नेपाली जनतालाई क्रान्ति वा स्वतन्त्रताको लडाइँ लड्नु छैन । राणा शासन, निरंकुश पञ्चायती व्यवस्था, तानाशाही राजतन्त्रविरूद्ध्र सयांै व्यक्तिले आफ्नो जीवन आहुति दिएका छन् । जसकारण लोकतान्त्रिक गणतन्त्र नेपाल अर्थात् प्रजातान्त्रिक मुलुक नयाँ संविधान र नयाँ नयाँ नेतृत्व पाइरहेका छौं हामीले । अब संघर्ष, बलिदानी, युद्ध र मुठभेद अन्त्य भएका छुन्, अब कसैले पनि रोक्न सक्दैन । अब त आमनेपाली जनता खुसियाली मनाउन चाहन्छन् । आफ्नो पहिचान र दरिलो राष्ट्रीय स्वाभिमान चाहन्छन् । अब लडाइँ, झगडा, विरोध, मतभेद होइन, नेपाली जनता समृद्ध नेपाल चाहन्छन् ।
आमनेपाली जनताले देख्ने गरेको समृद्ध नेपालको सपना अब विज्ञान र प्रविधि विकासविना सम्भव नहुने कुरामा पनि विमति वा मतभेद नरहला किनकि हामीलाई थाहा छ– पश्चिमा मुलुक विकासको चरम गतिमा पुगिरहेका बेला बल्ल हामी विकसित नेपालको सपना देख्दै छौं ।
कारण उनीहरुले विज्ञान प्रविधिको खोज, अनुसन्धान र विकासलाई सधैं प्राथमिकतामा राखिरहे, नेतृत्व गरिरहे । विज्ञान र प्रविधिले विकास गरेका कुरा विकास र समृद्धिसँग जोड्दै लगे जसकारण उनीहरुको विकास र समृद्धि देखेर आज हामीलाई डाहा लाग्नेगरी विकास गरे । हो, अभावले सिर्जना गराउँछ । हामीलाई बल्ल अभाव खड्किएको छ । अब यो समयलाई फजुल नगरीकन सही नेतृत्व पाएमा, नयाँ–नयाँ सिर्जनालाई संसारको कुनै पनि शक्तिले रोक्न सक्दैन । हाम्रो मुलुक सही प्रयोग विकास गर्न सक्ने क्षमता नभएकै कारण अलपत्र परिरहेको छ । संसारका शक्तिराष्ट्र चीन र भारतबीचमा रहेको मुलुक सानो भए पनि संसारको उत्कृष्ट गन्तव्य भन्दा अत्युक्ति नहोला । प्राकृतिक सम्पदाको वैज्ञानिक प्रयोगलाई जोड दिन मात्र सकियो भने हाम्रो समृद्ध नेपालको सपना त्यति टाढा छ जस्तो लाग्दैन ।
कगेर जाने पानीबाट जलविद्युत् उत्पादन गरेर विदेश निर्यात गरौं । जडीबुटी प्रशोधन गरेर विश्वबजारसम्म पुर्याऔं । हाम्रो पौराणिक महत्वका चीज संरक्षण गर्दै प्राविधिक शिक्षा विकास गराउन सक्यौं भनेमात्र समृद्ध नेपालको ढोका नजिकै छ । त्यही समृद्ध नेपाल बनाउने बाटोका रुपमा पछिल्लो समयमा विज्ञान र प्रविधिमा ठूलो संघर्ष गरेको व्यक्ति महावीर पुनले एसियाली नोबेल पुरस्कार रोमन म्यागासेसे प्राप्त गरेका छन् । पुनले राष्ट्रिय आविष्कार केन्द्र परिकल्पना गरेका छन्, त्यो मनासिव छ । देशले हामीलाई के दियो भन्दा पनि देशलाई हामीले के दियौं भन्ने सोच एक महान् संकल्प हो राष्ट्रीय अनुसन्धान केन्द्र । जसले छरिएर रहेका सिर्जनशील नेपाली मस्तिष्कलाई एक बनाउनेछ । सुन्दर देशलाई सिर्जित गर्न लाग्नेछ ।
अहिले यतिबेला नेपाली राजनीतिमा फास्टट्र्याकको चर्चा निकै छ । कसले बनाउने वा कसरी बनाउनेजस्ता थुप्रै कुराले आमसञ्चारमाध्यम घन्किएका छन् । फास्ट ट्र्याक नेपाली आवश्यकता हो । जति सक्दो छिटो चाहिएको छ । किनकि करिब ५÷६ दशकपहिले हाम्रो तुलनामा रहेका दक्षिण कोरिया आज सयांै नेपाली कामदार भित्र्यायर विकास निर्माणको अग्रपंक्तिमा पुगिरहेको छ । कारण के हो भने दक्षिण कोरियालीको आँट, मिहिनेत सिर्जना र नेतृत्व नै हो । दक्षिण कोरियासँग केही अपुग स्रोत र साधन हुँदाहँुदै पनि दृढइच्छा शक्तिसाथ सोलवुस्यान फास्ट ट्र्याक निर्माण गरेर आज हाम्रोजस्तो धेरै मुलुकबाट कामदार लगिरहेका छन् । विकासको तीव्र गतिमा अगाडि बढिरहेका छन् । तर, हाम्रो मुलुकले स्रोत, साधन र वैज्ञानिक प्रविधि आत्मसात् गराउन सक्ने नेतृत्वविना पानीविना छटपटाएको माछाजस्तो भएको छ । हामीसँग आखिर के छैन ?
