पूर्णसिंह बराईली
सन्दर्भ : अमेरिकामा नेपाली चलचित्र महोत्सव
उत्तरआधुनिकतावादी जां फ्रायांक ल्योतार्डले ‘महाआख्यानको अन्त्य’ र फ्रान्सिस फुकुयामाले ‘इतिहासको अन्त्य’ भनि रहँदा संस्कृति अध्येता इल्ला शोहत तेस्रो विश्वहरुको संस्कृति, लैंगिकता, राष्ट्र सिनेमाबारे एक पुस्तकमा लेख्छिन् ‘हामीले प्रश्न गर्नै पर्छ । कस्को आख्यान र इतिहास अन्त्य भएको घोषणा भइरहेको छ?’
तेस्रो विश्वका जनताहरु,पहिलो विश्व राष्ट्रका अल्पसंख्यक समुदाय, महिला र समलिंगी तेस्रोलिंगीहरुको कथाहरु भर्खरै मात्र भन्न र निर्माण हुने थालेका छन् । तेस्रो विश्व राष्ट्र र पहिलो विश्व राष्ट्रमा भएका तेस्रो विश्व राष्ट्रका डायस्पोरा समुदायहरुले आफ्रनो इतिहास पुनःलेखन गर्नु पर्छ। आफ्नो छविलाई बलियो बनाउन आफैं आवाज उठाउनु पर्छ र कथाहरु भनिनु पर्छ, सिनेमाहरु विकसित हुनु पर्छ।
शोहतले भने झैं हामी नेपालीहरुले हाम्रो इतिहाँस र वर्तमानका कथाहरु सिनेमाको माध्यमबाट भर्खर-भर्खर भन्न थालेका छौं । सन् १८९५ मा विश्व चलचित्रको इतिहास सुरु भएको ६ दशक पछि मात्रै नेपालमा चलिचत्रको माध्यमबाट कथा भन्न सुरु गरिएको थियो । दलित, महिला, आदिवासी जनजाती, मधेस र अल्पसंख्यक समुदायका कथाहरु सिनेमा र साहित्यमा आउनु पर्ने विषयमा बहसहरु हुन थालेका छन् र केही प्रयासहरु पनि भइरहेका छन् । अन्तराष्ट्रिय स्तरमा नेपाली सिनेमाको छवि निर्माण गर्दै आफ्ना कथाहरु विश्व समुदायमा पुर्याउन नेपाली चलचित्रहरुले संघर्ष गरिरहेका छन् ।
छिरिङरितार शेर्पाको ‘मुकुण्डो’, नविन सुब्बाको ‘नुमाफुङ’ लगायतका चलचित्रहरुले अन्तराष्ट्रिय चलचित्र मञ्चहरुमा आफुलाई स्थापित गर्न सफल भएका थिए। पछिल्लो समय मिन बहादुर भामको ‘कालो पोथी’ र दीपक रौनियारको ‘सेतो सुर्य’ले अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा पुरस्कार सहित आफुलाई अब्बल साबित गरेका छन्।
अरु चलचित्रहरुले पनि क्रमश आफ्ना अन्तराष्ट्रिय यात्रा जारी राखेका छन्। केशाङ क्षेतेनको ‘इन सर्च अफ रियाल’, ‘सेभिंङ डोल्मा’, ‘हु वीलबी गोरखा?’, भोजराज भाटको ‘सुनकली’ र गणेश पाण्डेको ‘भाग्यले बाँचेकाहरु’ लगायत अरु थुप्रै चलचित्रकर्मीका वृत्तचित्रहरुले अन्तराष्ट्रिय स्तरमा राम्रो छवि बनाउदै गएका छन्। छोटा चलचित्रहरुको विकास हुने क्रम पनि अत्यन्त तिव्र गतिमा छ। नेपालका छोटा चलचित्रहरुले पनि अन्तराष्ट्रिय स्तरमा आफुलाई परिचित गराएका छन्। विगत केही वर्षदेखि सवै विधाका चलचित्र महोत्सवहरु पनि स्थापित भएर आयोजना हुदै आएका छन्।
