CanadaKhabar.com

Thursday, December 26, 2024 -
  • बा र बाँदर

    “आज तिमेर्का बाले जंगलबाट बाँदर लेर आउने अरे ! अनि हाम्रा बाले दोख भगाउने अरे ! खुब रमाइलो हुन्छ । तँ छिटै आइज ल वर्षा ?” 

    मलाई दिउँसै भनेको थियो मिलनले । बा बाँदर लिन जंगल गएको कुरा थाहा पाएरै मेरो मनमा उत्सुकता जागिसकेको थियो । बाँदर र दोखको के सम्बन्ध छ भन्ने जान्ने मन पनि थियो ।

     

    ० ० ०

    राति पेट्रोम्याक्सको उज्यालोमा मिलनको घरको आँगन धपक्क बलेको थियो । धने काका पूजाको तयारीमा यताउता गरिरहेका थिए । उनले दिउँसै भगीरथ काकाको बारीबाट काटेर ल्याएको केराको पात भुुइँमा बिछ्याइसकेका थिए । त्यसमाथि दायाँतिर कलश र बायाँतिर दियो राखेका थिए । कलशमा सिमलीका सेउली पनि राखेका थिए । भलायाका तीनवटा किलामा काँचो धागो तीनतीन फन्का बेरेका थिए । त्यसमाथि बीचमा दियो र अन्य भागमा बज्रेढुंगो, दुम्सीको काँडा र पाँचका नोट पनि राखिसकेका थिए ।

    बज्रेढुंगोलाई देखाएर मिलनले मसित भन्यो, “बुझिस् वर्षा, यस्तो ढुंगो त चट्याङ परेको ठाउँमा मात्रै भेटिन्छ अरे ! अनि धामीले मात्रै भेट्छन् अरे !”

    त्यही बेला मिलनकी आमा हरिमाया काकीले केराका पातमाथि राखिएको नौ थुप्रा चामलमाथि स–साना बाबर र फूल पनि राखिदिइन् । मलाई बाबर साह्रै मीठो लाग्थ्यो । मेरा आँखा सबै कुरा छोडेर ती चामलका पीठाका सानासाना बाबरमा गएर अडिए । मैले घुटुक्क थुक निलेँ ।

    आँगनको डिलदेखि परचाहिँ कालो अँध्यारो थियो । आँखा तन्काएर निकै बेर हेर्दा पनि त्यहाँ केही देखिँदैनथ्यो । अँध्यारो नै मुछेर अग्लो पर्खाल लगाएको जस्तो लाग्थ्यो । त्यो रात आकाशमा तारा पनि थिएनन् । हिजो कति मीठो हावा चलेको थियो । तर, त्यति बेला भने एक मुठी हावा पनि चलेको थिएन । वरिपरिका रुखबिरूवाका पात पनि हल्लिएका थिएनन् । पर सपने खोलातिरबाट कुकुरहरुको आवाज मात्र आइरहेको थियो ।

    अँध्यारो, कालो रात, थोरै ठाउँलाई मात्र चहकिलो बनाएको पेट्रोम्याक्सको उज्यालो, आँगनको बीचमा बनाएको थानमा बलेको सिन्के धूपको कुहिरो । मिलनको आँगनको वातावरण एकदम अनौठो भएको थियो । त्यहाँ मजस्ता बालबालिका पनि जम्मा भएका थिए । ढ्यांग्राको आवाज र आवाजकै सुरमा कामिरहेका धने काका अनि उनकोे अचम्मलाग्दो वेशभूषाले गर्दा कोही डराइरहेका जस्ता थिए, कोही रमाइरहेका जस्ता देखिन्थे ।

    मलाई डरडर लागेर आयो । मैले डराएर फेरि कल्पनाको हात समात्न खोजेँ । तर, कल्पना त्यहाँ थिइन । तिलक दाजु पनि थिएनन् । मैले उनीहरू दुवैलाई आँगनको डिलभन्दा परको अँध्यारोतिर स्वाट्ट गएको र अँध्यारैमा हराएको देखिहालेँ । मैले उनीहरू कता र किन गए भन्ने खासै चासो राखिनँ । बरू मिलनको हात समातेँ र ढुक्क भएँ । मसँगै उभिएको भगीरथ काकाको छोरो अजयले पनि डराएर मेरो हात समात्यो । अजय मोटो र लड्डुजस्तो डल्लो ज्यानको भएकोले हामी सबै उसलाई लड्डु भन्थ्यौँ ।

    गणेश मन्दिरका पुजारी बित्ते बाजेका भाइकी छोरी शान्तिले लड्डुको हात समाती । 

     

