काठमाडौंः यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले हरियो नम्बर प्लेटका सवारीसाधनले गैरपर्यटक बोक्न नपाउने बताएका छन् ।
पर्यटन पत्रकार संघ (जाट) नेपालले राजधानीमा आयोजना गरेको फेस टु फेस कार्यक्रममा महानिर्देशक श्रेष्ठले पर्यटक र गैरपर्यटकको स्पष्ट पहिचान गरी सवारीसाधनमा आवतजावत गराउनुपर्ने बताएका हुन् ।
पर्यटक गाडीले पर्यटकमात्रै बोक्न पाउने भएकोले गैरपर्यटक बोक्नै नहुने उनको बुझाइ छ । विदेशी तथा स्वदेशी कस्तो प्रकारको पर्यटक हो त्यो परिभाषित हुनुपर्ने धारणा श्रेष्ठको छ । ‘हरियो सवारीसाधनमा चढेर स्वदेशी पर्यटक नेपालका जुनसुकै पर्यटकीय गन्तव्यमा पनि जान पाउनेछन्, स्पष्ट परिभाषा भने हुनुपर्छ’, श्रेष्ठले भने ।
सवारी तथा व्यवसाय ऐन २०४९ ले निजीले पर्यटकलाई भाडामा बोक्न पाइँदैन भनेर स्पष्ट व्यवस्था गरेकोले सोहीअनुसार नभए कारबाही हुने दाबी पनि श्रेष्ठको छ । बिहान बेलुका झोला बोकेर हिँड्ने मानिस पर्यटक नहुने भन्दै उनले भने, ‘ससुराली जाँदा नि पर्यटक हुने, मावली जाँदा नि पर्यटक भन्नेचाहिँ हुँदैन ।’ विभागले छिट्टै व्यावसायिक सवारी र निजी सवारीमात्र भनेर दर्ता गर्ने व्यवस्था गर्न लागेको उनले बताए । त्यसपछि यी विषय अन्त्य भएर जाने उनको बुझाइ छ
कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशीले घरबाट निस्केर गन्तव्यतर्फ जाने र केही पैसा खर्च गर्ने व्यक्ति पर्यटक भएको बताउँदै गन्तव्यको छविमा नकारात्मक असर गर्ने गरी निर्णय नलिन सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
नाट्टाका अध्यक्ष मधुसुदन आचार्यले राज्यलाई पर्यटन उद्योग नचाहिने हो भने बन्द गरिदिन आग्रह गरे । उनले भने, ‘राम्रोसँग सञ्चालन गर्ने हो भने आवश्यक नीति लिन जरुरी छ । कुनै विज्ञप्ति निकाल्नुभन्दा अगाडि त्यसबारे गहन अध्ययन गर्नुपर्ने आचार्यको भनाइ छ ।
विभिन्न बहानामा पर्यटन व्यवसायमा नकारात्मक प्रभाव पर्ने गतिविधि नगर्न सरकारी निकायहरूलाई पर्यटन व्यवसायीले आग्रह गरेका छन् ।
यातायात विभागलाई सवारीसाधनको अवस्था र चालकलाई कसरी अनुशासनमा ल्याउने भन्नेबारेमा ध्यान दिन आग्रह गर्दै आचार्यले दुर्घटनासँग जोडेर पर्यटनको सिजनमा ऐनमा टेकेर चलखेल गर्ने काम बन्द गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
टुरिस्ट बस एसोसिएसन अफ नेपालका अध्यक्ष श्रीकान्त आचार्यले गैरपर्यटक भनेर त्यसको परिधि के हो भन्नेबारे स्पष्ट पारिदिन सरकारसँग माग गरे । नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष सांगे लामाले सिजनका बेला हरियो प्लेटका सवारीसाधनले सबै पर्यटकलाई बोक्न नसक्ने कारण निजी सवारीसाधनसमेत प्रयोग गर्नुपरेको भन्दै व्यावहारिक कठिनाइ बुझिदिन राज्यसँग आग्रह गरे ।
टानका महासचिव कर्ण लामाले पर्यटन सवारीसाधनको अभाव भएका समयमा रातो नम्बर प्लेटको गाडी सञ्चालनमा ल्याउन पाउनुपर्नेमा जोड दिँदै आन्तरिक पर्यटकका लागि डि-टिम्स लागू गर्न सकिने धारणा राखे । सोट्टो–नेपालका अध्यक्ष यमबहादुर खड्काले पर्यटक बसलाई एम्बुलेन्ससरह सुविधा उपलब्ध गराउन माग गरेका थिए ।
जाट नेपालका अध्यक्ष देवीप्रसाद पन्तले पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने गतिविधि नहोस् भन्नेतर्फ सबै सचेत हुनुपर्ने बताए ।
Source: http://www.annapurnapost.com/news/54846