मान्छेको समाज बडो विचित्रको छ । मानवीय अनुभुति, संवेग, चाहना, व्यवहार सबै–सबै फरक–फरक छ । मानवीय सम्बन्धहरू विभिन्न अन्तरक्रियाबाट अभिव्यक्त हुन्छ । मानव समाजको विशाल आयामभित्र अनेक घटना–परिघटना हुन्छ । कथाकारले ती सूक्ष्म घटनाहरूलाई समाजबाट टपक्क टिप्छ । त्यसलाई कलाको लेपन लगाइदिन्छ । संवादहरूले परिपूर्ण गर्छ । दृश्य परिवर्तन गर्छ । अनि कथानकको निर्माण गरेर यस्तरी वर्णन गरिदिन्छ । पाठक छक्क पर्छ । मक्ख पर्छ ।
कथाकारले घटनालाई जस्ताको तस्तै भने टिप्दैन । सिपालु कथाकारले घटनाको स्वरूप नै फेरिदिन सक्छ । पात्रहरूमार्फत आफ्ना विचारलाई अभिव्यक्त गर्छ । खासमा कथाकारको सफलता बलियो पात्रको निर्माणमा हुन्छ । पाठकले कथानक भन्दा पनि पात्रको स्मरण गर्दछ । पाठकको मानसपटलमा घटनाभन्दा पनि पात्र जीवित रहन्छ । कहिलेकाहीँ पात्र यति बलशाली बन्दछ लेखक स्वयं ओझेलमा पर्छ । जस्तो कि महाभारतका पात्र कृष्ण समाजमा पूजनीय बने व्यास नेपथ्यमा परे । त्यस्तै रामायणमा वाल्मीकि ओझेलमा पर्दा राम उदाए । बलियो कथाले युग हल्लाउने पात्र स्थापित गर्दछ । अनि कथाकारले पात्रमार्फत समाजसँग संवाद गर्दछ ।
‘फुलानी’ यस्तै कथाहरूको संग्रह हो । फिल्म ‘टलकजंग भर्सेस टुल्के’ को टुल्के पात्र र ‘पशुपतिप्रसाद’का पशुपति पात्रले अन्य पात्रहरूको जोडजाड गरेर तयार पारेका हुन् यो संग्रह । अर्थात्, कलाकार खगेन्द्र लामिछाने नै फुलानीका सर्जक हुन् । जम्माजम्मी सात कथाहरू संगृ्रहीत छन् यसमा ।
घनघसे हृदय विदारक कथा हो । समाजमा काम गरिखाने तल्लो वर्गका सोझा र सरल मानिसको चित्रण हो यो कथा । उनीहरूको संवेदना, सरल प्रेम, श्रमप्रतिको प्रेम अनि जीवनयापनको कठिनता कथामा घोलिएर आएको छ । अनि कथामा सामन्ती शोषणको चित्रण गरिएको छ । घनघसे यहीं वर्गको प्रतिनिधि पात्र हो । जसले गाउँमा मोटर ल्याउने खुसीमा आफूलाई होमिदिन्छ र अपांग जीवन बिताउन बाध्य हुन्छ ।
मान्छे होइन उसको श्रमशक्तिको आस गर्ने दुष्ट ठालुहरूबाट अपहेलित हुन्छ । जीवनयापनको कठिनताले पारिवारिक संरचना खलल पार्न थाल्छ । अनि भाग्यले ठगिएकालाई अझै चुस्न हाजिर हुन्छन् गाउँका ठालुहरू । अन्त्यमा स्वास्नीले छाडेकी अपांग घनघसले रहलपहल जमिन उनै ठालुहरूलाई बेचिदिन्छ । सबै गमाएर आफू मुक्त हुन्छ । जीवनको उकाली–ओरालीको यो निर्मम प्रस्तुतिमा घनघसे र बिर्किम्लीको प्रेमकथा हिलोमा फुलेको कमलजस्तो मुस्काउँछ । अर्को बिहे गरिसकेकी बिर्किम्लीको पूर्वपतिप्रतिको सम्झना नस्टाल्जियाको आधुनिक शृंखलालाई माथ गर्न काफी छ ।
ठ्याक्कै यस्तै हृदय हल्लाउने कथा हो– डाँडामाथिको प्रेम । उमेरको उकालीमा सहारा गुमाएका बुदे र नैनाकुमारी गाउँको चौतारीमा भेट हुन्छन् । बितेका पलको स्मरण गर्छन् । आफ्ना अनुभव साटफेर गर्छन् । अनुभूति साटासाट गर्दागर्दै एकअर्का साथी बन्छन् । यो प्रेम कुनै स्वार्थको लागि गरिएको प्रेम होइन । कुनै अपेक्षा, चाहना, आग्रहबाट निकै पर रहेको यो प्रेम मानवीय हृदयहरूको उच्चतम मेल हो ।
आकांक्षालाई माथ गरेर उचाई छोएको प्रेमको चित्रण यो कथाको सबल पक्ष हो । तर, सम्पत्तिको लोभमा फँसेको वर्तमान समाजमा अमर प्रेमको के अर्थ ? प्रेमको आदर्श स्वरूप सम्पत्तिले आँखा छोपिदिएको स्वार्थी समाजमा अपराध बन्न पुग्छ ।
हत्याराको नजरमा बाँच्नु पनि अपराध भएजस्तै स्वार्थी समाजमा निस्वार्थी प्रेम पनि भयानक अपराध हो । जीवनको उत्तरार्धमा यो अपराध गर्ने अपराधीहरू कसरी पो पूजनीय हुन् र ? फेरि एक प्रेमको हत्या हुन्छ । मानवीय आत्माको मेल फेरि टोडिन्छ । प्रेम फेरि एकपटक हार्दछ । बुदेको चुरोटको धुँवा एकनास उडिरहन्छ भावनाहरूको अमूर्त आकृति कोर्दै तर पाठकको आँखा भने अनायास रसाउँछ ।
शीर्षक कथा ‘फुलानी’ जटिल मनोविज्ञान चित्रण गरिएको कथा हो । कथा निकै सरल कथानकमा बहन्छ तर फुलानी पात्रको जटिल मनोविज्ञान भने बुझिनसक्नु हुन्छ । पाठकले उसको जटिल मनोविज्ञानको परिचय पनि कथाको अन्त्यमा पाउँछ । प्रेम गर्ने तर कुनै केटासँग बिहे गर्न नचाहने फुलानी के एक्स्ट्रिम नारीवादीहरूको प्रतिनिधि हो ?