    ० ० ०

    गाउँलेहरू कोही सिकुवाको किनारमा राखिएको खाटमा बसेका थिए भने कोही हरिमाया काकीले भुँइमा ओछ्याइदिएको गुन्द्रीमा ढसमस्स बसेका थिए । अबिर केशरी र अक्षताहरु जताततै छरिएका थिए । वातावरणमा सिन्के धूप र सालको खोटाको बास्ना फैलिएको थियो । तर, मलाई त्यो बास्ना मन परेको थिएन ।

    त्यही बेला धूपको कुहिरोलाई चिर्दै मेरा बा हस्याङफस्याङ गर्दै आइपुगेका थिए । बाले पिठ्युँमा जुटको असी किलो धान अट्ने बोरा बोकेका थिए । भोर्लाको लोक्ताले बोराको माझतिर कसिलो गरी बाँधिएको थियो । उनले आउनेबित्तिकै धने काकाको अघिल्तिर भुइँमा बोरा राखिदिए ।

    बाले मयल र पसिनाले कट्कटिएको थोत्रो आधा बाहुले कमिज लगाएका थिए । कमिज धेरै ठाउँमा उध्रिएकाले अस्तिमात्र कल्पनाले सिइदिएकी थिई । कमिजको अगाडिका दुइटा टाँक आधा फुटेका थिए । टाँकघरबाट टाँक खुस्केर उनको छाती ह्वांगै थियो । त्यसैले छातीको माथिल्लो भागका करङ सबै देखिन्थे । किल्किलेमुनि घाँटीमा गहिरो खाल्टो पथ्र्यो ।

    बाले दुवै घुँडामा कपडा मक्किएर भ्वाङ परेको कालो रङको पाइन्ट लगाएका थिए । त्यो कमिज र पाइन्ट चिनी काकाले आफूले कति वर्ष लगाएर बालाई दिएका थिए । खुट्टामा हात्तीछाप चप्पल लगाएका थिए । दुवै चप्पलका गेडी चुँडिएर पाटाको डोरीले बाँधेका थिए ।

    बाको निधार र कन्चटतिरबाट लगातार पसिनाको पातलो खोलो नै बगेको थियो । त्यो खोलो उनको मयल परेको गर्दनको बाटो हुँदै छाती र पिठ्युँतिर हराउँदै थियो । आँखाको अलिक तल दुवै गालामा कसैले चिथोरिदिएका जस्ता नंग्राका ताजा दाग थिए । तर, काममा सफल भएकोले होला– बालाई त्यो घाउको कुनै परवाह थिएन । अनुहारको कुनाकानीतिर समेत दुखाइको अलिकति अंश पनि थिएन । मेरा बाको अनुहारमा खुसी छाएको थियो । गमक्क परेका थिए उनी । खाल्टोभित्र भास्सिएका गोला आँखा अझै चहकिला भएका थिए । मेरा बा र उनले भर्खर भुइँमा राखिदिएको बोरालाई देखेर धने काका पनि आश्वस्त देखिन्थे ।

    मैले बुझिहालेँ । बाले बाँदरको टाउको ल्याएछन् । कसैले ल्याउन नसकेको बाँदरको टाउको खोजेर ल्याए । म ज्यादै खुसी भएँ । मेरा बा जति बहादुर यो संसारमा कोही छैन जस्तो लाग्यो । मैले बालाई निकै बेर हेरिरहेँ । 

    ठूला आँखा, चेप्टो परेको अनुहार, बाक्ला र लामा आँखीभौँ । दुवै आँखीभौँलाई जोड्ने ठाउँमा पनि बाक्लो रौँ पलाएको बालाई निकै सुहाएको थियो । सारै ठूलो पनि होइन, सानो पनि होइन, ठिक्कको नाक । देब्रे आँखाको अलिक तल कालो कोठी र कोठीभरि लामालामा रौँ पलाएका थिए बाका । हाम्रा बाका दाँत साह्रै मिलेका थिए । उनी हाँस्दा साह्रै राम्रा देखिन्थे । दसैँको टीकाको दिन लगाएको नयाँ लुगामा हाम्रा बा चिनी काकाभन्दा कम देखिँदैनथे ।