यहाँ विज्ञान र प्रविधिको कुरा भइरहेको छ । त्यसैले म केही विज्ञान र प्रविधिसँग काम गरिरहेका व्यक्तिलाई निकै राम्रोसँग चिन्छु । बेलाबेला सञ्चारमाध्यममा पनि आइरहेका छन् । हुन्छन् । नयाँ–नयाँ आविष्कार तर कता जान्छन् ? के गर्ने हुन् ः अत्तोपत्तो हुँदैन । ती आविष्कारले मूर्त रुप पाउन सक्दैनन् । आखिर किन त ? नास्ट विज्ञान तथा प्रविधि मन्त्रालय नै छ, जसले यस्ता कुराको संरक्षणमा खासै चासो किन दिँदैन ? केही वर्षपहिले रोबर्ट चौधरी, महेश त्रिपाठी, विकास पराजुली, आविष्कार सुवेदी, तल्लज बराल, विकल्प ढुंगाना, रव मियाँलगायत थुप्रै वैज्ञानिक आविष्कार गरेका व्यक्ति कहाँ बेपत्ता छन् ? आखिर ती त सरकारी सम्पत्ति हुन्, जसलाई संरक्षण गर्न नसकेर उनीहरु गुमनाम छन् । रोवर्ट चौधरीले आविष्कार गरेको रोबर्ट, महेश त्रिपाठीले गरेको सुपर एम म्याग्नेटिक इन्जिन, पानीबाट चल्ले इन्जिनलगायत थुप्रै रोबर्ट अनि उनका आविष्कार, विकास पराजुलीले आविष्कार गरेको डाँफे, तल्लज बरालका रोबर्ट, विकल्प ढुंगानाको सौर्य शक्तिले चल्ने स्कुटरलगायतका आविष्कार किन पारियो ?
सरकारले यस्ता व्यक्तिको संरक्षण गर्नुपर्ने हो कि होइन ? अनि सयांै, लाखांैको संख्यामा आफ्ना युवा मरभूमिको फास्ट ट्र्याक खन्दाखन्दै जिन्दगीको ट्र्याक स्लो बनाएर बिग्रन लागेको गाडीजस्तो भएर फर्कंदै छन् । अनि यस्ता सयौं वैज्ञानिक, इन्जिनियर र प्राविधिक टोली बेकामे भएका छन् । यिनीहरुको प्रयोग गर्न छाडेर सरकार अरु कुरा गर्छ । यो गलत छ । त्यसैले दक्षिण कोरियाका तत्कालीन राष्ट्रपति पार्कको जस्तो आँट गर्नु पर्नेछ, जुन फास्ट ट्र्याकले दक्षिण कोरियाको विकासमा जुन फड्को मार्यो त्यसरी नै यस्ता राष्ट्रिय अनुसन्धान केन्द्रजस्ता केन्द्रद्वारा युवा संरक्षण प्रयोग अनि विकास गर्नु छ र समृद्धिको फास्ट ट्र्याक निर्माण गर्नु छ ।
अन्त्यमा राष्ट्रीय अनुसन्धान केन्द्र निमार्ण गरी माथी उल्लेख गरीएका युवा वैज्ञानीक मष्तीस्कहरुको अनुसन्धान प्रतिको लगाव र उत्साहलाई बढावा दिने र उत्पादनले समृद्ध नेपाल निर्माण गर्नका निम्ति विज्ञान र प्रविधिमा लामो समयसम्म लागिपरेका महावीर पुनको महासंकल्प हो । अमेरिकाबाट कम्प्युटर टेक्नोलोजी अध्ययन गरेर फर्केका पुन अमेरिकाजस्तो विकास गर्न सक्ने ज्वलन्त उदारण हुन् । उनको मिहिनेत र लगावले ग्रामीण बस्तीमा सफल बनाउने व्यक्ति महावीर पुनले देखेको यो महाअभियान कामयावी बनोस् शुभकामना ।
Source: http://www.ratopati.com/76307/