CanadaKhabar.com

Saturday, May 18, 2024 -
  • मायापथ

    पानी नै तिर्खायो भने केले मेट्ने तिर्खा ?
    – रामकुमार एलन

    ‘हाइ, नमस्कार ।’
    च्याटमा सत्कार स्वीकारेपछि उनले भनिन्, ‘म त हजुरको नियमित पाठक । सबै पढ्छु नछुटाइकन ।’
    उनको कुराले खुशी भएँ । लेखकहरुको चिन्ता नै यही हो । दिमाग लगाएर, कपाल झारेर लेखियो, कसैले पढेनन् । प्रतिक्रिया आएन, यस्तै यस्तै चिन्ताले लेखकहरु पलायन भइरहेका हुन्छन् ।
    ‘ओह नाइस, थ्यांक्स ।’ फकाएँ ।
    सोधिन्, ‘बिजी हो कि कुरा गर्न मिल्छ ?’ramkumar elan story
    फ्रि नै भएको संकेत गरेँ र भनेँ, ‘उही त हो नि एउटा मायापथ लेख्नु छ फेरि ।’
    ‘ए, कुन विषयमा हो नि यसपटक, कसलाई छोडाउँदै हुनुहुन्छ ?’ उताबाट कडा म्यासेज आयो ।
    थपियो, ‘जनताका छोरीलाई काँक्राको चिरा झैँ पारेर पाठकलाई बेच्न सक्ने तपाईंको लेखाइलाई चैँ मान्नै पर्छ क्या । कसैका छोरीलाई, कसैका पत्नीलाई, कसैका बुहारीलाई यसरी गरम मसला बनाएर बेच्न सिकायो कसले ?’
    ‘ओ, हो, त्यस्तो होइन नि, समाजमा देखिएको दृश्यलाई शब्दमाला उनेको मात्र,’ लुकाउन खोजेँ ।
    ‘हो नि खुबै,’ मान्छेलाई पानी–पानी बनाउने, अनि तिर्खा जगाएर भाग्ने तपाईं लाक्षी लेखक हो, आफ्ना आवेग खलल पोखाएर छ्यांग हुने, अरुको आवेगको भेउ नपाउने ।’ पेचिलो डाइलग आयो ।
    ‘मैले कसलाई पानी–पानी बनाएँ र पानी नै बनाएपछि तिर्खा लाग्छ कसरी ?’ नादानी बनेँ ।
    ‘यी लेखकहरु के भएका, तिर्खा लागेको कुरा लेख्छन् तर तिर्खा मेटाउने कुरै गर्दैनन्, तिर्खा लाग्छ मात्रै कि मेटाउनु पनि पर्छ ?’
    एकपछि अर्को पेचिलो प्रतिक्रिया आउन छाडेन । लेख्न छाडेर गफिने रहर भयो ।
    ‘कसको तिर्खा मेट्ने र,’ सोधेँ ।
    ‘सबैको तिर्खा मेटिए पनि पानीको तिर्खा कसले मेटेको छ लेखकज्यू,’ फेरि घुमाइफिराइ पेच पार्ने कुरा आयो ।
    ‘पानी पनि तिर्खाउँछ र,’ भनेँ, ‘पानीले त सबैको तिर्खा पो मेट्छ त ।’
    ‘हो नि, त्यही पानी चैँ तिर्खाउँछ भनेर किन लेख्दैनन् लेखकहरु,’ मर्मभेदी प्रहार आयो, ‘कहिलेकहीँ कसैलाई पानी–पानी बनाएपछि तिर्खा पनि मेटाउनु नि । हुन त पानी भन्दा बढी अचेल कोकाकोलामा मन जान थालेको छ लेखकहरुको पनि, त्यो एउटा गीत छ नि, क्यारे, तिम्रो फिगर कोकाकोला ।’
    लाइन गयो । इन्टरनेट एक्सेस हरायो ।
    ०००
    उनका प्रश्नहरुले गम्भीर बनायो । खोइ के लेखियो, के लेख्न सकिएन । कोहीकोही पानी–पानी भएर तिर्खाइरहेको गुनासो आयो । सबैको गुनासो एउटै लेख र एक रंगमा बग्ने लेखकले पूरा गर्न पनि सक्दैन । त्यसमाथि पानी पनि तिर्खाउँछ भनेर सोचेकै होइन । जे होु्, यिनले आज नयाँ विषय दिइन् । सबैलाई प्यास मेटाउने पानी आफैँ तिर्खायो भने उनको प्यास मेटाउने के ले ? गम्भीर प्रश्न छाडेर गइन् । अफ भएँ, नेपाल विद्युत प्राधिकरण मीठा गफमा तगारो भइदियो ।