गत साल स्वीटजरल्याण्डको चर्चित लोकार्नो चलचित्र महोत्सवले मिन भामको ‘कालोपोथि’ र दीपक रौनियारको चलचित्र ‘हाइवे’को विशेष प्रदर्शन गर्यो। कोरियाको बुसानमा आयोजना हुने प्रख्यात बुसान चलचित्र महोत्सव र सिंगापोर चलचित्र महोत्सवले नेपाली चलचित्रहरुलाई छुट्टै स्थान दिएर प्रदर्शन गरे |
यहि अप्रिलमा आयोजना हुने स्वीटजरल्यण्डकै अर्को फ्रिबर्ग अन्तराष्ट्रिय चलचित्र महोत्सवमा पनि नेपाली चलचित्रलाई विशेष क्षेत्र घोषणा गरि महोत्सवको आयोजना भइरहेको छ। यसरी नेपाली चलचित्रहरु अन्तराष्टिय मञ्चहरुमा स्वीकार्य हुन थालेका छन्।
नेपाली चलचित्रहरुले आफ्नो कथ्य शैलीलाई विस्तारै विकसित र परिस्कृत गर्दै गएको महसुस गर्न सकिन्छ। अन्तराष्ट्रिय स्तरमा नेपाली चलचित्रको पहिचान, कथ्य शैली र नेपाली चलचित्रलाई कसरी प्राज्ञिक बनाउने भन्ने विषयमा छलफल चलिरहेका छन्। यो बहस र नेपाली चलचित्रको डायस्पोरा र अन्तराष्ट्रिय बजारबारे गहन छलफल सुरु भएको छैन। यो अभियानमा नेपाली डायस्पोरा समुदायले महत्पूर्ण योगदान दिन सक्छ । नेपाली चलचित्र संस्कृतिको विकासमा प्रभावकारी भुमिका खेल्न सक्छ। डायस्पोरा शब्द नेपाली अप्रवासी समुदायमा प्रयोग नगर्ने छलफल भइरहे पनि विश्वभरी डायस्पोरा र चलचित्रबार गहन अध्ययन र अनुसन्धानहरु भएकोले यहाँ डायस्पोरा शब्द प्रयोग गरिएको छ।
नेपाली डायस्पोरा र चलचित्र
विश्वभरी छरिएका नेपाली डायस्पोरा समुदायमा नेपाली चलचित्रहरुको प्रदर्शन गर्ने क्रम बढेको छ। यसले डायस्पोरामा नेपाली चलचित्र संस्कृतिको प्रवर्धन भइरहेको छ। नेपाल र डायस्पोरामा एकैसाथ प्रदर्शन हुने प्रयासहरु पनि भइरहेका छन् । विशेषत हङकङ, बेलायत, अष्ट्रेलिया, क्यानाडा र अमेरिकामा नेपाली चलचित्रहरु प्रदर्शन हुने क्रम बढ्दो छ। सामाजिक संजाल र अनलाइन समचारहरुको अध्ययन गर्दा अमेरिका र बेलायतमा नेपाली चलचित्रहरुको प्रदर्शन सक्रिय रुपमा हुने गरेको मान्न सकिन्छ। क्यानाडामा सन् २०१० देखि निरन्तर टोरोन्टो नेपाली चलचित्र महोत्सवको आयोजना हुदै आएको छ। स्कटल्याण्डमा पनि इडनबर्ग नेपाली चलचित्र महोत्सव पनि घोषणा भएको पाइएको छ।
