गोकर्ण लामिछाने ।
क्यानडामा बसिरहेका नेपालीबीच रामकाजी मोक्तान नौलो नाम होइन । क्यानडामा बसिरहेका नेपालीले निर्माण गरेका विभिन्न संघसंस्थामा रामकाजी पनि छन्, तिनका हरेक गतिविधिमा उनी छुट्दैनन् ।
विगत ११ वर्षदेखि उनी क्यानडामा छन् । तर हृदयमा नेपाली माटोको सुवास छ, नेपाली खोला–झरनाको गीत छ । उनी नेपालीमै सपना देख्छन्, नेपाली गीत नै उनको ओठमा झुण्डिन्छ । उनी स्वयं नेपाली गीतका गायक हुन्, केही गीत ‘रेकर्डेड’ छन् । ‘सर्कल’मा गायकको पहिचान सुरक्षित छ । यसरी नेपाललाई हृदयमा राखेर विदेशी भूमिमा बसिरहेका नेपालीको सूचीमा रामकाजीको नाम स्पष्ट छ, चिनिनेगरी ।
०००
विदेशी भूमिको माटोसँग खेल्नु जो–कोहीको मूलबाटो हुँदैन । कोही रहरको पंख फड्फडाएर विदेश पुग्छन्, त कोही बाध्यताको बुल्डोजरले घँचेडेर । संयोग, रामकाजी आफ्नै रहरको पंख चढेर विदेश पुगेका हुन् । त्यस हिसाबले उनको जीवनको क्यानभासमा सुखको रंग गाढा नै छ । तथापि उनले जीवनमा दुःखको उर्लदो खहरे पनि नदेखेका होइनन्, खोल्सा–खोल्सी नभोगेका होइनन् ।
ललितपुर भार्देउमा उनी जन्मँदा उनकी आमाको ओठमा मुस्कान खेलेको थियो, बाबुको छातीमा गर्व ढुक्ढुकाएको थियो । २०२८ सालको सामाजिक परिवेशमा पहिलो सन्तान छोरो हुनुको खुशी अर्को स्वभाविक परिघटना थियो नै । उनका बाबाआमा निरक्षर थिए, तर अशिक्षित विल्कुल थिएनन् । उनीहरूलाई जीवनले नै गहिरो शिक्षा दिइसकेको थियो । ‘हामीले नपढेर दुःख पायौं, छोरालाई जसरी पनि पढाउनुपर्छ’ भन्ने शिक्षा त्यहीमध्येको थियो ।
राजधानी नजिकै हो रामकाजीको जन्मघर, लगनखेलबाट २० किलोमिटरमात्रैको दूरी । हिसाब गर्ने हो भने टाढा होइन । तर उनको परिवारको जीविकाको भर किसानी थियो । अन्य आम्दानीको स्रोतले बत्तीमुनिको अँध्यारोमा त्यो गाउँमा पुग्ने अवसर पाएको थिएन त्यसबेला । त्यसैले रामकाजी जन्मनेबित्तिकै उनका बाबाआमाले केही बाख्रा बढाए खोरमा, केही बोका जोगाउन थाले, खसी हुर्काउन थाले । तिनै खसीबोका बेचेर आएको आम्दानीको बलमा रामकाजीले बेलैमा स्कुल भर्ना हुने मौका पाए । सरकारी स्कूलको ‘बेला’ भनेको पाँच बर्ष पुगिसकेपछि सुरु हुन्थ्यो । अझै उनको दिमागमा त्यो बेलाको दृश्य स्पष्टै छ, ‘छत नभएको स्कुलमा बर्खा लागेपछि पढ्न सकिँदैनथ्यो । शिक्षक बस्ने घर–घरमा धाएर पढ्नुपथ्र्यो । गाउँकै शिक्षक थिएनन्, बाहिरबाट आएका शिक्षकले पढाउँथे ।’
उनलाई सम्झना छ– सरकारी स्कुलको चार कक्षामा पुगेपछि अहिले बसिरहेको देश क्यानडामा बोलिने भाषा अंग्रेजीको कखरा अर्थात एबिसिडी चिनेका थिए । ‘नाउन’ ‘प्रोनाउन’ चिन्न त केही वर्ष थप कुर्नुपर्यो । गाउँमा सात कक्षासम्मको पढाइ सकेपछि डेढ घन्टा हिँडेर लेले पुगे पढ्न । त्यहीँ पुगेपछिमात्रै उनको ‘नाउन प्रोनाउन’ यात्रा सुरु भएको थियो । त्यहीँबाट उनले माध्यमिक तह पार गरे ।