    अन्जु पन्तले गाएको गीत रिवाइन्ड गरेँ मोबाइलमा । ‘तिर्खा लाग्यो, पानी खाएँ, मैले के बिराएँ ? सुरुदेखि नै यो गीतले भाषा बिगा¥यो भन्नेमा एक हुँ । तिर्खा लाग्यो, पानी पिएँ, मैले के बिराएँ, मन पराएँ, जोवन दिएँ मैले के बिराएँ भनेको भए कति सुन्दर हुने थियो । पिउने पानीलाई खाने भन्ने ? लेखकहरु कम्ताका बुद्धिबिलासका नयाँ विषय ल्याउँदैनन् । हुन त सरकारले नै नेपाली खानेपानी संस्थान भनेपछि के को पिउने पानी । पिउने त कोकाकोला थियो, त्यो पनि अचेल स्त्रीको फिगरसँग जोडिन थाल्यो गीतमा । पानी खाने नै हो, जो तिर्खा लाग्दा । तर यहाँ पानीलाई मायासँग जोडेर पानी पनि तिर्खाउँछ भन्ने विषय आयो । हो, कञ्चन, निर्मल त्यो झरझर भरनामा कोही आएर द्रविभूत भएर स्नान गरिदेओस्, आफ्ना अंगअंगमा कञ्चन पानीका बुँदहरुले नृत्य गर्न पाउन्, सायद पानी यस्तै यस्तै तिर्खामा झरनाबाट सिठ्ठी मारिरहेको हुन्छ ।
    ‘हेल्लो किन अफलाइन, डराएको लेखकज्यू,’ मोबाइलमा म्यासेज आयो । फेसबुकमा मोबाइल नम्बर दिनुको फाइदा या बेफाइदा यसैमा छ । प्रोफाइल सर्च गरेर म्यासेज नै आयो । पक्कै उनकै हो, जवाफ फर्काएँ, ‘लाइन गयो ।’
    ‘बहाना हो कि,’ उताबाट जवाफ आयो ।
    होइन, लेख्न बाँकी भएको र लाइन गएकाले लेख्न नपाएको सुनाएँ ।
    ‘कफी पिउन आउनुस्,’ हठात् निम्तो आयो ।
    ‘कहाँ आउने ? काम छ मेरो त,’ यसपटक चैँ पहिलोपटकमै गइहाल्न हुन्न भन्दै हल्का बहाना बनाएँ ।
    उनले बोलाएको लोकेसन त नजिकै थियो । भनिन्, ‘लाइन आएपछि पठाउँला क्या, आइसक्रिम हो र तपाईं खाएर सिध्याउला भन्ने डर, लेखक पो त, लेखकज्यूलाई अपहरण गर्दिनँ क्या ।’
    यति भनेपछि आउने संकेत गरेँ । आखिर लाइन जाँदा काम नै के छ र ?
    कफी सपमा गफिँदै कफीको चुस्की लियौँ । उनले काठमाडौंका धेरै लेखकहरुको आन्द्राभुँडी गिजोलिन । मानौँ यी ती सबै लेखकका पारिवारिक डाक्टर पो हुन् । सुनाइन् । भनिन्, ‘त्यो फलानालाई त मैले अनफ्रेन्ड हानेँ नि !’
    सोधेँ, किन नि ?
    भनिन्, ‘उ अलि अराजक नै थियो क्या । यो कफी सपमा पनि उनैले हो बोलाएको मलाइ । उनको फ्यान थिएँ । तर मान्छे अराजक । त्यसपछि अनफ्रेन्ड गरेँ ।’
    धेरै जान्न चाहिनँ । उ कति अराजक थियो, राम्ररी बुझ्छु । पछिल्लो समय सौराहामा भएको साहित्यिक गोष्ठीमा जाँदा उसले देखाएको हर्कत भुलेको छैन । बारमा पिएर बाहिर चौरमा लडेपछि उसका मोजा र जुत्ता कता हराएछ । भोलिपल्ट हामीले नै किनिदिएका हौँ । हाफ ज्याकेट पनि हराएर बिचल्ली भएको थियो । अझ राति २ बजेसम्म होटलमा महिला साहित्यकारका ढोका ढक्ढक्याएर तपाईंहरु सुत्नु भयो कि भएन भनेर चेक गरेको भन्दै उनान्सय कोणमा हिँडेको झल्झली सम्झना छ । भोलिपल्ट पनि कवि गोष्ठीमा आएका नयाँ पुस्ताका बहिनीहरुलाई बास्नासहित सुम्सुम्याएर तिमीहरुको भविष्य छ साहित्यमा भनिरहँदा उसका हात कहाँ थिए, साथीहरुले खिचेका छन् मोबाइलमा ।
    ‘टोलाउनु भयो त ?’ उनले क्रमभंग गरिन् । धेरै लेखकहरुको आनीबानी र नानीबारे बताइन् । भनिन्, ‘त्यो फलानो त खेलौनाजस्तै हो नि ।’ मूला सडकछाप हो, सम्पादकले त्यस्ता झारेको पनि लेख छापेर स्थापित बनायो । घरमा बूढीलाई पिटछ्, बाहिर महिला अधिकारका पक्षमा लेख्छ–बोल्छ ।’
    उनले खासमा बूढीबाट सन्तुष्टि नपाएर बाहिर खेलौना खोज्दै हिँडेपछि बूढीले गुनासो गर्दा पिटेको हो । त्यस्ता खत्तमलाई पनि लेखक बनायो मिडियाले । उनका कुरा निर्दोष स्रोता भएर सुन्दैछु, नादानी पोख्दैछु । लेखकहरु मै हुँ जान्ने–सुन्ने भन्छन् । तर पाठकहरु तीनसय प्रतिशत टाठा छन् कि, लेखकको औकात यसरी निफनिदिन्छन् सडकमा ।
    उनका कुरा सुनेर गम खाएँ ।

