CanadaKhabar.com

Saturday, April 18, 2026 -

…भन्थ्यौ

mukti-gautamमुक्ती गौतम

घर नहुनेलाई घर भन्थ्यौ
आफू जे सोच्थ्यौ, त्यही गर भन्थ्यौ
आफू बाँच्न लालायीत हुन्थ्यौ
मर्ने अरुलाई अजर अमर भन्थ्यौ ।

उनीहरुकै छ भर भन्थ्यौ
लड्नेहरुलाई नीडर भन्थ्यौ
अरुलाई लडाएर भर्याङ्ग चढ्ने तिमी
मर्ने अरुलाइ अजर अमर भन्थ्यौ ।।

लुटेको धनलाई कर भन्थ्यौ
आफूलाई नमान्ने जहर भन्थ्यौ
भ्रष्ट, लालची रहेछौ तिमी
पुरा गर्छौं गरीबको रहर भन्थ्यौ ।।।

जाली फटाहाको शहर भन्थ्यौ
गाउँमा ल्याउँने लहर भन्थ्यौ
झुटो, जालि पो रहेछौ तिमी
पुरा गर्छौं गरीबको रहर भन्थ्यौ ।।।।

बारीमा पुर्याउँने नहर भन्थ्यौ
देश बनाउँने ठहर भन्थ्यौ
सोझा जनता झुक्याउँने तिमी
जनतालाई आफ्नो धरोहर भन्थ्यौ ।।।।।