- बाह्रखरी
- २०७३ भदौ १८ शनिबार ०९:१५:४६
स्थगित भयो भने
सपना के हुन्छ ?
के त्यो घाममा सुकाएको
किसमिसजस्तै
चाउरिन्छ ?
कि घाउजस्तै पाक्छ र पिप बग्दछ ?
कि सडेको मासुजस्तै गन्हाउँछ ?
कि हुनेछ मिठाईमा जमेको चिनीको पाप्रो जस्तै ?
शायद त्यो गह्रौँ भारीजस्तै
बिस्तारै घस्रिन्छ ?
कि त्यो विस्फोट हुन्छ ?
(स्थगित भयो भने सपना के हुन्छ)
– ल्याङ्स्टन ह्युज
सपना स्थगित भयो भने त्यसको परिणाम पक्कै पनि राम्रो आउँदैन । लाखौँ अफ्रिकी–अमेरिकी नागरिकहरूको सपना बारम्बार स्थगित गराइयो । अब्राहम लिंकनको पालामा देखाइएको सपनाले आज बाराक ओबामाको समयमा आइपुग्दा पनि पूर्णता पाएको छैन । अझ पनि अफ्रिकीमूलका अमेरिकी नागरिकहरूले विभेदको सिकार हुनुपरेको छ । त्यसो त वर्तमान राष्ट्रपति ओबामा अफ्रिकी मुलककै प्रतिनिधित्व गर्छन् । तर, पनि स्वतन्त्रता र समानताको जति नै चर्का कुरा गरे पनि अमेरिकी समाज अहिले पनि रगंभेद र पूर्वाग्रहबाट ग्रसित छ ।
सन् १९०२ मा अमेरिकाको मिसौरीमा जन्मेका ल्याङ्स्टन ह्युजले सानै उमेरमा नै आमाबुबाबाट टाढा रहनुप¥यो । उनी सानै छँदा नै उनको आमाबुवाको डिभोर्स भएको थियो र बुबा मेक्सिको गएका थिए । उनी १३ वर्षको उमेरसम्म आफ्नी हजुरआमासँग बसे । त्यसपछि उनी आफ्नी आमा र उनको श्रीमान्सँग बस्न इलिनोइस सरे । उनले इलिनोइसको लिंकनमा रहँदा नै कविता लेख्न सुरु गरेका थिए । उनी कलेज सकिएपछि एक वर्ष बुबाका साथ मेक्सिको बसे । त्यस समयमा उनले विभिन्न कामहरू गरे । उनले सहायक कुक, धोबीका साथै बसमा सहचालकको काम पनि गरे । उनले पानीजहाजमा काम गर्नुका साथै युरोप र अफ्रिकाका विभिन्न ठाउँहरू घुम्ने मौका पाए, जसले उनको लेखनलाई परिष्कृत गर्न सघाउ पुग्यो । सन् १९२४ मा वासिङ्टन सरेका ह्युजले सन् १९२६ मा पहिलो कविता संग्रह ‘द वेरी ब्लुज’ प्रकाशित गरे । सन् १९२९ मा लिंकन विश्वविद्यालयबाट आफ्नो पढाइ पूरा गरेका उनको पहिलो उपन्यास ‘नट विदाउट लाफ्टर’ १९३० मा प्रकाशित भएको थियो ।
अग्रज कविहरू पल लरेन्स डन्बार, कार्ल स्यान्डबर्ग तथा वाल्ट ह्विटम्यानबाट प्रभावित भएका ल्याङ्स्टन ह्युजले सन् १९२० को दशकदेखि १९६० को दशकसम्मको अफ्रिकी–अमेरिकी नागरिकहरूको जीवनलाई फरक किसिमले प्रस्तुत गरे । खासगरी उनी कविताबाटै चिनिए पनि उनले कथा, नाटक र उपन्यास पनि लेखेका छन् । १९२० मा अफ्रिकी अमेरिकी कला, साहित्य तथा संस्कृतिको उत्थानका लागि सुरु भएको हार्लेम पुनर्जागरणमा उनको मुख्य भूमिका थियो । प्रसिद्ध अश्वेत कविहरू क्लाउड म्याक्के, जिन टूमर र काउण्टी कलेनले झैँ उनले पनि आफ्नो व्यक्तिगत अनुभव र समग्र