# मनऋषि धिताल
नेपाली राजनीतिमा दोस्रोपटक प्रधानमन्त्री हुने पहिलो माओवादी कम्युनिस्ट नेताका रुपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका छन् । उनका पूर्वसहकर्मी डा. बाबुराम भट्टराईले आफुलाई माओवादी र कम्युनिस्ट दुवै भन्न छोडिदिएकाले सम्भवतः देशले अर्को माओवादी प्रधानमन्त्री आगामी दशकसम्म पाउन मुस्किलै छ ।
प्रचण्ड ठुल्ठुला चुनौतीका हिमालले घेरिएका छन् । र, त्यतिकै अग्ला अवसरहरु पनि उनी सामु छन् । सानो पार्टी को भए पनि सबैले उनलाई एउटा संसदीय खेलाडीका रुपमा सफल मान्लान, उनी आफैंलाई पनि त्यस्तो लाग्ला, तर पछिल्लो तीन दशकको इतिहास हेर्दा उनले आफूलाई संसदीय खेलाडी पुष्पकमल होइन, माओवादी राजनीतिज्ञ प्रचण्ड प्रमाणित गर्नुपर्ने बाध्यता छ । उनले यो गर्न सकेमा उनको तीन दशकको माओवादी राजनीतिको मात्रै होइन, विगत सात दशकको सिंगो लोकतान्त्रिक आन्दोलनको पनि साझा धरोहर बन्ने छन् ।
तीन दशकको समीक्षा तीन बुँदामै गरौं
समीक्षा गर्नुपर्ने उनको इतिहासको पहिलो दशक उनी कम्युनिस्ट पार्टी निर्माणको चरणमै रहे । आफ्ना घघडान अग्रजहरुको सामु पदीय र कदीय उचाइमा होचा प्रचण्डले क्रान्तिकारी कम्युनिस्ट केन्द्र निर्माण गर्नु र त्यसको मुख्य नेतृत्व गर्नु ठुलै हिमालको आरोहणजस्तै थियो । उनले संयुक्त जनमोर्चा निर्माण गरेर जनआन्दोलन जारी राख्नु, संसदीय चुनावमा भाग लिनु र क्रान्तिको तयारी गर्नु विरोधाभाषी कुराजस्तै थिए ।
स्वदेशी र विदेशी प्रचण्डका आलोचकका लागि त यी महत्वपूर्ण विषय नै थिए । ३० वर्षे पञ्चायत ढाल्ने सन् ९० को जनान्दोलन स्थगित भएर आम चुनावको वातावरण बनिरहेका बेला चुनावको उपयोग नगर्नु जनतासँग भाग्नु हुन्थ्यो । जनआन्दोलान जारी राख्दै क्रान्तिको तयारी नगर्नु क्रान्तिसँग भाग्नु हुन्थ्यो । उनले दुबै चुनौतीको सामना गरे । आˆनो पार्टीलाई चुनाव मा होमे र संसदको मोर्चाबाटै क्रान्तिको तयारीको शंखघोष गरे । वाम र दक्षिण दुबै कोणका उनका आलोचकहरु अलमलमा परे । उनको राजनीतिक जीवनको पहिलो दशकको रुपान्तरण भएको धेरैलाई थाहै भएन ।
एकता केन्द्रको निर्माण गरिरहँदा संसदमा एक दर्जनले कराउने काम पूरा गरिसकेका थिए, देशका सबै शहरमा साना ठूला जुलुश गर्न सक्ने अवस्था बनिसकेको थियो, र सशस्त्र क्रान्तिको आवश्यकताको चेतना गाउँ गाउँमा फैलाउन जनवादी नाचगान गर्न सक्ने हैसियत भएको माओवादी आन्दोलनलाई सशस्त्र आन्दोलनमा परिणत गर्ने जोखिम उनले आˆना थोरै कमरेडहरुसँगै मोलेका थिए ।
