मनास्लुमा मृत्युलार्इ जितेको दिन: सेप्टेम्बर २३
सञ्जय पण्डित लामो दुरीको दौडमा धेरै रेकर्ड राखेको नाम हो । २४९५ किलोमिटर दौडिन सफल पण्डितले सगरमाथा लगायत अन्य बिश्वचर्चित हिमालको आरोहण गरेर विभिन्न रेकर्ड बनाइसेका छन् ।
संसारका अग्ला हिमालमा उल्टो हिँडेर या लामो समय अर्धनग्न भएर उनले रेकर्ड बनाएका छन् । उनले छिटो दौडिएर पनि हिमाल चढेको रेकर्ड राखेका छन् ।
कुनै हिमालमा उनले नेपाली दौरा सुरुवाल टोपीमा सजिएर चढ्न सफल भएका छन् । सञ्जयले प्राणघातक हिमालकारुपमा विश्वचर्चित मनास्लु हिमाल पनि सफलतापूर्वक आरोहण गरेका छन् ।
उनले सन् २०१२ सेप्टेम्बर २३ मा मनास्लु आरोहण गर्दा सँगै रहेका १४ जना आरोही साथीहरु आँखै अगाडि मृत्युको काखमा पुगेको देखे । उनी आफैं पनि मृत्युको मुखमा पुगेर फर्कन सफल सञ्जय २३ सेप्टेम्बर २०१२ लाई यसरी सम्झन्छन् ।
विश्वको शिखर सगरमाथापछि मनास्लुतर्फ
दौडबाट खेलक्षेत्रमा प्रवेश गरेको मेरो जीवनमा मनास्लु हिमाल कहिल्यै नमेटिने र सधैं ताजा भइरहने एउटा पाटो बनेको छ।
पहिलो पटकको प्रयसामा सगरमाथाको ८६८५ मिटरसम्म पुगेको मलार्इ सगरमाथाको चुचुरोमा पाइला राखिछाड्न हुटहुटीले छाडेको थिएन।
पहिलो प्रयासमा सगरमाथा आरोहण असफल भएपछि अर्को प्रयासमा चढ्ने कसम खाएको मेरो ध्यान किलर माउन्टेन मनास्लुतर्फ मोडियो ।
जसरी हुन्छ ८८४८ मिटरको सर्बोच्च शिखर चुम्ने अभिलासाका मैले किलर माउन्टेनका चर्चित ८१६३ मिटर अग्लो मनास्लु आरोहण गर्ने कसम खाएको थिएँ । सगरमाथामा असफल भएपछि काठमाडौँ फर्केर मनास्लु चढ्न त्यसतर्फ लागेँ लागेँ।
गन्तब्य मनास्लु
८१६३ मिटर अग्लो मनास्लु चढ्ने योजनाअनुरूप सेभेन समिट ट्रेक एजेन्सीको संयोजनमा सेप्टेम्बेर ५ का दिन काठमाडौँबाट करिब ३० जनाको टोली त्यसतर्फ लाग्यो । करिब ८ दिनको हिडाईँपछि हाम्रो टोली सामागाउँमा पुग्यो ।
यो स्थान मनास्लु प्रवेश गर्ने अन्तिम मानबबस्ती भएको क्षेत्र हो । यहाँबाट ६ घण्टा हिँडेपछि हामी १६ सेप्टेम्बेरमा मनास्लुको आधारशिविर पुग्न सफल भयौं।
मनास्लु आधारशिविरको उचार्इ ४९ सय मिटरछ । त्यहाँ पुगेपछि हामीले अभ्यास थाल्यौं । कुनै पनि आरोहीलाई हिमालको चुचुरोसम्म पुग्न त्यहाँको वातावरणसँग घुलमिल हुनु अनिबार्य छ ।
यदि वाताबरणसँग भिज्न सकिएन भने आरोहण गर्ने क्रममा कठिनाइ सामना गर्नुपर्छ । जुन पर्वतारोहीको शरीर फिट अनि फाइन हुन्छ उसैले मात्र सफल आरोहण गर्न सक्छ |
हामीले मनास्लुको क्याम्प-२ सम्म नियमित अभ्यास गरेका थियौं | आधार शिविरको अभ्याले हामीलार्इ क्याम्प-२ सम्म पुग्न सजिलो भइसकेको थियो ।
मार्टिन क्याम्प-३ मै रोकिए