तामाङ समुदाय शिक्षाको उज्यालोबाट निकै पछिसम्म बञ्चित थियो, त्यही बञ्चनामा परेको थियो उनको गाउँ पनि । उनी सम्झन्छन्, ‘पढेर त केही हुँदैन । बरू खेती र गोठालो गर्न जाने जीविका सजिलोगरी चल्छ भन्ने धारणा थियो ।’ तर बिस्तारै चेतनाको जूनकिरी तामाङ समुदायमा पनि फैलियो । उनको बाबाआमामा पनि त्यो चेतना संक्रमित भयो र छोरालाई पढाउनु पर्छ भन्ने सोच पल्हायो । त्यही सोचले रामकाजी र उनको भाइले शिक्षाको अवसर पाए । अवसरलाई उनीहरूले पनि इखैले उपयोग गरे ।
शिक्षासँगै चेतनाको ज्योति अझ फैलियो । त्यही उज्यालोमा रामकाजीले पनि आफूलाई चिन्ने यात्रा थाले । उनको नेपालदेखि क्यानडासम्मको यात्रा त्यसैको परिणाम हो । आज तामाङ समुदाय पनि कोहीभन्दा कम छैनन् भनेर गर्व गर्न रामकाजीको उदाहरण लिन सकिने भएको छ ।
०००
एसएलसी पार गरेपछि रामकाजीको यात्रा ललितपुरको सदरमुकामतिर अघि बढ्यो । उनले नमूना मछिन्द्र क्याम्पसमा आइकम र बिकम गरे । मास्टर्स पढ्न उनी काठमाडौंको शंकरदेव क्याम्पस हानिए ।
त्यसो त उनको शंकरदेवसम्मको यात्रा सरल रेखामा थिएन । एसएलसी गर्नेबित्तिकै ललितपुरको हरिसिद्धिस्थित स्कुलमा पढाउन थाले । गाउँबाट एसएलसी गर्ने तामाङ समुदायमा पहिलो व्यक्ति त उनी थिए नै, गाउँबाट शिक्षक बन्ने पहिलो तामाङको छोरो पनि भए । ०४५ सालको कुरो हो यो । नौ सय दुई रूपियाँ तलब लिएर सरकारी कोटामा शिक्षक भएका थिए उनी । लगनखेलमा बस्थे । बिहानभरि कलेज पढ्थे, दिउँसो स्कुल पढाउँथे । एक वर्षमै स्थायी भए । तीन वर्ष त्यहाँ पढाए, आइकम पास पनि गरे ।
त्यतिबेलासम्म उनको सपना लगनखेलमा फैलिरहेको सहरी वातावरणझैं फैलिसकेको थियो । उनले सोचे, ‘म किन गाउँमा पढाउन नजाऊँ ?’ उनी भन्छन्, ‘मभन्दा अघिको पुस्तामा त पढ्नुपर्छ भन्ने भावना नै थिएन । त्यसैले मेरो पुस्तामा पनि पढ्नका लागि कुनै प्रतिष्पर्धा थिएन । पढेर जीवन धान्न सकिँदैन, खर्चमात्रै खेर भन्ने सोच थियो । त्यसैले म गाउँमा गएर सिकाउन र देखाउन चाहन्थेँ कि पढ्यो भने जीवनशैली झन् माथि पुग्छ ।’
त्यसो त त्योबेलासम्म गाउँका कोही तामाङ शिक्षक भएका पनि थिएनन् । त्यसैले गाउँकै शिक्षक हुँदा शिक्षण अझ राम्रो हुन्छ भन्ने देखाउने अवसर पनि उनलाई थियो । त्यसैले छँदाखाँदाको शहरको दरबन्दी छोडेर उनी गाउँ गए, गाउँको स्कुलमा प्रधानाध्यापक बनेर अगुवाइ गरे । त्यतिबेला साथीहरूले चाहिँ उनलाई भनेका थिए, ‘अरूचाहिँ गाउँबाट अनेकगरी दरबन्दी सहरमा मिलाउँछन्, तिमीचाहिँ गाउँ गएर मूर्खता नगर ।’
