मनीषा अवस्थी
म भोकै छु
हिजो र अस्ती देखि नै
जानी जानी आफैलाई
सास्ती दिने अनौठो रहर जागेको छ ।
हो म चिन्तनमा छु
त्यो दिन देखि
जुन दिन मैले थाहा पाएँ
मेरा कलमहरु कमजोर भएको
मेरो देशमा छरपष्ट मेरा कलमहरुले
बिरहका कमजोर धुन बजाएको ।
मन शुन्यभावमा छ
र आज हेर्दैछु मेरो कलमको नीब
अनि सम्झिदैछु
युरोपका देशहरु
युरोपका देशहरुले
कपटीभावमा सुनाएको
कमजोर कलमका भावहरु
सुनेर पनि होलान्
मेरा कलमहरु रोएका ।
तर युरोपका देशहरुका मान्छेहरु
अन्तरिक्षमा उड्दै
पृष्ठभुमीमा कलमको सह्रानाका गीत बजाएको कहिले सुनाउदैनन्
शक्तिवान युरोपका मान्छेहरु पनि
कलम प्रति आभारी नै छन्
तर साराका अगाडी आफु बाठो भएको देखाउन
कलम कमजोर भएको भाव बोलिदिन्छन् ।
अनि मेरा इमान्दार कलमहरु
निर्दोश भावमा एकाहोरो रोइदिन्छन्
र कमजोर बनिदिन्छन् ।
मैले फकाउनु छ अब
मेरा पिन्चे कलमहरुलाई
कि मैले उनिहरुका लागि
मेरा कलिला हातहरु
खियाएको थिए
उनिहरुको प्रेमले
म खुशी थिए
अनि उनिहरुकै साहारामा
गरीबहरुलाई नचाएको थिए ।
त्यसपछि मेरा कलमहरु आँशु पुछ्नेछन्
थर्ककाउनेछन् शब्दभावमै
युरोपका मान्छेहरुलाई
अनि उनिहरुका भक्त
मेरै सारथीहरुलाई
र मेरा कलमहरु लेखिरहनेछन्
कहिले नमेटिने गरी
इतिहासका पाना पाना कोर्नेछन्
अनि बुलन्द हुनेछन्
युरोपका मान्छेहरु जस्तै ।