CanadaKhabar.com

Saturday, May 18, 2024 -
  • टर्कीमा सैनिक ‘कु’ को असफल प्रयासमा २६५ मारिए, १४ सयबढी घाइते, ३ हजार बढी सैनिक पक्राउ

    _weapons_soldiers_turkeyअंकारा/एजेन्सी– टर्कीमा सेनाको एउटा सानो समूहले सैनिक ‘कु’ को असफल प्रयास गर्दा २ सय ६५ जना मारिएका छन् ।

    शुक्रबारराति इस्तानबुलमा रहेको सेनाको सानो समूहले राजधानी अंकारा र इस्तानबुलका मुख्य क्षेत्रलाई नियन्त्रणमा लिएर सत्ता कब्जा गरेको घोषणा गरेको थियो ।

    सैन्य ‘कु’ को असफल प्रयासमा संलग्न उच्च सैनिक अधिकारीसहित करिब ३ हजार सैनिकलाई पक्राउ गरिएको छ । सैनिक ‘कु’ को प्रयासका विरुद्ध टर्कीका हजारौ जनता राति नै सडकमा ओर्लिएका थिए ।

    राष्ट्रपति रिसेप तैयप एर्दोगानका समर्थकहरुले विद्रोही सैनिकका ट्यांकमा नै चडेर सेनामाथि हमला गरेका थिए । टर्कीस सेनाको ठूलो समूहले सैन्य ‘कु’असफल बनाउँन कडा मेहनत गरेको थियो ।

    टर्कीको तटीय शहर मारिमारिसमा विदा मनाइरहेका राष्ट्रपति रिसेप प्रधानमन्त्र बिनाली यिदिड्रिमले सैनिक ‘कु’ असफल भएको बताएपछि इस्ताबुल फर्किएर पत्रकार सम्मेलन गरेका थिए ।

    इस्तानबुलमा मुख्यालय रहेको सैनिकको सानो समूहले इस्तानबुल र अंकारालगायत नियन्त्रणमा लिएर बन्दुक, विस्फोटक पदार्थ पट्काउनुका साथै ट्यांक र हेलिकप्टर समेत प्रयोग गरी सैनिक ‘कु’ को प्रयास गरेको थियो ।

    सरकार समर्थित सेनाले विद्रोही सैनिकको एउटा हेलिकप्टरलाई समेत सो क्रममा खसालेको थियो । ‘कु’ को प्रयास गर्ने सेनाको समूहले सेना प्रमुख हुलुसी अकबरलाई समेत बन्दी बनाएका थियो भने संसद भवन तथा राष्ट्रपति कार्यालयलाई नियन्त्रणमा लिएको थियो ।

    ‘कु’ पक्षधर सेनाले एक टेलिभिजन च्यानलमार्फत संबोधन गर्दै टर्कीको सत्ता हातमा लिएको र छिट्टै नयाँ संविधान जारी गर्ने बताएका थिए । तर त्यसको केही घन्टामा नै सैनिक ‘कु’ असफल भयो ।

    त्यसलगत्तै सेनाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । टर्कीमा यसप्रकारका सैनिक ‘कु’ पटक पटक भएका छन् । सन् १९६०, १९७१, १९८० र १९९७ मा टर्कीमा सैनिक ‘कू’ भएको थियो ।

    शनिबारको सैनिक कु असफल भएपछि राष्ट्रपति रिसेपले टर्कीका जनतालाई सडकमाथिको कब्जा जारी राख्न आग्रह गरेका छन् । उनले नयाँ शिराबाट कुनै हर्कत हुनसक्ने आशंका व्यक्त गर्दै सर्वसाधारणलाई आजको रात सडकमै बस्न र कुनैपनि परिस्थितिको सामना गर्न आग्रह गरेका हुन् ।

    नेटोको समेत सदस्य रहेको टर्कीमा शुक्रबारराति ८ करोड जनसंख्या रहेको अंकारा र इस्तानबुलमा विस्फोट, गोलाबारीसहित ट्यांक समेत उतारिएको थियो ।

    सत्तापलटको प्रयासलाई राष्ट्रपति एर्दोगानको जस्टिस एन्ड डेभलपमेन्ट पार्टी (एकेपी) का कार्यकर्ता तथा समर्थकसमेत असफल बनाउन सडकमा उत्रिएका थिए ।

    एर्दोगानले सत्तापलटको प्रयासलाई विश्वासघात भएको बताउँदै आफूले काम गरिरहेको र अन्त्यसम्म पनि जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।

    उनले शुक्रबाररातिको घटनालाई षढ्यन्त्र रचेर देशद्रोह गरेको भन्दै यसको चर्को मूल्य चुकाउनुपर्ने बताए । एर्दोगानमाथि धर्मनिरपेक्षवादीलाई कमजोर बनाएर अधिनायकवादतर्फ अघि बढेको आरोप लाग्ने गरेको छ । तर उनका समर्थकहरुले उनले देशमा लोकप्रियताका साथै सेनामाथि आफ्नो नियन्त्रण राख्न सफल भएको बताउँदै आएका छन् ।

    राष्ट्रपति एर्दोगानले सत्तापलटको असफल प्रयासमा आफ्नै पूर्वसहयोगी फतहुल्लाह गुलेनलाई जिम्मेवार रहेको आरोप लगाएका छन् । तर गुलेनले भने यो सत्तालपटको खेलसँग आफ्नो कुनै लेनदेन नरहेको स्पष्ट पार्दै आफूमाथिको आरोप अपमानजनक भएको बताएका छन् ।

    सैनिक विद्रोहका क्रममा तकसिम स्क्वायरमा गोली चलाउँदा थुप्रै सर्वसाधारण घाइते भएका थिए । सोही स्थानमा तीन वर्षअघि वर्तमान राष्ट्रपति विरुद्ध भीषण प्रदर्शन भएको थियो ।

    टर्की घटनापछि विश्व समूदायका नेताहरुल शान्ति कायम गर्न आव्हान गरेका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले लोकतान्त्रिक विधिबाट निर्वाचित सरकारलाई समर्थन गर्न आग्रह गरेका छन् ।

    पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले सत्तापलटको प्रयासको निन्दा गर्दै लोकतान्त्रिक, शान्तिपूर्ण र स्थिर टर्की आफ्नो चाहाना रहेको बताएका छन् । यस्तै बेलायत, इरान, इजरायललगाउतले पनि असफल सैनिक ‘कु’ को विरोध गरेका छन् ।

    टर्की घटनाका कारण इस्तानबुलमा हुन लागेको युनेस्कोको बैठक स्थगित भएको छ । टर्कीका सुरक्षाकर्मीले बन्दी बनाइएका सैनिक कमान्डर हुलुसी अकबरलाई मुक्त गराउँनुका साथै अतातुर्क विमानस्थल, यातायात सुचारु गरेर जनजीवन सामान्य बनाउने कोशिस गरेका थिए । यसअघि ‘कु’ पक्षधर सेनाले कफ्र्युको घोषणा गरेका थिए ।