सेप्टेम्बेर २१ तारिखको दिन हो | मनास्लु चढ्ने सबैजसो आरोहीहरु ६ हजार नौ सय मिटरमा अवस्थित क्याम्प-३ का लागि का लागि हिँडेका थियौं । हाम्रो टोली ६ हजार चार सय मिटरको क्याम्प-१ मा बसेका थियौं । त्यो बेला स्पेनिस साथी मार्टिन अनि उसको गाइड कर्मा शेर्पाले क्याम्प-३ मै बस्ने निर्णय गरेका रहेछन् ।
बाँकी २८ पर्वतारोही भने क्याम्प-२ बाट फर्किए । तेस्रो क्याम्पमा बसेका साथी मार्टिनलाई जति माथि बसिन्छ, त्यति नै हावापानी राम्रो र त्यो भन्दा माथिको बाटोमा सजिलो हुन्छ भन्ने लागेछ।
मलाई चाहिँ किन हो त्यो दिन माथि जान मन लागेन । मैले मेरो गाइड मिङ्ग्मा अनि हाम्रो टिम लिडर दावा शेर्पालाई बेस क्याम्पमै फर्कने योजना सुनाएपछि हामी सबै बेस क्याम्पमै फर्कियौं ।
मार्टिनको निधनले रुवायो
अर्को दिन सधैझैँ म बिहानै उठेँ । टेन्टबाट बाहिर हेर्दा अचम्मको दृश्य देखियो । बेस क्याम्पमा कुनै हल्ला तथा गाइँगुइँ थिएन । मनमनै सोचेँ, होइन आज किन बेस क्याम्प शान्त र मनोरम भएको ?
किन यहाँ अन्य आरोहण दलहरुको हल्ला नसुनिएको ? अन्य दिन बेस क्याम्पमा पानी पर्ने र चर्को हावा चल्थ्यो। यस दिन भने न हावा नै चल्यो न त पानी नै पर्यो । आकाश पनि शान्त थियो । यो दृश्य हेर्दा निकै बेरसम्म सोचमग्न भए त्यसपछि साथीहरु भएको स्थानमा पुगेँ |
त्यहाँ त आरोही साथीहरुको रुवाबासी देखेँ । एकछिन त सोच्नै सकिन । आखिर उनीहरु किन रोएका होलान ? भन्ने प्रश्न उठिरह्यो | धेरैबेर पछि पो थाहा भयो, हामीले प्रिय मित्र मार्टिनलाई गुमाएका रहेछौँ ।
२३ सेप्टेम्बरको बिहान ४:३० बजे मनास्लु क्याम्प-३ नजिकै ठूलो हिमपहिरो गएको रहेछ । क्याम्प ३ मा टेन्ट लगाएर बसेका सबैजसो साथी पर्वतारोहीलाई हिमपहिरोले बगाएछ ।
मार्टिनका गाइड कर्मा चाहिँ घाइते भएको समाचार सुने । धेरै आरोही हराइरहेको र मरेको सुने । त्यसपछि हाम्रो टाउकोमाथि उद्दारका लागि हेलिकोप्टरहरु उडिरहेको देखेँ ।
सुत्ने टेन्ट ,सिलिपिङ ब्याग यत्रतत्र छरिएको देखेँ । हिमपहिरोले ३१ जना घाइते भएका रएछन् । ८ जनाको मृत शरीर बेस क्याम्पमा ल्याइसकेका थिए भने अन्य घाइते र मृतकहरुलार्इ ल्याउने क्रम जारी थियो ।
यहाँ प्रकृतिबिरुद्द चुनौती दिने अवस्था थिएन । कुनै पनि बेला अर्को हिमपहिरो आउने त्रास थियो । स्प्नेनिस साथी मार्टिन हिमपहिरोमा परेको समाचारले म स्तब्ध थिएँ ।
मलाई केबल उसको मात्र अनुहार झलझली अगाडी आइरह्यो । उसँग मैले कयौ दिनरात सँगै बिताएको थिएँ । टेन्टमा बिताएका क्षणहरु सम्झिएँ । यस घटनाले म निकै भाबुक भएँ | भावना साटासाट गरेको साथी हिमपहिरोमा ज्यान गुमाउँदा उनलाई सम्झेर धेरै रात रोएँ |
मार्टिनका बुबालाई फोन गर्दा
२४ सेप्टेम्बेरका दिन मार्टिनको शव बेस क्याम्पमा ल्याइयो । हाम्रा निर्देशकले मार्टिनका बुबालाई उनको निधनको जानकारी दिए । ‘सरी, हामीले मार्टिनलाई बचाउन सकेनौ, हामीलाई माफ गर्दिनुहोस’, मेरै अगाडी निर्देशकले मार्टिनका बुबालाई एसमएस गरे ।