प्रचण्डले बेलाबेलामा भन्ने गरेका छन् कि क्रान्तिको उद्घोष गर्दा मुस्किलले देशभर ७० जना थियौं । हजारको आसपास जनपरिचालन भयो होला । तर, यो संसार हल्लाउने संघर्ष सुरु भयो । १० वर्ष चलेको यो संघर्षले राजतन्त्रलाई घुडाँ टेकायो । दसौं हजारको बलिदानबाट मात्रै राजतन्त्रको अन्त्य भयो र गणतन्त्र नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री भए । उनले पहिलोपटक जनताको सर्वोच्चता प्रमाणित हुने गरी जननिर्वाचित सरकारका आदेश नमान्ने नेपाली सेनाका प्रमुखलाई बर्खास्त गर्ने आँट गरे । यो निर्णय उल्टाउने तत्कालीन राष्ट्रपतिको कदम विरुद्ध उनले राजीनामा दिएर स्वाभिमानी नेताका रुपमा आफूलाई दर्ज गरे । उनको राजनीतिक जीवनको दोस्रो दशकको रुपान्तरण यही बिन्दुबाट भयो ।
प्रचण्डको राजनीतिक जीवनको तेस्रो दशकको रुपान्तरण आजबाट भएको छ । उनले फुटेको पार्टीलाई जुटाए छन्, आन्दोलनको मैदानमा भएका र संविधानसभाबाट बनेको संविधानलाई स्वीकार गरिनसकेका आन्दोलनकारीलाई सहमतिमा ल्याएका छन् । र, चुनावमा खुम्चिएको उनको पार्टीलाइ देशको मुख्य नेतृत्व गर्ने स्थानमा पुर्याएका छन् ।
राणा शासन र पञ्चायती शासनको अन्त्य गर्ने आन्दोलनको नेतृत्व गर्ने लोकतान्त्रिक दल नेपाली कांग्रेसको समेत नेतृत्व गर्ने ठाउँमा उनले आˆनो पार्टीलाइ पुर्याएका छन् ।
तीन तीनपटक सरकार बनाउन समर्थन गरेको वामपन्थी दल नेकपा एमालेले आˆनै अहंकारका कारण प्रचण्ड नेतृत्वलाई स्वीकार गरेको छैन तर, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको दिन एमालेका शीर्ष नेताहरुले प्रचण्डको पक्ष लिएबाट उनी राष्ट्रिय सहमतिका नेता भैसकेका छन् । एक्ला उम्मेदवारका रुपमा उनी आज प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । अर्को कोही उम्मेदवार थिएनन् । तैपनि उनी सर्वसम्मत मानिएका छैनन् । उनको अबको राजनीतिक यात्राको लक्ष वैधानिक एवं सर्वसम्मत बन्ने र सिंगो देशलाई एकतावद्ध गरेर लैजाने हुनुपर्दछ । यसो गर्न सकेमा उनको राजनीतिक जीवनको चौथो दशकमा उनले देशको आर्थिक सवृद्धिको अभियानको पनि नेतृत्व गर्ने अवसर पाउने छन् ।
प्रधानमन्त्री पुष्पकमलका चुनौती
प्रधानमन्त्रीमा निर्वाचित भएका पुष्पकमल दाहालका अगाडि प्रधानमन्त्रीका रुपमा केही ठूला चुनौतीहरु छन् । उनले आफ्नो सम्बोधनमा भनेजस्तै सर्वप्रथम नवनिर्मित संविधानको सर्वस्वीकार्यता स्थापित गर्नु र कार्यान्वयनमा दक्षता देखाउनु । संविधान संशोधनसहित नयाँ संविधान कार्यान्वयनका लागि आवश्यक कानूनहरु निर्माण गर्दै संघीय गणतन्त्रको संस्थागत विकास गर्ने भूइँ तहका निर्वाचनहरु गर्ने वातावरण बनाउनु उनको मुख्य चुनौती हो ।
स्वर्गीय गिरिजाप्रसाद कोइरालाको निधनपछि उनले नेतृत्व गरिरहेको नेपालको बृहद शान्ति प्रक्रियालाई पूरा गर्न देशभित्र र अन्तराष्ट्रियरुपमा नेपालमा सबैखालका द्वन्द्वको समाधान भएको, मेलमिलाप एवं पूर्ण शान्तिको वातावरण निर्माण भएको विश्वास दिलाउन आवश्यक छ । यसका लागि सत्यनिरुपण तथा मेलमिलापको वातावरण बनाउन द्वन्द्वपीडितका घाउमा मलम लगाउन आवश्यक छ । यो नगरेसम्म उनको कार्यकाल सफल भएको मानिनेछैन ।