तर उनलाई गाउँमा चेतना फैलाउन त्यो ‘मूर्खता’ स्वीकार्य थियो । उनको त्यही सही ‘मूर्खता’बाट फैलिएको शिक्षाको उज्यालोले गाउँ एकपटक धपक्कै बल्यो । जुन उज्यालो दिनप्रतिदिन बढ्दै गयो । अहिले पनि भार्देउ वरपर फैलिएको शिक्षाको उज्यालोमा रामकाजीको ‘मूर्खता’को अंश छ । सम्झँदा उनको छातीभित्र गर्वको ढुकढुकी तेज हुन्छ ।विगतका रामकाजी ।
झण्डै अढाई वर्ष गाउँमा पढाइसकेपछि रामकाजीलाई लाग्यो, ‘गाउँले शिक्षाको उज्यालोको स्वाद अनुभव गर्यो । अब यो लत छोड्न सक्दैन । यसैले मैले मेरा पखेटालाई कुँजिएर बस्न दिनुहुँदैन । उड्नुपर्छ म, सपनाको अर्को आकास खोज्न ।’
त्यही निष्कर्ष बोकेर उनी बिकम गर्ने बहाना मिलाएर फेरि शहर निस्के । भाई र उनी मिलेर पर्यटक बोक्ने ट्रान्सपोर्ट ( बुद्द ट्रान्सपोर्ट ) खोले । त्यतिबेला सम्ममा उनका भाइ पनि एसएलसी सकेर काठमाडौं पुगिसकेका थिए । टुरिस्टहरूलाई गाडी दिने कम्पनी बुद्ध ट्रान्सपोर्टमा काम थालेका थिए । उनलाई सजिलो भयो सिर्जनशील दिमाग भएका दाजुभाइको मेल भएपछि बुद्ध ट्रान्सपोर्टमा जिन्दगीको गाडीले नै गति लिन थाल्यो । दुवैले मज्जाले काम सिके, तौरतरिका जाने ।
त्यही सिर्जनशील व्यावसायिक कदमले उनलाई जीवनभरको लागि बाटो दियो । स्तरीय जीवन जिउन सक्ने समृद्धि दियो । काठमाडौंमा घर बनाए, परिवारलाई काठमाडौं ल्याएर राख्ने वातावरण मिल्यो । हुन त त्यो समयमा उनीहरूले लिएको निर्णय कम्ती चुनौतीपूर्ण थिएन । तर उचित समयमा आवश्यक चुनौती लिन सक्नेले जीवनमा पछाडि फर्केर हेर्नुपर्दैन । उदाहरण रामकाजी नै हुन् ।
०००
रामकाजी पखेटा लागेका चरी थिए । एकैठाउँमा कुँजिएर बस्नु उनको स्वभाव थिएन । पर्यटन क्षेत्रमा उनले गरेको व्यवसायले राम्रो आम्दानी दिइरहेको थियो । तर उनी त्यस क्षेत्रमा नयाँ काम गर्न चाहन्थे । नयाँ कामको सोचले उनलाई ललितपुरको टीकाभैरवमाथिको दलचोकी भन्ने ठाउँ सम्झायो । ‘त्यो ठाउँ यस्तो राम्रो छ कि राती दक्षिणमा वीरगञ्ज सहर देखिन्छ, उत्तरमा काठमाडौं उपत्यका पूरै देखिन्छ । पर्यटकहरू गाउँले जीवन हेर्न चाहन्थे, त्यहाँ सहरको कुनै दाग नलागेको गाउँ पनि थियो । मैले सोचें– पर्यटकलाई टीकाभैरवसम्म गाडीमा लैजान सकिन्छ । त्यहाँबाट हाइकिङ गर्दै माथि जान्छन् । माथि रिसोर्ट खोल्न सकिन्छ, माउन्टेन बाइकमा साइक्लिङ गर्ने सुविधा दिन सकिन्छ’, उनले त्यसबेलाको योजना सम्झे । तर योजना बुन्दै जाँदा उनलाई लाग्यो– कार्यान्वयन गर्नुअघि ‘टुरिज्म’ पढ्नुपर्छ । त्यसैका लागि उनी बेलायत हानिए । सन् २००० को कुरो हो यो ।