    बाले कहिलेकाहीँ हामीलाई आफ्ना बहादुरीका कथा सुनाउँथे । 

    “एकपल्ट पैँयावनको जंगल हुँदै खाडीभित्ता जाँदै थेँ । जंगलको माझतिर पुगेपछि ता कत्रो ठूलो भालु पो फुत्त मेरा अगाडि देखा परो हौ । उस्तै डरछेरूवा भको भा त हंसले ठाउँ छोड्ने थ्यो । तर, म अलिकति पुनि डराइनँ । एस्सो विचार गर्दागर्दै झम्टिन पो आई गो हौ तेस्को साँडे ता । मेरो पालो तेस्का गर्दनमै च्याप्प अँठ्यार जुरूक्कै उचालेँ । अनि, ला खा त भनेर बर्लंगै पछारेँ । तेस्का बाजे ता कति बल्यो हुँदो रछ भने ! झट्टै उठिगो । म पुनि के कम । तेस्का खुट्टा समातेर जुरूक्कै उचालेँ र फनफनी हावामा घुमार दश हात पर हुइँक्याई देँ । तेसपछि ता फर्केर हेर्दा पुनि नहेरी भागो ।”

    यस्ता थुप्रै किस्सा थिए उनीसित । हरेक किस्सा सुनाइसकेर उनी खितित्त हाँस्थे । बाको त्यही हाँसो साह्रै प्यारो लाग्थ्यो मलाई ।

     

    ० ० ०

    बाले बोकेर ल्याएको जुटको बोराभित्रबाट अनौठो आवाज आइरहेको थियो । मरेको बाँदरको टाउकाबाट कसरी आवाज आयो ? म छक्क परेकी थिएँ । मिलन पनि जिल्ल परेको थियो । हामीले एकअर्कामा मुखामुख गरेका थियौँ ।

    अँध्यारो रात । आँगनमा भइरहेको अचम्मको अनुष्ठान । त्यसभन्दा अघि धने काकाको आँगनमा यस्तो अनौठो अनुष्ठान देखेकी थिइनँ मैले । धने काकाले बेलाबेलामा अनौठो र नबुझिने मन्त्र फलाकिरहेका थिए । बस, मन्त्रको बीचबीचमा ॐ र फट् भनेको मात्र बुझिन्थ्यो ।

    बोराभित्रबाट आएको आवाज सुनेर म अघि नै डराइसकेकी थिएँ । त्यही बेला मेरो हात समात्दै कल्पनाले सम्झाई मलाई, “नडरा, बाले जिउँदै बाँदर समातेर ल्याए जस्ता छन् । मोच मार्न त मरेको बाँदरको टाउको मात्र भए पुग्छ भन्थे धने काका । बाँदर चैँ पाल्नलाई ल्याको जस्तो छ ।”

    कल्पनाले सम्झाएपछि अलिकति ढुक्क भएकी थिएँ म । 

    आफ्नै आँगनमा चिन्ता बसेर जोखाना हेर्दै गरेका धने काका बाले ल्याएको बोरालाई देखेपछि एकछिन रोकिए । निकै बेरदेखिको पूजापाठले धने काका थाकेका थिए । उनको शरीर पसिनाले लफक्कै भिजेको थियो । अनुहारबाट पसिनाका थोपा तप्पतप्प चुहिँदै थिए । उनको हातमा पुरानो ढ्यांग्रो थियो ।

    एकदिन बाले भनेका थिए, “बूढी बाख्रीको छालाले मोरेर बनाको ढ्यांग्रो पो हो त त्यो । गजो चीँ कुकुर डाइने लहराको हो । मैले आफुइँ जंगलबड ल्याइदेको । ढ्यांग्रो चीँ धने दाजुका पुर्खाकै हो । धने दाजुलाई उनका बाले मर्नुअघि देका अरे । भदौरे पुन्र्याका दिन दियोबातीसहित आफ्नो चेलो बनार ढ्यांग्रो जिम्मा लगाका थे अरे ।”

    “लच्छिनको ढ्यांग्रो हो । एसैले तेरो पेट पाल्छ धने ।” धनेका बाले एसो भनेका थे अरे । नभन्दै तेसै भको छ हौ । त्यै ढ्यांग्राले आज धने दाजुको परिवार पालेको छ । दुई सय वर्ष पुरानो अरे । दुई सय वर्षदेखि बजेको बजेई छ हौ त्यो ढ्यांग्रो ।”