अफ्रिकीहरूको अनुभवलाई नछुट्याइकन प्रस्तुत गरे । उनले आफ्नो समुदायको वास्तविक संस्कृति, ज्याज संगीतप्रतिको झुकावका साथै पीडा र खुसीका कुरा यथार्थ रूपमा प्रस्तुत गरे । समीक्षक डोनाल्ड बी गिब्सन उनको लेखनशैलीको प्रशंसा गर्दै भन्छन्, “अरु अग्रज कविभन्दा पृथक ढंगले ह्युजले आफ्ना कविता आफ्नै समुदायका लागि लेखे । २० को दशकमा धेरै अमेरिकी कविहरू सानो बौद्धिक जमातले मात्रै बुझ्ने खालका जटिल विषय र जटिल भाषामा कविता लेखिरहेको समयमा र कविताका पाठक घटिरहेको समयमा ह्युजले सबैले बुझ्ने किसिमको भाषा, विषयवस्तुहरू प्रस्तुत गरे । आफ्नो जीवनभर उनले आफ्ना सन्देश रोचक, रमाइलो र गम्भीर रूपले प्रस्तुत गर्नुका साथै अरु अमेरिकी कविले भन्दा धेरै पाठकले पढ्न सक्ने खालको कविता लेखे ।”
ल्याङ्स्टन ह्युजको ‘लेट अमेरिका बि अमेरिका अगेन’ (अमेरिकालाई फेरि अमेरिका हुन देऊ) कविताका लाइन सन् २००४ मा अमेरिकी राष्ट्रपतिका उम्मेदवार बनेका जोन केरीले पनि प्रयोग गरेका थिए । उनले ह्युजको कविताको पहिलो दुई लाइनलाई चुनावी नारा नै बनाएका थिए ।
अमेरिकी कविहरू वाल्ट ह्विटम्यान, इमिली डिकिन्सन, रोबर्ट फ्रस्टसँगै ह्युजको नाम पनि अमेरिकी कविताका क्षेत्रमा अग्रपंक्तिमै आउँछ । तर, पनि उनका कविताले अन्य कविका कविताले जस्तो चर्चा र सम्मान पाएनन् तत्कालीन समयमा । उनी अश्वेत भएकै कारण उनका रचनाहरू समिक्षकहरूका नजरमा परेनन् वा नजरअन्दाज गरियो ।
हार्लेम पुनर्जागरणमा अग्रणी भूमिका खेलेका उनी अफ्रिकी–अमेरिकी लेखक कलाकारहरूका लागि फादर फिगरका रूपमा थिए÷छन् । सन् १९५१ म जेम्स बाल्डविनले ह्युजका बारेमा भनेका छन्, “प्रत्येक पटक जब म ह्युजलाई पढें, म उनका अद्भूत प्रतिभा देखेर पटक–पटक अचम्मित भएँ र निराश पनि किनकि उनले आफ्नो प्रतिभाको पूरै प्रयोग गरेका रहेनछन् ।”
समीक्षक सान्ड्रा गोभानका विचारमा ह्युजलाई उनका समकालीन श्वेत लेखकहरूको स्थानमा राखेर कहिल्यै हेरिएन । उनी भन्छिन्, “ल्याङ्स्टन ह्युजलाई कहिल्यै पनि अमेरिकी आधुनिक कवि तथा आख्यानकारको रूपमा हेरिएन । उनलाई विषयसूचीमा मात्रै त्यो पनि अरु अफ्रिकी–अमेरिकी कविहरूसँगै राखियो वा हार्लेम पुनर्जागरणसँगै मात्रै जोडेर हेरियो ।” अश्वेत भएकै कारण मूलधारको अमेरिकी साहित्यले उनलाई अवमूल्यन गरेको थियो ।
सन् १९३२ मा प्रकाशित कविता ‘गुडबाइ क्राइस्ट’ निकै नै विवादित बन्न पुगेको थियो । यस कवितामार्फत तत्कालीन अमेरिकी परिवेशमाथि ह्युजको दृष्टिकोण बुझ्न सकिन्छ । उनले यस कवितामार्फत आफ्नो राजनीतिक विचारधाराका साथै आक्रोश पनि पोखेका छन् ।
सुन क्राइस्ट !