बेलायत जाने भिसा पाउन उनलाई गाह्रो थिएन, कारण पर्यटनसम्बन्धि व्यवसायले उनको सम्बन्ध र विस्वास राम्रो बनेको थियो । बेलायत उड्नुअघि उनले केही सपना सँगाले– नेपालमा जति नै कमाउँछु र पढ्छु पनि । तर दुई वर्षको कोर्स सिध्याउने योजना बनाएर बेलायत पुगेका नौ दिनमै फर्किए । उनी कारण पेश गर्छन्, ‘एकातिर होमसिक भएँ । अर्कातिर मैले सोचजस्तो कमाउन सकिने छाँट देखिनँ । मैले कहिल्यै शारीरिक श्रमको पेशा गरेको थिइनँ, त्यहाँ त्यसको विकल्पै थिएन ।’ दुई वर्ष बस्ने योजना बुनेर ४७ किलो त कपडामात्रै ‘प्याक’ गरेर बेलायत गएको मान्छे नौ दिनमै फर्केको देखेर परिवार चकित परे, आफन्त जिल खाए । मान्छे लाखौं खर्च गरेर पनि जान नपाउने देशमा पुगेको मान्छे पोखरा घुम्न गएजसरी दुई हप्ता नहुँदै फर्किंदा छक्क पर्नु स्वाभाविक पनि थियो । तर उनलाई लागेको थियो, ‘यस्तो घरको सम्झनाले दिनरातै सताउने ठाउँमा बसेर महिनाको लाख कमाउन हम्मे पर्ने ठाउँमा पनि कोही बस्छ ? त्योभन्दा राम्रो पैसा त म नेपालमै कमाइहाल्छु नि ।’ काठमाडौंमा कम्पनी चलिरहेकै थियो, त्यसैले उनलाई डर थिएन, बरू भर नै थियो । त्यसैले भर्सेला परोस् भनेर फर्केका थिए, तर घर–परिवारको गालीले उनलाई धर दिएन । उनी फेरि बेलायत नै फर्के । तर त्यो गालीको तागतले पनि दुई महिनामात्रै धान्यो । पढाइ हापेर नेपाल नै फर्के, अबचाहिँ कुनै हालतमा बस्न सक्दिनँ भन्ने निष्कर्षसहित । पढाइको लागि तिरेको फि फोस्सामै भयो ।
मन बसेको ठाउँमा पो तन पनि बस्छ, मनै नबसेपछि जतिसुकै समृद्धिले पनि तनलाई रोक्न सक्दोरहेनछ । उदाहरण हुन् उनी । त्यसपछि पनि उनी ‘जुलाई–अगस्ट’को ‘टुरिज्म अफसिजन’ पारेर विभिन्न देश गए । कहिले जर्मन, कहिले डेनर्माक । जापान पनि गए, अमेरिका पनि । केही महिना बस्ने, काम पनि गर्ने, भाडा उठाउने, आउने गरे । कतै मन रत्तिएन ।
अन्तिममा क्यानडा आइपुगेका रामकाजी यतै रत्तिए । यहाँचाहिँ उनको मन बस्यो । मन किन बस्यो धेरै घोत्लिँदैनन् उनी, बस्यो त बस्यो बस्यो नि ! यहाँको व्यवस्थित जीवनशैली, कामप्रतिको सम्मान आदि आदि, अनेक कारण खोज्न सकिन्छ । तर एउटा कारण भने अनुमान लगाउन गाह्रो पर्दैन । यसरी रामकाजी र क्यानडाबीच धेरै कुरामा सम्झौता भयो । उनी आफ्नो पंख क्यानडाकै आकासमा फैलाउन राजी भए ।
०००
०५८ जेठको राजदरबार हत्याकाण्डपछि रामकाजीले नेपालबाहिर बस्ने निधो गरेका हुन् । उनकै भाषामा भन्दा ‘बस्नै मन लागेन नेपालमा’ । एकातिर हत्याकाण्डले नेपाललाई केन्द्रमा राखेर विश्वभर त्रासदी फैलाइदिएको थियो, अर्कातिर माओवादी जनयुद्धको जगजगी उत्कर्षतिर थियो । सबैभन्दा ठूलो असर पर्यटन व्यवसायमै परेको थियो । त्यसैले एकजना बाहिर जाँदा अलि सहज हुन्छ कि भनेर भाइलाई अमेरिका पठाए । तर भाइ पनि त ‘दाइकै भाइ’ न परे, उनी पनि दुई महिनाभन्दा बस्न सकेनन् ।
