कक्षा ७ मा पढ्ने छोराले एक दिन सोध्यो, ‘कक्षा ६ मा पढ्दा फूल, ठूलो, तीन जस्ता शब्द दीर्घ थिए । कक्षा ७ मा आउँदा किन ह्रस्व भए बाबा ? सरलाई सोधेको जवाफ नै दिनु भएन ।’ जवाफ त मसँग पनि थिएन । नयाँ बानेश्वरको एउटा चिया पसलमा प्लस टुका केही विद्यार्थी आफ्नै तालमा गफ गर्दै थिए, ‘हाम्रो नेपाली मास्टर हावा छ यार ।
ह्रस्व दीर्घ पढाउनै जान्दैन । कुन ठीक भनेर सोध्यो भने दुवै ठीक भन्छ ।’ मन चसक्क भयो । लाग्यो, यिनीहरू मलाई नै गाली गर्दैछन् । नेपाल प्रहरी स्कुल साँगाको मूल प्रवेशद्वारनजिकै राखिएको साइन बोर्ड खुइलियो । साइन बोर्डमा लेख्नुपर्ने ‘विद्यालय’लाई अब कसरी लेख्ने ? ‘विद्यालय’ या ‘विद्यालय’ ? भाषाका डासा (डाक्टर साप) हरूसित सम्पर्क गर्दा निष्कर्ष निस्कियो – जुन लेख्दा पनि हुन्छ । मनमा उब्जेका प्रश्नको धारले आफैंलाई झटारो हान्यो– दुवै ठीक हुने भए परिवर्तन किन गरेको ?
यस्ता केही विवाद छँदै थिए । त्यसमाथि भाषाका हाम्रा केही डाक्टरलाई सर्जनले बिरामी चिरेजस्तै चिरफार गर्ने रहर लागेछ क्यारे । तर, चिर्नु पो के र ? आफ्नै अंग चिर्न भएन । कटारी, खुँडा, बन्चरो, तरबार, खुकुरी सबै एकैचोटि प्रहार गरेर नेपाली भाषा चिर्न थाल्नुभयो । विचरा अक्षरहरू खुट्टा काटिएर रक्तमुछेल भए । नपत्याए प्रज्ञाको नयाँ शब्दकोश, पाठ्यक्रम विकास केन्द्रको कक्षा ७, ८, ९ र साझाको ११ कक्षाका नेपाली किताब अनि केही अखबार हेर्नुहोस् ।
‘नेपाली भाषा बचाऔं अभियान’ र सामाजिक सञ्जालका पोस्टहरूमा हेर्नुहोस् । त्यहाँ घाइते र अर्धमर्छित अक्षरहरू छटपटाइरहेको पाउनुहुनेछ । भाषालाई विचारको पोसाक भनिन्छ तर भाषालाई नै किन नांगेझार पारिँदैछ ? आखिर किन यतिविधि खेलवाड हुँदै छ नेपाली भाषामाथि ? भाषाका यी महान् परिवर्तनकारीहरूको तर्क छ— नेपाली भाषा पढ्न, पढाउन अनि बुझ्न, बुझाउन गाह्रो भयो । त्यसैले सरल पारेको ।
यस्ता (कु)तर्कहरूको घोडा चढेर आज नेपाली भाषाको चीरहरण गर्ने काम भएको छ । यो तर्कविहीन परिवर्तनविरुद्ध बौद्धिक जगत्मा व्यापक बहस र परिचर्चा हुन थालेका छन् । विरोधका गगनभेदी स्वरहरू चौतर्फी रूपमा उठिरहेका छन् । भाषा परिवर्तनका हिमायतीहरू भने ‘दुईचार जनाको भीडले भन्दैमा केही हुँदैन, हामीजस्ता विद्वान्को शब्द ढुंगामा खोपेको अक्षर हो, अरूले अरण्य रोदन गर्नुको तुक छैन, अखबार र सडकमा कोकोहोलो मच्चाउनुको कुनै अर्थ छैन’ जस्ता तर्कविहीन अभिव्यक्तिहरू पोखिरहनुभएको छ ।
पछिल्लो नियम मान्ने हो भने ‘प्रधानमन्त्री’लाई पर्धान्मन्तरि, ‘गृहमन्त्री’ लाई ‘गिर्हमन्तरि’ लेख्नुपर्ने हुन्छ । त्यस्तै ‘प्रधान सम्पादक’ – ‘पर्धान्सम्पादक्’ बन्छ भने ‘पत्रकार’ – ‘पत्रकार’ । नेपाली भाषाबारे सामान्य ज्ञान राख्ने र त्यही भाषाका माध्यमबाट मास्टरी गरी पेट पाल्ने मजस्तो साधारण मानिसलाई पनि चित्त बुझाउन नसक्ने आधारहीन ‘परिवर्तन’ को के अर्थ ? किन स्वीकार्नुपर्ने हामीले ? के सत्ताशक्तिको नजिक भएको एउटा झुण्डले गरेको निर्णय नै सर्वसत्य र सर्वोपरि हुने हो ?