सरकारका दैनिक कार्यसञ्चालनमा जनजीविकाको मुद्दालाई समाधान गर्ने प्रयास गर्नु उनको अर्को चुनौती हो । विगतका द्वन्द्वपीडित, भूकम्प पीडित र बाढी पहिरो पीडितका समस्यामा सरकार एकाकार हुन सक्नु पर्छ । महंगी, भ्रस्टाचार र अनियमितता विरुद्ध लड्दै जनजीविकालाई सहज बनाउन कोसिस गर्नु ठुलै चुनौती छ । नयाँ लोकतान्त्रिक व्यवस्था भए पनि पुरानो कर्मचारीतन्त्रको रबैया फेरि पनि नयाँ सरकारको चुनौती बन्नेछ ।
माओवादी सुप्रिमो प्रचण्डका चुनौती
माओवादी सुपि्रमो प्रचण्डका चुनौती पनि आजबाट झनै थपिएका छन् । उनी प्रधानमन्त्री बनेपछि उनको ‘प्रचण्ड पहिचान’लाई पुष्पकमलमा मात्रै सीमित बनाउने काम उनका राजनीतिक सहयात्री दल र नेताहरुले गर्ने छन् । उनी प्रधानमन्त्री बन्नु ठुलो कुरा होइन । उनलाई संसदीय राजनीतिका सफल खेलाडीमा सीमित गर्ने प्रयास पनि भैरहनेछ । उनी जनताका नेता प्रचण्ड र सेवक प्रचण्ड बन्ने बाटो छाडेर संसदीय खेलाडी बन्ने दौडमा दौडिइरहे भने उनले आˆनो सम्बोधनको अन्त्यमा गरेको भावुक प्रस्तुति फिक्का हुनेछ ।
तर, उनको विगत तीन दशकको राजनीतिक यात्राको सकारात्मक समीक्षा गर्दा उनी खेलाडी भन्दा नेता र सेवक नै बन्नेछन् । उनी अहिले युद्धमा टाउकाको मोल तोक्नेहरुको हार्दिक समर्थन लिएर सरकारको नेतृत्व गर्दैछन् । दोस्रो संविधानसभा चुनावमा उनलाई जसरी पनि हराउने देशव्यापी बहिस्कार अभियानै छेडेको आफुसँग विभाजित टीमलाई एकतामा ल्याएर पार्टीको नेतृत्व गर्दैछन् । उनलाई जिताएको तर, उनीसँगै भएको महसुस नगरेको मधेसलाइ पछिल्लो शान्ति प्रक्रियामा ल्याएका छन् ।
माओबादी सुपि्रमो प्रचण्डको कुनैबेला भूमिगत नाम कामरेड विश्वास थियो । उनले अहिले नेपाली राजनीतिका विभिन्न आयामबाट प्राप्त गरेको यो विश्वास गुम्न नदिनु उनको सफलता हुनेछ । यो जोगाउनु उनको चुनौती हुनेछ ।
के अघिल्लो नियति नदोहोरिएला ?
देशका पाँचमध्ये तीन सम्माननीय आफैसँग राख्न सफल प्रचण्डको चौथो राजनीतिक दशकको सफलता हो । केही राजनीतिक विश्लेषकहरुले राष्ट्रपति अर्कै पार्टीसँग भएकाले अहिले पनि उनको अघिल्लो प्रधानमन्त्रित्व कालजस्तै घटना दोहोरिन सक्ने विश्लेषण गर्दैछन् । यो विश्लेषण अब पुरानो भैसक्यो । प्रचण्डको सेनाका सुपि्रमो नन्दकिशोर पुन पासाङ अहिले सम्मानीय उपराष्ट्रपति नन्दबहादुर पुन बनिसकेका छन् । र , नेपाली सेनाको उनी दोस्रो कानुनी संरक्षक हुन् । उनी विद्रोही नेता हुँदाका सत्तरीजना लडाकुलाई नेपाली सेनाले संबैधानिकरुपमा राष्ट्रिय सेनाका अधिकृतमा पदस्थापन गरिसकेको छ र १४ सय लडाकुहरु जवानका रुपमा राष्ट्रिय सेनाको अभिन्न अंग बनेका छन् । तिनै पूर्वलडाकुहरु यसै सातादेखि संयुक्त राष्ट्र संघअन्तर्गतको शान्ति सेनामा गएर विश्वशान्तिको झन्डामुनि आवद्ध भैसकेका छन् ।