तिमीले तिम्रो पालामा राम्रै गरेका थियौ
तर, ती दिनहरू गए अब
तिम्रो आत्मालाई तिनीहरूले एउटा कथा बनाए
र, बाइबल नाम दिए
तर यो अहिले मरिसकेको छ
पोप र पादरीहरूले यसबाट कमाउनु कमाए
तिनीहरूले तिमीलाई धेरै राजा, जर्नेल, चोर र हत्यारा
जारहरू र कोजाकहरूलाई समेत बेचे ।
(गुडबाइ क्राइस्ट)
यो कवितामा ह्युजले क्रिश्चियन धर्मलाई प्रहार गरेका छन् । उनको तर्क छ, यदि बहुसंख्यक अमेरिकीहरू आफूलाई क्रिश्चियन ठान्छन् भने किन तिनीहरू दमन र पीडाको मूकदर्शक बनेर हेर्छन् ? कविता लेखिएको समयमा सोभियत संघमा समाजवादले काम गरिरहेको थियो भने अमेरिकामा भने मानिसहरूको धर्मप्रतिको विश्वास टुट्दै गएको थियो । समाज सुधार्न ठेक्का लिएका धार्मिक संस्थाहरू पूर्ण रूपमा असफल भएका थिए ।
उनले अमेरिकी नागरिकहरूलाई माक्र्सवादी र साम्यवादी सिद्धान्तप्रतिको दृष्टिकोणलाई बदल्न आग्रह गरेका छन् । उनले कवितामा भनेका छन्,
अलबिदा !
क्राइस्ट, जिसस, भगवान, परमेश्वर, यहोभा
तिमी यहाँबाट अहिल्यै खुरुक्क गइहाल
र खाली गरिदेऊ बाटो एउटा नास्तिकका लागि
साम्यवादी माक्र्स, लेनिन, किसान, स्टालिन र
म कामदारका लागि ।
(गुडबाइ क्राइस्ट)
ह्युजले यो कवितामा मानिसहरूले धर्ममा भन्दा पनि कर्ममा विश्वास गर्नुपर्ने बताएका छन् । उनले धर्मगुरुहरूले समाजलाई सही बाटोमा हिँडाउन सक्षम नभएको र आत्मकेन्द्रित भएको आरोप लगाएका छन् । यो कविताले ह्युजलाई विवादितमात्रै बनाएन, उनीमाथि पटक–पटक आक्रमण पनि भयो । सन् १९४० नोभेम्बर १५ मा उनी आफ्नो संस्मरण ‘द बिग सी’को विमोचन कार्यक्रमका लागि होटलतर्फ जाँदै थिए, त्यति नै बेला उनीविरुद्ध चर्का–चर्का नारा घन्किन थाले । उनको नाम लेखिएका प्लेकार्ड र ब्यानरहरू जलाइए । सडक नै अस्तव्यस्त हुने गरी जुलुस नै निस्कियो । ट्रकमा ठूला–ठूला साउन्ड बक्स लगाएर ‘भगवानले अमेरिकाको कल्याण गरून्’ नारा बजाइयो । ‘शतप्रतिशत अमेरिकी’ लेखिएका प्लेकार्डहरू प्रदर्शन गरियो र अश्वेत अमेरिकीहरूलाई पूर्ण रूपमा अमेरिकी नभएको आरोप लगाइयो । ह्युजको पुस्तक विमोचन कार्यक्रम राखिएको होटलअगाडि नै उनलाई रोक्नका लागि ठूलो भीड जम्मा भएको थियो । ह्युज गाडीबाट ओर्लेर भीडको बीचबाटै सरासर होटलतिर गए । उनलाई कसैले