नम्रता गुरागाईं – नर्थ क्यारोलाइना
हरेक महिनाको अन्ततिर नर्थ क्यारोलाइना नेपाली साहित्य समाजद्धारा आयोजना गरिने २०१६ को अन्तिम कविता गोष्ठी अग्रज साहित्यकार ईश्वर देवकोटाको निवासमा सम्पन्न भयो ।
भर्खरै दिवंगत हुनुभएका साहित्यकार कमलमणी दिक्षितलाईं श्रदान्जली अर्पण गर्दै शुरु भएको कार्यक्रममा रातोबंगला स्कूलकी शिक्षिका तथा सुमधुर छन्द वाचनकी धनी सुधा ओझाले स्वर्गिय दिक्षितसंगका आफना केही रमाइला क्षणहरु उपस्थित सबैसंग बाडनु भयो ।
यस्तै निलम कार्की निहारिका र नम्रना गुरागाईंले पनि वहांसंगका आ–आफना संझनाहरु ब्यक्त गर्नु भयो । अतिथि कवि तथा शिक्षिका सुधा ओझाले छन्दका कविताहरु सुमधुर लयमा बाचन गर्नुको साथै उपस्थित सबैलाई छन्दसम्बन्धी ज्ञानपनि दिनु भयो । डिसेम्बर महिनाको ब्यक्तित्व कृतित्व चर्चाका लागि पर्नुभएका साहित्यकार जनकलाइ शर्माको बारेमा साहित्यकार ईश्वर देबकोटाले प्रकाश पार्नुभयो ।
त्यस्तै हरेक ३ महिनामा हुने बुक क्लबमा यसपाली साहित्यकार मदनमणी दिक्षितको माधबी उपन्यासमाथि कवि द्वय विक्रम गौतम र शिशिर खनालले उपन्यासको सारांश प्रस्तुत गर्नुभएको थियो भने कवि सुजाता ढुंगेलले माधबी उपन्यासमा लेखकले भनेका मन परेका केही अंशहरु उपस्थित सबैलाई सुनाउनु भएको थियो ।
लेखक तथा पाठकहरु क्रमशः बटु शर्मा, पुजा शर्मा, ईश्वर देबकोटा, कमला देबकोटा, सुनिल ढुंगेल, सुजाता ढुंगेल, सुस्मा प्रधान, मनोज प्रधान, शिशिर खनाल, बिक्रम गौतम लेखनाथ दुलाल, निलम कार्की निहारिका, भाष्कर क्षेत्री र नम्रता गुरागाईको उपस्थिति रहेको उक्त कार्यक्रममा कविहरु क्रमशः लेखनाथ दुलाल, शिशिर खनाल र नम्रता गुरागाईले आ-आफनो कविता वाचन गर्नुभएको थियो । कार्यक्रमको अन्यमा २०१६ साललाइ विदाइ गर्नुका साथै २०१७ मा अझै लेखनमा क्रियाशिल हुने शुभकामना आदान प्रदान गरियो ।