CanadaKhabar.com

Sunday, December 14, 2025 -

लेखनाथ न्यौपानेको नयाँ कृति ‘कोमामा कोरस’ लोकार्पित

लेखक तथा पूर्वविद्यार्थी नेता लेखनाथ न्यौपानेको नयाँ कृति ‘कोमामा कोरस’ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले लोकार्पण गरेका छन् । रोल्पादेखि सिंहदरबारसम्मको राजनीतिक यात्रामा आधारित २४ लेख रहेको सो संस्मरणात्मक लेखसङ्ग्रहमा जनयुद्धदेखि पछिल्ला घटनामा देखापरेका सबल र दुर्बल पक्षबारे चर्चा गरिएको छ ।

komama chorus
अध्यक्ष दाहालले पुस्तकमा उल्लिखित कतिपय विषय आफैंमा केन्द्रित भएको छ भन्दै मुलुकको हितका लागि प्रारम्भ गरिएका परिवर्तनबारे ढिलै भए पनि नेपाली समाजले थाहा पाउनेछन् बताए ।
उनले नयाँ शिराबाट अघि बढ्न गरिएका प्रयासलाई पुस्तकमा समेट्नुपर्नेमा जोड दिँदै साझा प्रकाशनलाई बचाउन एक पटकका लागि रु ४० करोड अनुदान दिन माग भएकामा केही व्यवस्था भए पनि पूर्ण नभएकाले आफूले पुनःपहल गर्ने वचन दिए ।

कृति प्रकाशक शमी साहित्य प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार प्रदीप नेपालले राष्ट्रिय पुँजीवादलाई बलियो बनाउने अभियानको नेतृत्व गर्न सबै कम्युनिस्ट एक हुनुपर्ने बताउँदै यसका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अग्रसर हुनुपर्ने सुझाव दिए ।

साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले साझा प्रकाशन डुबेको नभई नियोजित रुपले डुबाइएकाले त्यसलाई माथि उकास्न ध्यान दिनुपर्ने बताए । साहित्यकार आहुतिले राजनीतिक परिवर्तनका लागि गरिएको जनयुद्धको सबल पक्षको विश्लेषण नगरी उदाङ्गो बनाउने काम मात्र भएको अवस्थामा लेखक न्यौपानेको कृति भावी सर्जकका लागि आधारभूत खजाना हुने विश्वास व्यक्त गरे ।

नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले नेतृत्व वर्ग विगतको राजनीतिक दर्शनलाई बिर्सदै पथभ्रष्ट हुन थालेकाले लक्ष्यमा पुग्न नसक्ने कुरा पुस्तकमा लेखकले इङ्गित गर्न खोजेका छन् भन्दै यो आलोचनालाई नेतृत्व वर्गले सुझावका रुपमा लिन सक्नुपर्ने बताए ।

लेखक न्यौपानेले आफ्नो नवौं कृतिमा आफूमा रहेको साम्यवादीपन, सिद्धान्त र व्यवहारमा कम्युनिस्ट नेतामा आएको फरकपन, शान्ति सम्झौतापछि नेतामा आएको परिवर्तन, कार्यक्रमको अवस्था नबुझी नेताले बोल्दा खेप्नुपरेको आलोचना जस्ता विषयमा आफूले कलम चलाएको जानकारी दिए । रासस