त्यसपछि आफैंले मसक्क आँटे । त्यसपछि श्रीमतीसहित क्यानडा आइपुगे सन् २००५ मा ।
त्यसपछि उनको क्यानडा–संघर्ष सुरु भयो । तर उनी ‘देश खाएर शेष’ भइसकेकाले आत्तिएनन् । क्यानडामा हरेक कामको उत्तिकै इज्जत हुन्छ भन्ने जानेकै थिए, त्यसैले कुनै काम गर्न हिच्किचाएनन् । सुरुमा त उनले पनि ‘इन्ट्री लेभल’कै काम गर्नुपर्यो । दुई महिना ‘डिसवासिङ’को काम गरे रेस्टुरेन्टमा । महिनाको दुई हजार डलरजस्तो कमाइ हुन्थ्यो । तर उनको मन सामाजिक कामले सकसकाइरहने, रेस्टुरेन्टमा छुट्टी नमिल्ने । त्यसैले विकल्प खोजिरहेका थिए । संयोग, एउटा होटलमा ‘हाउसपर्सन’को काम पाएर ‘सिफ्ट’ भएको दुई हप्ता पनि भएको थिएन, ‘वाल मार्ट’जस्तो ठूलो र प्रसिद्ध कम्पनीमा ‘फुलटाइम’ काम पाए । त्यसपछि उनले कहिल्यै कामको लागि भौंतारिन परेन । पाँच वर्ष नियमित त्यहाँ काम गरे । पाँच वर्षको अवधिमा उनको मनमा अर्को रहरको पखेटा पलायो– सरकारी काम गर्ने ।
रहर के गर्नु थियो, पूरा भइहाल्यो । ‘क्यानडा पोस्ट’मा काम पाए । ‘फुलटाइम’ नहुन्जेल ‘वालमार्ट’मा पनि गरिरहे । एकवर्षपछि क्यानडा पोस्ट मा उनको जागिर स्थायी भयो ।
नेपाली भाषामा भन्दा उनी ‘हुलाकी’ हुन् । तर नेपालमा ‘हुलाकी’को न महत्व छ, न काम नै । तर क्यानडामा हुलाकीको महत्व निकै छ । ‘बिजनेस’ होस् या ‘रेसिडेसिन्यल’, ‘इमिग्रेसन’ होस् या ‘डेली लाइफ’, ‘बैंकिङ’ होस् या अन्य महत्वपूर्ण क्षेत्र । हरेकको ‘डकुमेन्ट’ हुलाकीकै हातमा हुन्छ । त्यसैले क्यानडामा यो कामको महत्व र सम्मान निकै हुन्छ । कामको सम्मान गर्ने त क्यानडाको संस्कृति नै हो, त्यसमाथि पनि दैनिक सरोकारको यो कामको सम्मानको ‘लेभल’ उँचो हुनु स्वाभाविक छ । त्यही ‘लेभल’ ‘मेनेजमेन्ट’ गर्दै रामकाजी क्यानडामा व्यस्त छन् ।
०००नर्थ अमेरिकाको रंगिन दुनियांमा रामकाजी ।
क्यानडाको व्यस्त र मस्त जिन्दगीमा पनि रामकाजीको मनमा भने नेपालै छ । जीवनका अविस्मरणीय दुःख–सुख नेपालसँगै जोडिएर मनको भित्तामा कोरिएका छन् ।
स्नातक गरेर त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा कोट र टोपी लगाएर उभिँदाको क्षण सम्झँदा उनी अहिले पनि भावुक हुन्छन् । खुसीको आँसुले आँखाका कोष ढाकिन्छ । बत्तीमुनिको अँध्यारो गाउमा दुःख गर्दै पढेको तामाङ केटो सप्रमाण बौद्धिक समुदायमा मिसिन लागेको त्यो दृश्य उनको आँखामा अझै सजीव भएर आउँछ । गर्वले कता–कता छाती फुल्छ, बाबाआमाले रोपेको मिहिनेत र संघर्षको फूलको सुवास अनुभूत हुन्छ ।