मलाई लग्यो यदि म पनि यस्तै भएँ भने मेरो घरमा पनि फोन, एसमएस गर्नेछन् । त्यो बेला मेरा बुबाआमाको अवस्था बारेमा सम्झिँए । तथापि म सफल हुन्छु हुँदिन थाहा थिएन ।
त्यस्तै सोच्दा सोच्दै धेरै आसुँ बगाएँ । रातभरी रुन्थेँ, मनमा डर थियो, भोलि बिहान उठ्दा मरिने या बाँचिने कुराले झस्कारहन्थ्यो ।
चार दिनसम्म नबोली बित्यो
साथी मार्टिनलाई गुमाएको ४ दिनसम्म हाम्रो टोली बेस क्याम्पमै डेरा जमाएर बस्यो । साथीहरुको शव देखेपछि केही गर्न मन लागेन । अझ यहाँको मौसममा पनि सुधार आइसकेको थिएन, लाग्थ्यो मौसम पनि शोकमा डुबेको छ ।
यसअघि हामीले २८ सेप्टेम्बरमा मनास्लु चुचुरो चुम्ने तयारी गरेका थियौं । हिमपहिरोले सबै सपना चकनाचुर भए । मौसम सफा भएपछि हामी २६ सेप्टेमरबरका दिन चुचुरो चुम्ने अभिलाशाका साथ हिड्यौं |
क्याम्प १ देखि ४ सम्म पुग्नै गाह्रो
विश्वमै प्राणघातक हिमालकारुपमा परिचित मनास्लु हिमालको क्याम्प १ देखि ४ सम्म बाटोजस्तो अफ्ठेरो अन्य कुनै हिमालको नहोला केबल एउटा डोरीको भरमा उक्लिनु पर्छ ।
मनास्लुको टाकुरोमा पुग्ने बेला अलिक समतल रहेछ। तर कुन् बेला लडिन्छ थाहै नहुने । यो क्रममा अक्सिजनको पनि निकै समस्या हुन्छ । खर्बस अनि आइस ब्लाइन्ड हुने पनि निकै सम्भावना हुन्छ । चढ्ने बेलामा चिप्लिएमा बाँच्ने सम्भावना छैन । दुर्इजना साथीहरु यसैगरी लडेर ज्यान गुमाए । क्याम्प ३ बाट हामीले नै बाटो बनाएर हिँड्नुपर्ने हुन्छ ।
चुचुरोमा पुग्न यस्तो योजना
सेप्टेम्बर २८-२९ तारिखका दिन हामीलाई बातावरणले साथ दियो । हिमाल चढ्ने क्रममा सायद यी २ दिनमात्रै मौसमले साथ दियो । ती दिन हामीलाई भाग्य अनि भगवानले पनि साथ दिए । हीले शिखर चुम्ने दिन पुर्णिमाको रातमा उज्यालो थियो । चुचुरो नजिकै पुग्दा त चन्द्रमा निकै तल देखिएको जस्तो अनुभब भैरहेको थियो ।
चुचुरोमा पुग्दा मलार्इ अर्कै संसारमा पुगेझैं लाग्यो । हामीले राति १२ बजे क्याम्प ४ बाट यात्रा सुरु गरेका थियौं । करिब १० घन्टाको अथक प्रयासपछि हामी हिउँमा घिस्रिँदै घिसिँर्दै चुचुरोमा नेपालको झन्डा फरफराउन सफल भयौं । त्यो दिन संसारले नै हत्यारा पर्बत भनेको मनास्लुमाथि विजय झन्डा गाडियो ।
चुचुरो चुम्ने आत्मविश्वास
म सँग ८६८५ मिटरसम्मको आरोहण अनुभव थियो । त्यहाँसम्म पुगेको मान्छे मनास्लु जसरी पनि चढ्छु भन्ने विश्वासमा थिएँ । असफल हुनु भन्दा मलाई मृत्यु प्यारो थियो मलाई ।
मनास्लुमा हिमपहिरोपछि ८० प्रतिशत बढी आरोहीले आरोहण त्यागेका थिए । मनास्लु हिमपहिरोपछि म शवहरुको थुप्रो छिचोल्दै चुचुरोर्फ लागेको थिएँ । हिमाल आरोहणका लागि गर्न या मर्न तयार हुनुपर्छ । अनि धैर्येता पनि उत्तिकै जरुरी छ । धैर्य हुन सके चुचुरो चुम्न सकिन्छ ।