मेरो आग्रह छ— बलमिच्याइँ गरेर भाषामाथि खेलवाड नगरियोस् । हो, भाषा परिवर्तनशील छ । त्यसो त भनाइ नै छ— खोला तरेपछि घाँटी बटारिन्छ । स्थान र समयसँगै भाषा फेरिँदै जान्छ । तर यो परिवर्तन कसैको सनक र रहरमा भने हुँदैन । अर्कोतर्फ भाषा केवल अक्षर र शब्दको गठजोडमात्र होइन; यो इतिहास, संस्कृति र पहिचानसित गाँसिएको हुन्छ । बोल्ने, लेख्ने र प्रयोग गर्ने क्रममा भाषा आफैं परिवर्तन भएर आउने कुरा हो ।
यस्तो परिवर्तन समयसंगत, तर्कसंगत र सर्वस्वीकार्य हुन्छ । केही ‘शक्तिसम्पन्न’ व्यक्तिहरूको समूहले निहित गरेको जबरजस्त परिवर्तन आफैंमा मान्य हुँदैन । त्यस्तो परिवर्तन बाध्यकारी भएर लागू हुन सक्ला । तर, बाढीमा बाटो बिराएको नदी हिउँदमा पुरानै बाटोमा फर्केजस्तै जबरजस्त गरिने परिवर्तन अमान्य हुन्छ । केवल समय, स्रोत र शक्तिको खर्चमात्र हुन्छ । त्यसैले विसं २०६९ साउन २३ गते तत्कालीन माननीय शिक्षामन्त्रीज्यूको हस्ताक्षरसहित ‘संयुक्त अक्षरलाई खुट्टो काटेर लेख्नका लागि दिइएको आदेश’लाई तुरुन्त खारेज गर्नुको अर्को विकल्प छैन ।
यो तथाकथित परिवर्तनबारे बजारमा नानाभाँतीका आशंका पनि पोखिन थालेका छन् । कतै यो नेपाली भाषालाई समाप्त पार्न पर्दापछाडिबाट खेलिएको खेल त होइन ? यो सन्दर्भमा एउटा लोकोक्ति पनि स्मरण भएको छ । ‘पहिला मृगको सिकार गर्न सिंह आफैं आउँथ्यो । अहिले मृगको सिकार गर्न सिंहले मृगलाई नै पठाउँछ रे ।’ कतै हाम्रा भाषाका डासाहरू भाषाविद्को भेषमा भाषाकै सिकार त गर्दै हुनुहुन्न ?
भाषा र आमा उस्तै हुन् । भाषा विचार आदानप्रदान गर्ने परम्परित र प्रचलित माध्यम हो । भाषा सामाजिक सम्पर्कको माध्यम हो । यसको सम्बन्ध भावसित हुन्छ । सबैलाई ज्ञात नै छ— नदी समुद्रतिर बग्छ, भाषा सरलतातिर । त्यसैले त भाषा परिवर्तनशील हुन्छ । भाषा कसैले नियम बनाएर, दण्ड तोकेर या निर्देशन गरेर परिवर्तन हुने विषय होइन । भाषालाई जबरजस्ती परिवर्तन गरी लाद्न खोजियो भने त्यो विस्फोटक हुन्छ ।
भाषा र आमा उस्तै हुन् । भाषा विचार आदानप्रदान गर्ने परम्परित र प्रचलित माध्यम हो । भाषा सामाजिक सम्पर्कको माध्यम हो । यसको सम्बन्ध भावसित हुन्छ । सबैलाई ज्ञात नै छ— नदी समुद्रतिर बग्छ, भाषा सरलतातिर ।
जसरी नदीको बहाव रोक्न खोज्दा वा परिवर्तन गर्न खोज्दा त्यसले डुबान, कटान र विपत्ति निम्त्याउँछ, त्यसैगरी भाषाले पनि सुरुमा समस्या निम्त्याउँछ अनि पछि आफैं समस्यामा पर्छ । अहिले नेपाली भाषाले त्यस्तै दुर्दशा भोग्दैछ ।
नेपालमा ०६२/६३ को राजनीतिक परिवर्तनपछि समाजका अनेक तह र तप्कामा परिवर्तन अपेक्षित थियो । सायद त्यही भएर ‘भाषाविद्’मा पनि परिवर्तनको भूत सवार भयो । परिवर्तनका नाउँमा भाषालाई गिँडेर, ठुन्क्याएर, भाँचेर कुरूप पारिएको छ । श, ष आउने सबै आगन्तुक शब्दमा ‘स’ प्रयोग गर्ने र इकार उकारमा पनि ह्रस्व प्रयोग गर्ने नियम बसालियो । त्यही मान्यताले शहीद पातलिएर सहिद भयो । शहर दुब्लाएर सहर भयो ।
क्षतिपूर्ति दीर्घीभवनको प्रावधान हटाउनेभन्दा बगैंचाको फूल कुखुराको फुलमा परिवर्तन भयो । चार अक्षरभन्दा बढीका समस्त शब्दलाई एउटै डिकोमा नलेख्ने भनियो । व्यञ्जनान्त दुई अक्षरी वा सोभन्दा बढी अक्षरका नामयोगीलाई पनि छुट्टै लेख्ने भनियो । त्यसैकारण अनुसार, अनुरूप, बमोजिम, बाहेक आदिलाई पदवियोग गर्न भनियो ।
त्यसमाथि पछिल्लो समयमा थोपरिएको संयुक्त अक्षरलाई खुट्टो काटेर लेख्नुपर्ने निर्णयले नेपाली भाषामा लेखपढ गर्ने शिक्षक, विद्यार्थी, लेखक, पत्रकार, कानुन व्यवसायी, प्रकाशक आदिलाई असर पर्न थालेको छ । नेपाली भाषासित जोडिएको सिंगो वाङ्मय र संस्कृतिमाथि नै यसले प्रहार गरेको छ । गर्न त यहाँ खुट्टो काट्ने निर्णय गरिएको हो तर यसले भाषाको शिर काट्दैछ ।
Source: http://www.annapurnapost.com/news/54849