CanadaKhabar.com

Thursday, November 21, 2024 -
  • बेहुली पहिरन नफेर्दै थर फेर्न हतारो ?

    विहेको लगनमा बसेर श्रीमानको घर भित्रिन पाएको छैन, बेहुलीका फेसबुक टाइमलाइनमा उनको थर परिवर्तन भइसकेको हुन्छ । बेहुलीको पहिरचन नफेर्दै थर फेर्न हतारो गर्ने शहरिया युवतीहरु पनि निकै देखिएका छन् । किन यति हतार भएको होला जन्मिएको थर फेर्न ? मेरो मानस मटलमा सधै एउटै कुराले प्रश्न गरिरहेको हुन्छ के विवाह पछि श्रीमान्को थर जोड्नु आवश्यक छ त ?

    विहेको लगनमा बसेर श्रीमानको घर भित्रिन पाएको छैन, बेहुलीका फेसबुक टाइमलाइनमा उनको थर परिवर्तन भइसकेको हुन्छ । बेहुलीको पहिरचन नफेर्दै थर फेर्न हतारो गर्ने शहरिया युवतीहरु पनि निकै देखिएका छन् । किन यति हतार भएको होला जन्मिएको थर फेर्न ? मेरो मानस मटलमा सधै एउटै कुराले प्रश्न गरिरहेको हुन्छ के विवाह पछि श्रीमान्को थर जोड्नु आवश्यक छ त ?marriage

    यही जिज्ञासा मेट्न एक परिचित साथीलाई सोधेँ किन तपाईले आफ्नो थर हटाएर श्रीमान्को थर राख्नु भो? ‘सुरु-सुरुमा आफनो थर राख्ने गरेकी थिएँ तर, समय वित्दै जाँदा आफ्नै जन्म दिने बुबाले श्रीमान्को थर राख्ने सल्लाह दिनु भयो’ साथीले एकै वाक्यमा जवाफ दिइन् ।

    विवाहपछि फलानोको श्रीमति हो भन्ने पहिचान पाउन र सम्पतिको हकदार हुन वा अंश दावी गर्न पनि श्रीमान्को थर राख्न आवश्यक पर्ने मान्यताले मात्र यस्तो भएको हो त ? अधिकांश महिला यहि जवाफ दिन्छन्, उनीहरु कानुनी रुपमा सुरक्षित हुन चाहन्छन् । मेरी ती साथी पनि गृहिणी भएकीले सायद बाध्य थिइन् आफ्नो अग्रजले भनेको कुरालाई मान्न । अर्को तर्फ कानुनी रुपले बाँधिएकी छु भन्ने लागेको पनि होला ।

    उनी जस्तै प्रायः जसो धेरै महिलाहरु यस्तै कुराहरुले बाँधिएका छन् । विवाह भनेको नै श्रीमान र श्रीमति विचको नाता जोडिनु हो र जुनसुकै थरसँग पनि यो नाता कायम हुन सक्दछ । विवाह नै यस्तो गाँठो हो जसले महिला पुरुषबीच कानूनी र सामाजिक सम्बन्ध दिएको हुन्छ त्यसर्थ यहाँ उठाउन खोजिएको कुरा ती गृहिणी महिलाको भने होईन । असमान व्यवहारलाई महिलाहरु स्वयंले प्रश्रय दिएको होकि भन्ने मात्र हो ।

    यसको ज्वलन्त उदाहरण हो- सन् १९९५ सालमा चीनको बेजिङ्गमा भएको चौथो विश्व महिला सम्मेलन । यस सम्मेलनको मुख्य उद्देश्य नै महिला माथि हुने असमान व्यवहारलाई हटाउनु रहेको थियो । यस सम्मेलनले महिला स्वतन्त्र र सार्वभौम भई बाँच्न पाउनु पर्ने मानव अधिकारका बाधक बनेको भन्दै विभिन्न १२ वटा बाधा अबरोधका बुँदाहरु पहिचान गरेको थियो । उक्त बाधा अवरोध हटाउन आवश्यक कार्य योजना तयार पारेको पनि बीस बर्ष भइसक्यो ।

    असमान कानुनहरु संसोधन गराउन समेत सफल महिला अधिकारकर्मीहरु पनि थर झुण्डयाउने मामिलामा मैले माथि उल्लेख गरेकी गृहिणीकै पथमा देखिन्छन् । त्यो असमान व्यवहार स्वयं आफैले गरेको भएन र? हामीलाई थर परिवर्तन गर्न न त कानुनले बाध्य गरेको छ न त श्रीमान्ले नै । तैपनि महिलाहरु विवाहपछि आफ्नो थर पछाडि श्रीमान्को थर राख्ने गरेको या आफनो थर हटाएर श्रीमान्को थर मात्र राख्ने गरेको देखिन्छ । तर, विवाहित पुरुषहरुले भने यसो गरेका छैनन् ।

    विवाह पछि थर परिवर्तन गरिनु या आफ्नो थर पछाडी श्रीमान्को थर पनि जोड्नुले अधिकार बोध र कर्तव्य दुबैलाई औल्याउँला तै पनि असमान व्यवहार हामी आफैले त गरेका छैनौं ? विवाहपछि सम्पूर्ण पहिरन (सिन्दुर, पोते र थर परीवर्त्तन) ले विवाहिताको प्रमाण पत्र महिलाले प्राप्त गर्दछन् भने तिनै विवाहित पुरुषलाई किन जरुरी छैन त्यस्तो प्रमाणपत्र ? समाजमा विधमान धार्मिक मान्यता, चलन चल्ती परम्परा र कानुनले महिलालाई बाध्ने तर, पुरुष त्यस मामलामा स्वतन्त्र हुने र उनीहरुलाई खासै फरक नपर्ने कुराले पनि असमान व्यवहारलाई हामी आफैले प्रश्रय दिईराखेका छौ ।

    पहिचान बोकेका महिलाहरुले श्रीमान्को पहिचान बोक्नु अधिकार, बाध्यता या रहर केहो ? यदि वाध्यता हो भने कानुनको कुन परिच्छेदमा सो कुरा उल्लेख गरिएको छ ? श्रीमान्को थर राखेपछि मात्र अंशियार हुन पाईने हो भने समानताको लडाईमा अझै पनि हामी कतै पछि त परेका छैनौं ? होईन भने पुरुषहरुले पनि विवाहित हुँ या महिलाले आर्जन गरेको सम्पतिमा उसको पनि अधिकार छ भन्ने जताउनको लागि कुनै ट्याग राख्नु जरुरी देखिन्छ ।

    सबै खाले असमान कानुनहरुमाथि बहस गर्न सफल भएता पनि पुरुषहरुलाई विवाहिता हो भन्ने पहिचान बोक्ने खालको विषयमा भने किन बहस गर्न सकेको छैनौं ? तसर्थ अब लैङ्गकि समानताका पक्षधरहरु सबैले विवाहित महिलाले श्रीमान्को थर नराखे पनि अंशियार बन्न सक्ने विषयमा आवाज उठाउनु पर्ने जरुरी देखिन्छ । होईन भने सबै महिलाले थर परिवर्तन गर्‍यो भने मात्र अंशियार या अंश दावी गर्न सकिने रहेछ भन्ने नकारात्मक सोच हावी हुन सक्छ ।