    ‘कफी सेलायो,’ च्याप्प हात समातिन् । नरम हातको स्पर्शले समवेदित नहुन सकिनँ । सोधेँ, ‘पानीलाई तिर्खा कसरी लाग्छ ?’
    उनी हाँसिन् । उनको मिर्मिरे आँखामा हेरेँ । यस्तो घुरेर हेरिन् कि आँखा भूइँतिर हेर्न हतारियो । पानीलाई तिर्खा लागेको ‘डेमो’ देखाएको झल्को पो आयो ।
    कुरा मोडेँ, ‘घरमा को को छन्, के गर्छन् ?’
    उनी बोलिनन् ।
    फेरि सोधेँ, ‘किन चुपचाप ?’
    भनिन्, ‘भन्दै जाउँला नि ।’
    ‘हुन्छ,’
    ‘हजुरको लेख मन पर्छ,’ फेरि प्रशंसा आयो ।
    कुन कुन मन परे र ?
    त्यो थियो नि, ‘काजमा हाल्नु ।’
    हाकिमले क्या ‘मिलाएर खाएको’ है होटलमै लगेर ।
    उनको वाणीले लज्जित भएँ । हुन त २१ औँ शताब्दीको महिला न परिन् ।
    अनि त्यो थियो नि, पत्रकारले मोडलको अन्तवार्ता छापेको, नगरकोटमा रात बिताएको, त्यो पनि दमदार थियो । उनले सबै पढेको झैँ गरेर लाइनलाइन भन्न थालिन् ।
    विचरा सम्पादकलाई पनि रिपोर्टरले ओछ्यानको ब्लो अप छापेको थाहा हुँदैन रहेछ है पत्रकारितामा । उनले यस्ता विषय उठाइन् कि दिमाग घुम्न थाल्यो ।

