तीज पर्वसँगै जोडिएर आउँछ दर खाने संस्कृति । तीजको अघिल्लो दिन दिदीबहिनीसँगै बसेर ‘दर’ खाने संस्कृति विस्तारै फेरिँदो छ। उहिले वर्ष दिनमा एक दिन खाइने दर अचेल करिब महिना दिन अघिजसो सुरु हुन्छ । चिनजान, आफन्तलाई बोलाएर दर खाने, रमाइलो गर्ने चलन बढेको छ । यो चलन सहर बजारमा झन् मौलाउँदो छ । महिलालाई वर्ष भेला हुने, रमाइलो गर्ने माध्यम पनि बन्दै आएको छ– दर । वास्तवमै दर के हो त ?मानवशास्त्री तथा नेपाली सामाजिक संस्कृतिका अध्येता सुरेश ढकाल दर खाने संस्कृतिलाई सामाजिक र प्राकृतिक सम्बन्धसँग जोडेर हेर्न आग्रह गर्छन् । उनका अनुसार दर खाने संस्कृति कृषि अर्थतन्त्र समाजमा आधारित छ । यो मूलतः नेपाली मध्यपहाडी संस्कृति हो । बर्खामा खेतीपातीलगायतका कर्म पूरा गरिसकेपछि शरीरका लागि आवश्यक पोषणपूर्ति गर्ने माध्यमको रूपमा दरको संस्कृति विकास भएको जिकिर उनको छ ।‘हरेक समाजले यस्ता आवश्यकताहरू पूरा गर्न विधि बनाएको हुन्छ, त्यो नै संस्कृति बन्नपुग्छ । दर कुनै धर्म विशेषको भन्दा पनि कृषि अर्थतन्त्रले निर्माण गरेको संस्कृति दर हो । यो पोषणपूर्ति गर्ने माध्यम हो’, उनले भने । ढकालको विचारमा यो प्रकृतिसँगको सामीप्यताको अभिव्यक्ति हो । दर खाने मौसम हरियो घाँसको मौसम भएकाले दुग्धजन्य पदार्थ बढी पाइन्छ । ‘त्यसैले दर भन्नासाथ दुग्धजन्य खाद्यान्न नै बुझिन्छ’, ढकाल तर्क गर्छन् ।ढकालको जस्तै तर्क छ लेखक सौरभको पनि । इतिहासबारे गहिरो बुझाइ राख्ने सौरभले आफ्नो पुस्तक ‘असहमति’मा दर खाने संस्कृतिको सुरुवात राईहरूबाट भएको तर्क गरेका छन् । दहीमा राखेर खाइने काँक्रालाई नै दर भनिएको त्यहाँ उल्लेख गरेका छन् । भन्छन्, ‘यो पूर्णतया नेपाली परम्परा हो ।’ सौरभ संस्कृतिमा हुने परिवर्तनलाई ध्यान दिन आग्रह गर्छन् । ‘हरेक संस्कृति फेरिन्छ, दरको पनि मौलिक स्वरूप फेरिएको छ’, उनको भनाइ छ ।साहित्यकार सरिता तिवारी भने यो संस्कृतिलाई सामाजिक सम्बन्धको आयामबाट पनि हेर्न सुझाउँछिन् । उनको विचारमा दर खाने संस्कृति महिलाको माइत जाने संस्कृतिसँग पनि जोडिएको छ । ‘कृषिप्रधान अर्थतन्त्रमा विशेषतः बुहारीहरूले घरमा स्वास्थ्यवद्र्धक खाना पाइरहेका हुँदैनथे, कामले थिचिएका हुन्थे’, तिवारी भन्छिन्, ‘बर्खाको काम सकेर वर्षदिनमा माइत जाने फुर्सद पाएका छोरीचेलीलाई पौष्टिक खानाले तंग्य्राउने उपाय दर थियो ।’समाज फेरिएको छ । सामाजिक सम्बन्ध र अर्थतन्त्र पनि फेरिएको छ । सँगसँगै दैनिक खाना पनि फेरिएको छ । अचेल पोषणको अपुग हुने सन्दर्भ लगभग हराइसकेको छ । तर, दर खाने संस्कृति झनै व्यापक बनिरहेको छ । दरको नाममा अहिले आधुनिक परिकार खाने चलन बढेको छ । चिल्ला, चिल्ला पीरा, मांसाहारी र अन्य पेयपदार्थसमेत तीजको दरखाने सूचीमा दरिएका छन् । के यो स्वास्थ्यवद्र्धक छ त ?डा. अरुणा उप्रेतीको विचारमा दरको नाममा खाइने आधुनिक परिकार स्वास्थ्यवद्र्धक छैन । ‘हाम्रो जीवनशैली फेरिएको छ, कम मेहनत पर्ने काम गर्छौं’, उप्रेती भन्छिन्, ‘तर स्वास्थ्यलाई हानि पु¥याउने खाना बढी खान्छौं ।’ उप्रेतीका अनुसार रङ हालेको मिठाई, चिल्लो खाना, बजारको पेयपदार्थ स्वास्थ्यवद्र्धक छैनन् । घरमै विभिन्न परिकार बनाएर खान सुझाव दिन्छिन्, उनी । घरमै परिकार बनाउँदा पनि कम चिल्लो बनाउन, कम खान ध्यान दिन अनुरोध गर्छिन् उप्रेती । चिल्लोपिरो खानाले मुटुरोगी र युरिक एसिडका बिरामी बढी समस्या परेको उनको अनुभव छ । एकदिन त हो नि भनेर खानेहरू तीजको अर्कोदिन उपचारका लागि भर्ना भएको उनको अनुभव छ । उप्रेती भन्छिन्, ‘दर खाने दिनको लागि मात्र नभई अरू दिनको इन्जोयको लागि पनि विचार गरेर खाऔं ।’
Source: http://www.annapurnapost.com/news/54832