पलपल आमाको सम्झना
मनास्लु हिमाल चढ्ने क्रममा मैले आमालाई धेरै सम्झिएँ । आमाको अनुहार झलझली आइरहन्थ्यो । निकै भाबुक हुँदै आँसु झार्थेँ । बुबालाई पनि सम्झिएँ । हिमाल चढ्नु भन्दा पहिला आमाले भनेको कुरा सम्झिन्थेँ, ‘“छोरा तिमी हिमाल किन जान्छौ” ? यत्रो पढेलेखेको छौ, कतै जागिर खोज । यदि तिमीलाई केही भए बर्बाद हुन्छ ।’
आमाकf यस्ता करुण शब्द सुनेर म मनास्लु चढ्न आएको थिएँ । जब शिखर चुमियो मैले अर्कै आनन्द अनुभब गरेँ | निकै कम आरोहीले आरोहण गर्ने मनास्लु हिमालमा जब पाइला राखेँ, मैले आमालाई निकैबेर सम्झिएँ । र, दुर्इथोपा खुसीका आँसु मलार्इ जन्माउने आमाबुबामा समर्पित गरेँ |
चुचुरोमा घर बनाऊँ जस्तो
जब मनास्लु हिमालको चुचुरोमा पुगेँ, त्यहाँबाट देखिने दृश्य यति मनमोहक थियो कि त्यस्को बाणन गर्नै सक्दिनँ । नजिकै देखिने धौलागिरी, सिसापङ्ग, पोखरा उपत्यका आहा कति सुन्दर ।
आफु निकै माथि र संसार निकै तल भएजस्तो भान हुन्थ्यो । त्यहाँबाट यस्तो अनौठो कुरा देखेँ ,आकाश र बादलबीच निकै फरक । मलाई त्यहीँ घर बनाएर बसुँ जस्तो लग्यो । त्यो मनोरम दृश्य सधैँ हेरिरहुँ जस्तो लाग्ने ।
बेस क्याम्पमा फर्कँदा
मृत्युसँग जितेर मनास्लु हिमाल आरोहण गरी बेस क्याम्प फर्कँदा म फ्ल्यासब्याकमा पुगेँ । ओहो ,कठिन यात्रा साथीहरुलाई गुमाएर हिमाल चढेँ । संसारले हत्यारा पर्बत भनेको हिमालयमा विजय प्राप्त गरेँ ।
आधारशिविरमा बसेका अन्य आरोही अचम्ममा परेर भने सञ्जय समिट पुगेछ । सोँचे एतिहास जसले विजय गर्छ उसको मात्र लेखिने रहेछ । मैले त्यही बुझेँ अनि मनास्लु पर्वतारोहणको खुसियालीमा म मनास्लु आधार शिबिरबाट दौडेर नै गोर खासदरमुकाम गोरखा बजार आएर बिश्राम गरेँ ।
एक सेकेन्डले बाँचे
स्पेनिस साथी मार्टिन बेस क्याम्प–३ मा पुगेको बेला हामी पनि त्यहीँ थियौं । उसले किन बस्ने निर्णय गर्यो थाहा भएन । त्यस बेला मैले केही नसोची तल झर्ने सोच लिएको थिएँ । यदि मैले मेरो गाइडलाई त्यहीँ बस्ने निर्णय सुनाएको भए म पनि मार्टिनसँगै शवमा परिणत हुन्थेँ होला ।
मेरो पनि क्याम्प-३ मै बस्ने योजना थियो । बाटो नभएकाले तल झर्यो । टिम लिडर दावा शेर्पाले तल झर्ने कुरा नगरेको भए सायद जीबन त्यहीँ अन्त्य हुन्थ्यो होला ।
भगवानले एक चोटी फेरि जीवनदान दिए जस्तो लाग्यो । ज्यानको बाजी लगाएर मनास्लु चढेँ । अब फेरि चढ्ने हिम्मत अनि सहास छैन । चुचुरोबाट देखिने दृश्यले भने अझै पनि आइज भनेर बोलाइरहेको छ ।
( क्यानाडामा प्रवासी जीवन बिताइरहेका नेपालीहरुको जीवन संघर्षका यात्रालाई ब्लगमा उतार्ने प्रयास सहित यो स्तम्भको सुरुवात गरेका हौं । -सम्पादक )