    “आम्मै ! दुई सय वर्ष ?” म त जिल्लै परेकी थिएँ ।

    दुई सय वर्षअघि हाम्रो गाउँ कस्तो थियो होला ? दुई सय वर्षअघिका मान्छे कस्ता थिए होलान् ? कस्ता लुगा लगाउँथे होलान् तिनले ? दुई सय वर्षअघिका मान्छेले के खान्थे ? उति बेला चकलेट पाइन्थ्यो कि पाइँदैनथ्यो ? बजारमा जुलपी पाइन्थ्यो कि पाइँदैनथ्यो ? हाम्रो गाउँमा बेलटार थियो कि थिएन ? माथि आकाशमा चन्द्रमा र तारा देखिन्थे कि देखिँदैनथे ? भित्तेपैनीमा बाँदर आउँथे कि आउँदैनथे ? हाम्रो गाउँमा हात्ती आउँथे कि आउँदैनथे होला ? हाम्रो गाउँसँग हात्ती रिसाएका थिए कि थिएनन् होला दुई सय वर्ष पहिले ? मान्छेहरु हात्तीको दोख भगाउन धने काकाजस्तै चिन्ता बस्थे कि बस्तैनथे ?

    मैले धेरै प्रश्न गरेकी थिएँ बासित । बाले कुनै उत्तर दिएनन् । 

    “खोइ, मलाई सप्पै कुरो ता काँ था हुन्छ र ? मलाई पुनि केही था छैन हौ । इस्कुल जान पाको भा सप्पै कुरा था हुन्थो होला ।” बाले शिरको मैलो टोपी झिकेर घुँडामा राख्तै भने ।

    धने काकाले थानको एक छेउमा गाडेको भलायाको किलोमा ढ्यांग्रो अड्याए । एकपल्ट लामो सास ताने । मुखमा कति बेरदेखि कडा गन्ध आउने बलवान् छाप खैनी च्यापेका थिए । अल्लि पर सरेर पिचिक्क थुके र बातिर हेर्दै भने, “खोलाँ गर परपिसाच हटाउने काम पुनि अघि नै सक्केको । अब मोच मार्ने कामतिर लाग्नुपर्ने । खोलाँ मसान जगाउनु अघि नै आइपुग्छु भन्थिस् तँ । तेरा कुराँ लाग्या भा मसानले सप्पैलाई खाइसक्थो । धन्न खोलाघरे दाजुले परेवा ल्याइदे । परेवाको रगत तनतनी पिएपछि हात्तीगौँडाको दोख आफ्नो बाटो लागो । अब यो मोच मार्ने काम पुनि सक्यो भने ता हात्तीगौँडाबाट मरिगए पुनि दामाटारमा हात्ती छिर्नै सक्तैनन् हौ । दामाटारमा बसेको हात्ती बिच्क्याउने दोख पुनि भाग्छ । दोखले नबोलाएपछि कैल्यै हात्तीले हामीलाई दुःख दिँदैनन् ।”

    धने काकाले ठूलो आवाजमा त्यति बोलिसकेपछि एकपल्ट सबैतिर हेरेर गमक्क परे । मैले मिलनको कानमै मुख लगेर सोधेँ, “साँच्चै हाम्रो गाउँमा अब हात्ती आउँदैनन् हो ?”

    मिलनले ओठ लेप्य्राएर जवाफ दियो, “खै !”

    धने काकालाई ढ्यांग्रो ठटाएर काम्दै गरेको देख्ता नै मेरो सातो गइसकेको थियो । उनी आज अरू दिनभन्दा बेसी कामेका थिए । उनीसँगै कुकुर डाइने लहराको गजो पनि ढ्यांग्राको बीच भागमा उसै गरी नाचिरहेको थियो । उनी कोही बेला छिटोछिटो बजाउँथे अनि कोही बेला अलिक बिस्तारै बजाउँथे । त्यो रात ढ्यांग्रो ठोकेको आवाजले दामाटारका चराचुरूंगी, गाईभैंसी, खसीबाख्रा र हिलाका भ्यागुतासमेत जागै थिए ।

    धने काकाले सेतो लामो जामा, घाँटीमा दुइटा लामा–लामा रूद्राक्ष र घण्टीको माला दुवैतिर छड्के पारेर पहिरिएका थिए । शिरमा सेतो फेटा, त्यसमाथि रातो कपडामा मयूरको प्वाँख उनेको पगरी गुथेका थिए । निधारमा कालो टीका पनि लगाएका थिए ।

    धने काकाले जोखाना हेरेर कसैको घरलाई भूतप्रेतबाट रक्षा गर्न वा जंगली लाग्दा मोच मार्न बलेँसीमा मरेको बाँदरको टाउको गाड्न लगाउँथे । त्यस्तो बेलामा मरेको बाँदरको टाउको या कुकुर गाडेको ठाउँ खोतलेर कुकुरको खप्पर ल्याउने काम बाले गर्थे ।

