताको खोजी हो र उनले भनेका पनि छन् । पात्रको हिसाबले हेर्ने हो अतिशयोक्ति बिम्बमा भने हुन्छ—जति शब्द छन् उति पात्र छन्— भने हुन्छ । नोस्टाल्जिया (पृ.१६४)का यस्ता उदाहरणले मन्ट्रियल क्याफे भरिएको छ।
मन्ट्रियल क्याफे किरणको सम्पादकीय र नेपाली भाषासेवी व्यक्तित्वको साथ उनका भ्रमण नाताकुटुम्ब, क्लब, संघसंस्थाको स्थापना र सेवाको विशद विवेचनाको भण्डार हो । यस आधारमा यो कृति मन्ट्रियल क्याफे लाई किरण ढुङ्गानाको आख्यानेतर नेपाली भाषाको गद्य साहित्यमा यौटा सफल संस्मरण विधाको कृति हो भन्नु समीचीन हुने देखिन्छ।