चिनेनन् । होटल पुगेर कार्यक्रम संयोजक तथा होटलका प्रबन्धकसँग कुरा गरेपछिमात्रै उनले त्यो भीड क्रिस्चियन धर्म प्रचारक एमी सेम्पल म्याकफेर्सनका प्रशंसक रहेछन् भनेर थाहा पाएका थिए । फोरस्क्वायर चर्चकी संस्थापक म्याकफेर्सन आफैं पनि रवाफी जीवनशैलीका कारण विवादित बन्न पुगेकी थिइन् । यौनकाण्डमा मुछिएकी उनको ह्युजले कवितामार्फत आलोचना गरेका थिए । त्यसैले म्याकफेर्सनले ह्युजलाई क्रिश्चियनविरोधीको संज्ञा दिएकी थिइन् । त्यतिमात्रै होइन, उनले रंगभेदी अभिव्यक्ति दिँदै भनेकी छन्, “हाम्रो वरपर धेरै सैतानहरू छन्, तीमध्ये सबैभन्दा खतरनाक राता सैतान हुन् र अहिले फेरि एउटा कालो छाला भएको रातो सैतान आएको छ ।”
उनले ह्युजलाई ‘कम्युनिस्ट’ र ‘नास्तिक’ भएका आरोप लगाइन् । उनको यस कविताले धेरै अफ्रिकी–अमेरिकी लेखकका साथै नागरिकहरूलाई झकझक्यायो । धर्मका नाममा हुने गरेका विकृतिका बारे यसले सोच्न बाध्य बनायो । विद्यालय र विश्वविद्यालय तथा बौद्धिक जमातमा यसको व्यापक चर्चा भयो ।
ल्याङ्स्टन ह्युजभन्दा नै पहिले धेरै लेखकहरूले धार्मिक संस्था र पुँजीवादी समाजले तल्लो तप्कामा रहेका नागरिकहरूमाथि गर्ने विभेदबारे विभिन्न पुस्तकहरू लेखेका थिए । ज्याक कोन्रोयको ‘द डिसइनहेरिटेड’, माइकल गोल्डको ‘ज्युज विदाउट मनी’ र एडवार्ड एन्डरसनको ‘हंग्री मेन’ले पनि सामाजिक बेथितिका विरुद्ध आवाज उठाएका थिए । त्यस बेलाका चर्चित कविहरू विलियम कार्लाेस विलियम, वालेस स्टेभेन्सहरू मिलेर वामपन्थी धारका जर्नलहरू ‘द एनभिल’ र ‘न्यु मासेज’ प्रकाशित गरेर श्रमिकहरू तथा सीमान्तकृत समुदायका पक्षमा समर्थन गरेका थिए ।
ल्याङ्स्टन ह्युजले अपनाएको लेखनशैली सरल भए पनि उनले उठाएका मुद्दाहरू भने सरल थिएनन् । रंगभेद र पूर्वाग्रहले आक्रान्त अमेरिकी समाजमा समानता र स्वतन्त्रताका लागि कलम चलाउनु ह्युजका लागिमात्रै होइन, धेरै अफ्रिकी–अमेरिकी लेखकलाई चुनौतीपूर्ण कार्य थियो । सन् १९३२ मेमा तत्कालीन सोभियत संघ भ्रमणमा गएका ह्युज साम्यवादी विचारधाराबाट प्रभावित थिए । अफ्रिकी कलाकार तथा साहित्यकारहरूसँग भ्रमणमा गएका उनको प्रमुख उद्देश्य थियो, अफ्रिकी–अमेरिकी नागरिकहरूले भोगेको जीवनबारे चलचित्र बनाउनु । उनले चलचित्र