त्यसो त उनले क्यानडा छँदै जुन वियोग भोगे, त्यो पल जीवनकै दुःखद हो । ‘सन् २०१०मा परिवारसहित दिनभर क्यानडाको राजधानी घुम्यौं । भोलिपल्ट मन्ट्रियल भन्ने अर्को प्रोभिन्समा एनआरएनको कार्यक्रम थियो । त्यहाँको होटलमा बेलुका एनआरएनको सांस्कृतिक कार्यक्रमको होस्ट थिएँ म । एउटा गीतको घोषणा गरेको मात्रै थिएँ, नेपालबाट फोन आयो । त्यो फोनले मलाई जीवनकै सबैभन्दा दुःखद खबर सुनायो ।’, उनी भावुक हुँदै बाबाको निधनको खबर आएको क्षण सम्झन्छन् । खबर सुनेपछि उनले कार्यक्रम चलाउन सकेनन् । घर फर्किए र पर्सिपल्ट नेपाल आइपुगे ।
०००
त्यसो त, पछिल्लो समय नेपालमा भएको प्रविधिको विकासबाट उत्साहित छन् रामकाजी । भन्छन्, ‘राजनीतिक स्थिरता हुने हो भने नट ब्याड ।’ राजनीतिमै भने उनी धेरै ‘ब्याड’ देख्छन् नेपालमा । उनलाई लाग्छ, राजनीतिको सवालमा क्यानडाबाट नेपालले सिकिदिए हुने !
‘यहाँ राजनीतिक क्षेत्रमै काम गर्नेले राजनीति गर्छन्, अरूले राजनीतिसँग सरोकारै राख्दैनन् । तर नेपालमा भने एउटा नेताको पछाडि हजारौं मान्छे त्यत्तिकै हिँडिरहेका हुन्छन् । त्यसरी हिँड्नुको साटो कुनै उत्पादनमूलक काममा लागे नेताले पनि बाध्यात्मक बहानामा गलत काम गर्न पाउँदैनथे’, उनी भन्छन्, ‘यहाँ ११ वर्ष भयो म बसेको, कुनै नेताको कारणले बाटो जाम भएको देखेको छैन । कोही पनि मान्छे म राजनीतिक पार्टीको होलटाइमर कार्यकर्ता भनेर हिँडेको देखेको छैन ।’
राजनीति ‘गुड’ हुने कुरालाई ‘इफ क्लज’मा राखेर हेर्ने हो भने नेपालप्रति उनलाई खासै गुनासो छैन । सबैतिर केही न केही ‘गुड’ भइरहेकै देख्छन् ।
‘फोटोग्राफी’ र ‘ट्राभलिङ’ उनको रुचि हो, गाउनुचाहिँ सानैदेखिको सोख । चार–पाँच वर्षदेखि उनले दोहोरी र लोकगीत मादल बजाउँदै गाए, बिहा–व्रतबन्ध र चाडबाडमा । वल्लोपल्लो गाउँमा मादल बज्यो भने सकेसम्म त पुग्थे नै हान्निएर, पुग्न नसके पनि मनचाहिँ उतै हुन्थ्यो, निद्राले छुँदैनथ्यो । त्यस्तो मान्छेलाई ‘गुड’ हुँदै गएको नेपाल फर्किनचाहिँ मन छ कि छैन होला ?
‘छ नि, किन नहुनु ? शान्तिप्रक्रिया सुरु भएपछि जान पनि खोजेको । तर हामी आएपछि छोरा पनि आयो । बच्चाको शिक्षा पूरा हुन दिउँ भनेरमात्रै बसेको ।’
आखिर, रामकाजीजस्ता प्रतिभाशाली कलाकार र सिर्जनशील व्यवसायी नेपाली नेपाललाई खाँचो परिरहेकै छ ।
( क्यानाडामा प्रवासी जीवन बिताइरहेका नेपालीहरुको जीवन संघर्षका यात्रालाई ब्लगमा उतार्ने प्रयास सहित यो स्तम्भको सुरुवात गरेका हौं । -सम्पादक )