    भनिन्, ‘बैंकर भनौँदाहरु त साथीको श्रीमतीलाई पनि बाँकी राख्दैनन् है ।’
    ओ हो, यो केटी कति पढन्दास । सबका सब लेख कण्ठ छ । हाँसिरहेँ । उनी बोलिरहिन् ।
    भनिन्, ‘लाइन आउने बेला भयो, तपाईं जाने होला अब ।’
    हो भनेँ ।
    ‘अनि यो हप्ता कसलाई छोडाउने हो नि,’ सोधिन् ।
    भनेँ, ‘मूड छैन, लेख्दिनँ होला ।’
    भनिन्, ‘लेखकसँग एउटी पाठक ‘मूड’को कुरा लेख्नुस् न ।’
    कस्तो कुरा ?
    उही, पानीलाई तिर्खा लागेको ।
    उनको कुराले सत्रौँपटक गम्भीर बनायो ।
    कस्तो तिर्खा लागेको हो र ?
    उही क्या अरुलाई जस्तै । तपाईंको लेखका पात्रलाई जस्तै । बाहिर अर्कीसँग लठारिँदा पनि घरकी बूढीको चिन्ता गर्ने बैंकरलाई जस्तै, बूढीसँग हुँदा पनि बाहिरकीलाई सम्झेर रिसाउने इन्स्पेक्टरजस्तै ।
    ‘सबका तिर्खा उतार्ने, लेखकसँग पाठकको तिर्खा बुझ्ने क्षमता हुँदैन र ?’
    कफीको पैसा उनैले तिरिन् । त्यसपछि हामी निस्कियौँ । अँगालोको इसारा आयो । पहिलोपटक भएकाले हात मात्र हल्लाएँ । एकटकले उनी हेरिरहेकी थिइन् । अलि पर बाटोमा पुगेपछि म्यासेज आयो ।
    ‘खुशी लाग्यो, हजुरलाई मिस गरिरहेछु, मिल्छ भने शुक्रबार नगरकोटा जाउँ न ।’

    लेखकले दुनियाँलाई पानी–पानी हुने गरी लेख्दा कोही यसरी तिर्खाउँदा रहेछन् । पानीको तिर्खा मेट्नु लेखकका लागि कति गाह्रो हुन्छ, परीक्षामा उत्रने बेला आयो । म्यासेज फेरि आयो, ‘मूड बनाउनुस् है, म पनि नगरकोट जान एक्साइटेड छु, जहाँ तपाईंले धेरै पात्रलाई पानी–पानी पार्नु भएको थियो, त्यहाँ म पनि तपाईंलाई पानी–पानी पार्न सकूँ ।’
    उफ्, पानी नै तिर्खायो भने लेखकले नै पँधेरो खन्नु पर्ने समाजको माग आयो । यो समाज यसरी नै जोडिइरहेको छ कि, भत्किरहेको छ ? यहाँ यस्ता अजिव– अजिवका पात्रहरु भेट हुन्छन् । ती सबै पात्र एउटा–एउटा कथा भनिरहेका हुन्छन् । वश, तिनको मनोदशा केलाएर सपाटसँग उतारेर एउटा नयाँ कथा पाठकलाई दिने कि, पाठकको नगरकोट भ्रमणमा सरिक भएर भ्रष्ट हुने ? मुद्दा यही हो, आम लेखकहरुको । के लेखकको मन हुन्न र ? के लेखक अरु जस्तै रहर भएको प्राणी होइन र ? धेरै अग्रजहरुले यस्तै पटके रहर पूरा गर्दा भविष्य अध्याँरो भएको छ । भएको घरबार तोडिएको छ र जोडिन नसकेको घरबारका कारण अलपत्र जीवन बाँचिरहेका छन् ।

    पात्रको प्रवृत्तिलाई कथानक बनाउने हो लेखकले न कि पात्रको रहर पूरा गर्ने । हरेक पात्रको रहर पूरा गर्ने हो भने उसको परिचय लेखक होइन, जिगोलो हुन सक्छ । हुन त पात्रको कथा बुनेर लेख्न सके जिगोलो पनि लेखक हुन सक्छ तर लेखक जिगालो कहिल्यै बन्नु हुँदैन । होला, एकाधको मनको रहर नमेटिएला, तर हजारौँ पाठकको सम्मान भेटिन्छ । तर समाजको यो भ्रष्टिकरण कसले सुरु ग¥यो, एउटा पाठकले पहिलो भेटमै नगरकोट जाउँ भन्ने कसले बनायो, खोजतलाश गर्नु पर्ने भएको छ । साउन लागेको छ, हातभरि लगाइएका हरिया चुरा झैँ तपाईंको मायामा पनि हरियाली छाओस् । उमंग आओस् । फेसबुक, भाइबर, इन्स्टामा पनि छमछम चुरीका तस्बिर आओस् । तर यसरी हाकाहाकी नगरकोट जाउँ न भन्ने प्रस्ताव चैँ नआओस् ल ! फेरि पनि जय होस् माया गर्नेहरुको !