बडो गज्जबका कथा हुन् बार लभ र बाउसाप्को साइकल । बार लभ सहर छिरेको यस्तो केटाको कथा हो जो उपभोक्तावादी सहरको माहोलमा भिज्न चाहन्छ तर गाउँको नैतिक मूल्य–मान्यताले अझै बाँधिएको छ । उसको गाउँले सरलता र सहरको उपभोक्तावादी चरित्रबीच द्वन्द्व हुन्छ । जित सहरकै हुन्छ । यो यस्तो सहर हो जहाँ दुःख र पीरलाई आँसुको रंगले पोतेर बेचिन्छ । गाउँले सेवाभाव मूल्यहीन सावित हुन्छ ।
त्यस्तै ‘बाउसाप्को साइकल’ बजारमा मूल्य गुमाएको परम्परागत आडम्बरको कथा हो । भाडा माझ्दै गरेको ठकुरी पात्रमा अझै पनि परम्पराको धङधंगी बाँकी रहेको चित्रण गरिएको छ । यी दुई कथाले नेपाली समाजको अर्थ राजनीतिक परिवर्तन र त्यसक्रममै सिर्जना भइरहेको मनोवैज्ञानिक द्वन्द्वलाई चित्रण गरेका छन् ।
‘प्राध्यापकको कार वियोग’ उपभोक्तावादी समाजमा कार र नवप्रेमिकामार्फत आफ्नो हैसियत उठाउन खोजिरहेको असफल प्राध्यापकको कथा हो । निकै व्यंग्यात्मक यो कथाले समाजमा अहिले उदाइरहेको आडम्बरी प्रवृत्तिलाई तीव्र प्रहार गरेको छ ।
कथाकार खगेन्द्र लामिछाने मानवीय जीवनका अनेक आयाम चित्रण गर्न प्रयासरत रहेको अनुभूत हुन्छ । यद्यपि कथाकारको नाताले समाजसँग जति संवाद गर्न सक्नुपर्ने हो त्यसमा उनी अझै पनि कमजोर नै देखिन्छन् ।
‘अटलबहादुरको आतंक’ युद्धकालीन समयमा फाइदा उठाउन खोज्ने पात्रको कथा हो । तर यस कथामा कथाकार खासै सफल भएको देखिन्न ।
समग्र कथाहरू पढ्दा कथाकार लामिछाने मानवीय जीवनका अनेक आयाम चित्रण गर्न प्रयासरत रहेको अनुभूत हुन्छ । कथामा उनी संवादलाई बढी जोड दिइरहेका छन् । दृश्य चित्रण पनि बलियो नै छ । कतैकतै संवादमा प्रयोग गरिएको लालित्यले कथालाई रोचक बनाउन र पाठकमा कौतहल सिर्जना गर्न भूमिका खेलेको छ । यद्यपि चरमोत्कर्षलाई अझै बलियो ढंगले ल्याउन सकेका छैनन् ।
कथाकार नितान्त निजात्मक अनुभूतिसँग खेलेका छैनन् । प्रायः कथामा उनी समाजलाई चित्रण गर्न खोज्छन् । पात्रहरूमार्फत समाजलाई चियाइरहेका छन् र समाजका छिपेका दृश्यलाई कोट्याइरहेका पनि । यद्यपि कथाकारको नाताले समाजसँग जति संवाद गर्न सक्नुपर्ने हो त्यसमा उनी अझै पनि कमजोर नै देखिन्छन् । सायद कथाकार कथा लेखनको उद्देश्यप्रति सचेत नभएर हो कि ?
नेपाली कथा लेखनमा यथार्थवादी, फ्यान्टासी, रूपवादी, सर्रियलजस्ता अनेक प्रयोग भइरहेको सन्दर्भमा यो नवीन प्रस्तुति नै त नहोला तर फरक स्वाद भने पक्कै हो । सात कथाको यो सानो संग्रह नेपाली समाज र मनोविज्ञानलाई चियाउने आँखीझ्याल हो ।
Source: http://www.annapurnapost.com/news/54933