    बाँदर लिएर ठूलो पुरूषार्थ गरेका मेरा बा सबैसित गफ लाउँदै थिए, “मरेको बाँदर खोज्न कम्ता गाह्रो भएन हौ एस्पालि । खोल्साखोल्सी सप्पैतिर गएँ । भिरपाखा कति कुदेँ कुदेँ । जंगलको भित्रभित्रै पसेँ । तर, मरेकै बाँदरको सुकेको टाउको ता कतै पुनि भेटिनँ । भीर खोल्साखाल्सी हिँड्दाहिँड्दा कम्ता गलिनँ हौ ।”

    उनले एकपल्ट सबैतिर नजर घुमाए । केके न बहादुरी गरेझैं गमक्क फुले र पातलो जुँगामा ताउ दिँदै भने, “अनि एस्सो विचार गरेँ । बाँदरको टाउको आखिर टाउकै हो । ल्याउनु ता परो नि जसरी भा पुनि । कालीखोले जङ्गल पस्तापस्तै एउटालाई ता समाइसक्या थेँ । तर अरू बाँदर आर मेरो जिउभरि चिथोरेर तेल्लाई छुटार लगिहाले । तेस्का बाजेले झन्डै मेरो आँखो फुटाल्देको । लात्तले भ्याट्टै पो हानो त आँखैमा । आँखो फुटो होला आज चीँ भनेर एकछिन ता तिरीमिरी झ्याइँ देखेँ नि हौ । अनि एउटा दाउरो टिपेर तेस्का बाजेलाई हान्न खोजेको साँडे एकैपल्टमा रुखका टुप्पैमा पुगिहालो नि । अब के गरुँ भनेर एसो विचार गर्दै थेँ । जमुनाका हाँगाबड फुत्त यो च्याँसे मेरै अगाडि हाम फालो । के के जुक्ति लार भा पुनि एल्लाई ता लुकार ल्याएँ हौ ।” 

    बाको कुरा सुनेर भगीरथ काका मुसुमुसु हाँसेर पत्याएजस्तो गरे । तर, चिनी काकाले भने बाका कुरा पत्याएनन् । उडाए बालाई ।

    “यो जगतेले बाँदर त होइन, कतैबाट कुखुरो चीँ समातेर ल्याको होला । कम्ताको गफाडी छ यो ? नभा नभाको गफ लाउँछ । अरू बेला पुनि मुसो मा¥यो भने बाघै मारेजस्तो गफ दिन्छ ।”

    सबै गलल्ल हाँसे । मेरा बालाई हाँसोमा उडाएको मलाई पटक्कै मन परेन । मलाई त्यति बेला बालाई गिज्याउने सबैको मुख चिथोरिदिउँजस्तो लागेको थियो ।

    निकै फुरूक्क परेका थिए बा । हाँस्तै बोरा खोले । सबैका आँखा उनीतिरै सोहोरिएका थिए । उनले बोराभित्र हात छिराए । बोराभित्रबाट एउटा बाँदर निकाले । त्यो निकै आत्तिएको थियो । म पनि आत्तिएँ । मैले देखेँ त्यो बाँदर एकदम सानो थियो । पाटाको सानो डोरीले त्यसको हात खुट्टा बाँधिएको थियो । बाले बाँदरलाई भुइँमा राखिदिए । त्यो सानो बाँदरले हामी सबैलाई टुलुटुलु हेरिरह्यो । त्यसका आँखाबाट आँसु बगेजस्तो लागिरहेको थियो मलाई । मलाई पनि रोऊँरोऊँ लाग्यो । मन कटक्क काटियो ।

    “अरू बेला भको भा मरेकै बाँदरको टाउको गाड्नु पर्थो । तर एसपालि जिउँदैको बलि दिन लेख्या रछ । लेखेकै कुरो ता कल्ले टाल्न सक्छ । अब एति गरिसकेपछि बाँदरको टाउको नगाडेसम्म साधना पूरा नहुने भो । अब एल्लाई ईः याँ अचानामा राखेर बलि दिनुपर्छ ।”

     

    ० ० ०

    मैले त्यसपछिको दृश्य हेर्नै सकिनँ । 

    म एकचोटि चिरिर्र चिच्याएँ र बेहोस भएर त्यहीँ ढलें । 

    (सुवेदीको दोस्रो उपन्यास ‘इति’ भदौ ३० गते बिहीबार विमोचन हुँदैछ । यो पुस्तक अक्षर क्रियसन्सले प्रकाशन गरेको हो ।)

     

    Source: http://www.baahrakhari.com//news-details/4714/2016-09-03