त बनाएनन् तर साम्यवादी शैलीका धैरै कविताहरू भने लेखे । उनले ‘स्याल्युट टु सोभियत आर्मीज’ कवितामा सोभियत सेनाले नाजी सेनालाई परास्त गरेकोमा खुसी व्यक्त मात्रै गरेनन्, कवितामार्फत सोभियत सेनालाई सलाम नै अर्पण गरेका छन् । नाजीहरूले यहुदीमाथि गर्ने दमन र अमेरिकामा अश्वेतहरूमाथि गरिने दमन एउटै प्रकारको भएको ठहर ह्युजको छ ।
ल्याङ्स्टन ह्युजले अफ्रिकी–अमेरिकीहरूले पनि अमेरिकालाई माया गर्ने र अमेरिका उनीहरूको पनि भएको अभिव्यक्ति दिएका छन् चर्चित कविता ‘म पनि गाउँछु अमेरिका’ (आइ टु सिङ्ग अमेरिका)मा । बीसौं शताब्दीको सुरुवातमा अफ्रिकीमूलका अमेरिकी नागरिकहरू समाजका हरेक पक्षमा विभेदको सिकार बनाइएका थिए । ‘जिम क्रो ल’जस्तो कानुन नै बनाएर अश्वेत र श्वेतबीच हुने विभेदलाई संरक्षण नै गरिएको थियो । सरल भाषामा लेखिएको यस कवितामा कविले सुन्दर र विभेदरहित अमेरिकी समाजको सपना देखेका छन् ।
म पनि गाउँछु अमेरिका
म अश्वेत भाइ हुँ
जब उनीहरूका पाहुना आए
तिनीहरूले मलाई किचेनमा पठाए खाना खान
तर म हाँसें
र मज्जाले खाएँ
र दह्रो भएँ ।
भोलि
जब ती पाहुनाहरू आउनेछन्
म हुनेछु टेबलमै
साहस गर्ने छैन कसैले
र भन्ने छैन ‘किचेनमा खाऊ’
त्यसपछि
तिनीहरूले देख्नेछन् मेरो सुन्दरता
र लज्जित हुनेछन् ।
म पनि अमेरिका हुँ ।
(म पनि गाउँछु अमेरिका)
ह्युजले यो कवितामा आफूहरू पनि अमेरिकी भएको र अमेरिकी समाजमा आफूहरू पनि समान भएको भन्दै एक दिन श्वेत र अश्वेतहरू एउटै टेबलमा बसेर खाना खाने दिनको परिकल्पना गरेको छ । उनले अफ्रिकी–अमेरिकीहरू पनि अरु अमेरिकीहरू समान नै अमेरिकाको माया गर्ने बताएका छन् ।
ल्याङ्स्टन ह्युजले जीवनपर्यन्त आफूलाई अफ्रिकी–अमेरिकी समुदायकै लागि समर्पित गरे । समानता र स्वतन्त्रताका पक्षमा निरन्तर आवाज उठाएको उनका रचनामा क्रान्तिकारी र विद्रोही आवाज पाउन सकिन्छ । सन् १९६७ मा ६५ वर्षको उमेरमा क्यान्सरबाट निधन भएका ह्युजका चर्चित रचनाहरूमा ‘द निग्रो स्पिक्स अफ रिभर’, ‘लेट अमेरिका बि अमेरिका अगेन’, ‘सेक्सपियर इन हार्लेम’ केही प्रतिनिधि कविता हुन् । उनका थुप्रै आख्यान तथा गैरआख्यान कृतिहरू प्रकाशित छन् ।
Source: http://www.baahrakhari.com//news-details/4720/2016-09-03