नेपाली सेनाको सम्पूर्ण नेतृत्व र सिंगो संगठनले राजनीतिक क्रान्तिहरुको यति महत्वपूर्ण परिवर्तनलाइ साथ दिएको छ र आफैं पनि रुपान्तरित भएको छ । त्यसैले पनि प्रचण्डको नेतृत्वको यो सरकार अघिल्लो उनकै नेतृत्वको सरकारजस्तो हुने छैन ।
प्रचण्डकै आन्दोलनकी महिला योद्धा ओनसरी घर्ती सम्माननीय सभामुख बनेकी छन् । फुट, विभाजन, उनको पार्टीविरुद्धको घेराबन्दी, जनता र उनका समर्थकहरुको निराशा र कमजोर मनोविज्ञानले हारेको प्रचण्ड नेतृत्व र माओवादी आन्दोलन फेरि राष्ट्रको नेतृत्व गर्ने ठाउँमा पुगेको छ । यो विश्वभरिका क्रान्तिकारी र सच्चा लोकतन्त्रवादीहरुका लागि खुसीको समाचार हो ।
प्रचण्डको भावुकताभित्र कठोरताको परीक्षण सुरु
प्रधानमन्त्रीको एक्ला उम्मेदवारका रुपमा संसदमा बोलिरहँदा प्रचण्डले निवर्तमान प्रधानमन्त्रीका आरोपको प्रतिरक्षा गरेका छन् । चिन्ताहरुको सकारात्मक जवाफ दिएका छन् । र, कठोर प्रतिज्ञा पनि गरेका छन् । विनम्रतापूर्वक प्रतिपक्षको सल्लाह मान्छु भनेका छन् ।
सार्वभौम संसद अगाडि आमसञ्चार माध्यमबाट भएको जीवन्त प्रसारण अगाडि जनतासँग भावुक हुँदै आफ्नो राजनीतिक जीवनमा भएका उतार-चढावका कारण जनताले पाएको दुःखमा उनी झन् दुखी भएको आˆनो आँसुबाटै प्रमाणित गरेका छन् । र, अब जनताको सिपाहीका रुपमा बाँकी राजनीतिक जीवन सक्रिय बनाउने अठोट गरेका छन् ।
श्रमप्रतिको सम्मान बढाउने संस्कृति स्थापित गरेर बैदेशिक रोजगारीमा जोखिमपूर्ण काममा जाने युवा जनशक्तिलाई नेपाल फर्काउँदै नेपाली आमा बाहरुको मुहार हँसिलो बनाउने आश्वासन दिएका छन् । राष्ट्रियताप्रतिको आफ्नो प्रतिवद्धता दोहोर्याएका छन् । छिमेकी देशसँगको आˆनो देशको सम्बन्धलाई अझै मजबुत बनाउने प्रतिज्ञा गरेका छन् । प्रचण्डको सफलता पनि यसैमा छ कि देशभित्र आन्तरिक राष्ट्रियता बलियो बनाउँदै छिमेकीसँगको सम्बन्ध सन्तुलित बनाउनु ।
राज्य सत्तामा पुगेर पार्टी सत्ता र राज्य सत्ताको दुरुपयोग गर्ने गराउनेसँग बच्न सक्नु उनको सबैभन्दा ठूलो आन्तरिक र बाहृय लडाइँ हुनेछ । यो लडाइँमा जिते भने राजनेता बनिसकेका प्रचण्ड आधुनिक नेपाली राजनीतिका सबैभन्दा अग्ला पात्र हुनेछन् ।
विश्वकप जितेपछि खेलाडीले देशको शीर उच्चो त गर्छ, तर भोको पेटमाथि उभिएको उच्चो शीरभित्रको मस्तिस्कले फेरि यही प्रश्न गर्छ, कि सबै किसान खेलाडी भैदिए खेती कसले गर्छ ? नेपाली इतिहासको यो चरण मा सबै खेलाडीहरु किसान हुनुपर्ने छ । प्रचण्ड फेरि पनि कुशल संसदीय खेलाडी बन्ने दौडमा होइन, अब कुशल सिपाही, कालिगड र कुशल किसान बन्नुपर्नेछ ।
( धिताल माओवादी समर्थक हुन् )