खोक्रो स्वाभिमान र जीवन दर्शन !!
गुन्द्रुकको झोलमा ढिंडो चोबेर अघाउने स्वाभिमानी म
यता Boneless चिकेनमा चिल्ली मिसाएर
चिकेन चिल्ली पड्काउदैछु
जयपुरका जडाउरी भिरेर दसैं मनाउदा खुशी हुने म
टाइसुट कसेर “How may I help you?” को सुगा रटाइमा
ङिच्च दात देखाउछु र भन्छु
Do you know where Mt. Everest is?
Do you know who Buddha is?
म सगरमाथा र गौतम बुध्दको शान हाँक्दछु
म थप्छु “Do you know about Gurkhas, the honest & Brave??”Oh Ya Ya” को उत्तरसँग म डराउछु
मेरो गद्दारी भित्रको ईमान्दारिताको खोक्रो लेपन
देख्ला कि भन्ने डरले थर्थरी काँप्दछु
ऊ भन्छ
भेरी भेरी पिसफुल कन्ट्री
बन्दुक लास र अपहरणका समाचार छोप्न
मलाई धौ धौ पर्छ
ऊ दोहोर्याउँछ
यु आर रिच अफ मेनी रिभर्स एन्ड माउन्टेनस
मलाई १२ घन्टे लोड्सेडीङले कुत्कुति लाग्छ
म असिन पसिन हुन्छु
म केबल हो मात्रै भन्छु
आत्मग्लानि र अपराध बोधले निथ्रुक्क भिज्दछु
मलाई यस्तो लाग्छ
कि अब ऊसँग कुरा गर्न नपरोस
निम्ठो रुपैयाले भारी नपुगेर,
झुसी डलर सोहोर्न हिंडेको म लबस्तरो
सि यु अगेनमा संवाद टुङ्याउछु
गोर्खाली,गौतम बुध्द,सगरमाथा र आफ्नै नाममा
एक अन्जुली पानी छर्किन्छु
र आफ्नो आत्माको चीर शान्तिको कामना गर्दछु