CanadaKhabar.com

Saturday, May 18, 2024 -
  • भेटेको पर्स फिर्ता गर्दा यसरी बदलियो घरबिहीनको जीवन

    थाईल्याण्डका ४४ वर्षीय वोरालोपसँग गोजीमा मात्र ९ भाट थियो । त्यतिबेला उनले बाटो खसिरहेको ५७९ डलर पर्ने हरमेसको पर्स भेट्छन् । त्यसमा कयौं क्रेडिट कार्ड पनि हुन्छ । त्यो पर्स बेचेर र त्यो क्रेडिट कार्ड चलाएर उनले आफ्नो लागि हप्तौ पुग्ने खाना र लत्ता कपडा किन्न सक्थे । तर, उनले त्यसलाई फिर्ता गर्ने निर्णय गरे । उनको यो निर्णयले उनको जीवन नै बदलिदिएको छ ।

    waralop-kindness

    त्यस्तो पर्स भेटेको भए जोकोही पनि मनले एकपल्ट त्यसलाई फिर्ता गर्ने वा नगर्ने भनेर सोच्ने थियो होला । तर, वोरालोप भने आफूलाई कहिले पनि पर्स फिर्ता गर्ने दुविधा नभएको बताउँछन् । पर्सका मालिकले पर्स खसाल्दै गरेको देखेर कुद्दै गएर पर्स फिर्ता गर्ने प्रयास समेत गरे । तर, त्यतिबेला पर्सका मालिक गाडी लिएर हुँइकिहाले । लगत्तै उनी प्रहरी कार्यालय पुगेर पर्स हस्तान्तरण गरे ।

    यता, ३० वर्षीय युवा उद्यमी निटी पोङक्रियान्गोसलाई भने पर्स हराएको पत्तो पनि थिएन । प्रहरीले फोन गरेपछि मात्र उनले यसको चाल पाए । प्रहरीले जब एक घरबारबिहीन व्यक्तिले उनको पर्स फिर्ता गरेको कुरा सुनाए, उनी झन् चकित भए । किनभने पर्सभित्रको केही कुरा पनि हराएको थिएन ।

    waralop-kindness4

    ‘गोजीमा पैसा नभएको व्यक्तिले यस्तो पर्स भेटाउँदा पक्कै पनि यो पर्स राख्थ्यो होला । तर, उनी निकै इमान्दार थिए,’ निटीले भने ।

    शुरुमा उनले वोरालोपलाई ५७ डलर पुरस्कारको प्रस्ताव गरे । तर, पछि उनले बैंककमा रहेको आफ्नो फ्याक्ट्रीमा कामको अफर पनि गरे । जसलाई वोरालोपले स्वीकार गरिहाले ।

    आज वोरालोप महिनाको ३१४ डलर कमाउँछन् । कम्पनीले उनलाई बस्ने ठाउँ पनि दिएको छ ।
    ‘मेरो जीवन बदल्ने मौका दिएकोमा म खुसी छु । एउटा सफा ओछ्यानमा सुत्न पाउन निकै खुसी लाग्छ,’ उनले भने, ‘म निटी र तारिका (निटीकी प्रेमिका)लाई मप्रति देखाएको दयाप्रति आभारी छु ।’

    waralop-kindness2

    तारिकाले वोरालोपले काम गरेको तस्विर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । ‘राम्रो कामको राम्रो फल पाइन्छ भन्ने वोरालोप राम्रो उदाहरण हुन् । उनी सबैका लागि प्रेरणाको स्रोत बन्न सक्छन्,’ उनले भनिन् ।

    waralop-kindness5