यसरी विभिन्न प्रयासहरु भइ रहेका छन्। यो प्रयासहरुलाई संगठित र संस्थागत गर्न सकिएको छैन । नेपाली चलचित्रको स्वरुप, शैली र लगानीबारे डायस्पोरामा बहसहरु भइरहेका छैनन् । विश्व चलचित्र इतिहासको विकसित मुलुकहरु अमेरिका,वेलायत र यूरोप लगायतका मुलुकहरुमा हाम्रो नेपाली डायस्पोरा गैरआवसीय नेपाली संघ र अन्य विभिन्न संघ संस्थाहरुको माध्यमबाट संगठित भएका छन्। त्यहाँका चलचित्र इतिहासको ज्ञान र सीपलाई नेपाल सम्म जोड्ने प्रयास नै हुन सकेन । त्यहीं भएका आर्थिक श्रोत र साधनहरुलाई हाम्रो कथाहरुमा आकर्षित गर्न सकिरहेका छैनौं।
अहिले संसारभरीका डायस्पोरा समुदाय अन्तरदेशीय सिनेमा र संस्कृतिको बहसमा लागि परिरहेको छन् । धेरै अध्ययन र अनुसन्धानहरु पनि भएका छन्। चीन, भारत र अन्य धेरै देशका कथाहरुले हलिउड जोडेको छ। हलिउडले ती देशहरुलाई जोडेको छ। कथा लेखन देखि निर्माण र वितरण सम्मका अभियानहरुमा अन्य देशका डायस्पोराले आफ्नो देशलाई जोडी रहेका उदाहरणहरु धेरै छन्। यो अभियानमा नेपाली डास्यपोराले व्यवस्थित र संगठित ढंगले सुरुवात गर्नु पर्छ । नेपाली डायस्पोरा र सिनेमाबारे गहन छलफल गरिनु पर्छ। अहिले सम्म हामीले गर्दै आएको चलचित्र प्रदर्शनहरुमा पनि हामीले अन्य समुदायलाई आकर्षित गर्न सहि रहेका छैनौं। त्यो खाडललाई पुर्ति गर्न त्यही गुणस्तरको चलचित्रहरुलाई प्रवद्र्धन गर्दै अन्य देशका दर्शकलाई पनि जोड्ने एउटा पुलको निर्माण गर्नै पर्छ।
अमेरिकामा नेपाली चलचित्र महोत्सव
माथि छलफलमा आएका कुराहरुलाई मध्य नजर गर्दै चलचित्रको माध्यमबाट अमेरिका र नेपालको कला, संस्कृति र ज्ञानलाई जाड्ने एउटा प्रयास स्वरुप ‘नेपाल अमेरिका फिल्म सोसाइटी’ मेरिल्याण्डमा सुरुवात गरिएको छ। यहि सोसाइटीले “नेपाल अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सव”को आयोगना यहि आगामी मे २०१७ मा गर्दैछ। डास्पोरा र चलचित्रहरुबारे छलफल गर्ने एउटा साझा मञ्चको रुपमा स्थापित गर्ने लक्ष्य लिइएको छ। गैर- नेपाली चलचित्रकर्मीहरुले पनि नेपाल र नेपालीहरुको कथामा राम्रा चलचित्रहरु निर्माण गरेका छन्, उनिहरुलाई सम्मान गर्दै अझै उत्प्रेरित गर्ने मञ्चको रुपमा पनि विकास गरिने छ। नेपाली मात्रै होइन, अमेरिकन लगायत अन्य आप्रवासी समुदयालाई पनि चलचित्र महोत्सवले आकर्षित गर्नेछ। नेपाली डायस्पोराको एउटा राम्रो र सम्मानित चलचित्र महोत्सवको रुपमा स्थापना गरिने सपना सहित यो चलचित्र महोत्सव आयोजना हुने छ ।
चलचित्र महोत्सवको आयोगनाका लागि अहिले चलचित्रहरुको आवेदन संसार भरिबाट आइरहेका छन । व्यक्तिगत संपर्क र ‘फिल्मफ्रीवे” भन्ने अनलाइन मार्फत यो आलेख तयार पार्दा सम्म ११ सय भन्दा बढी चलचित्रहरुको आवेदन परेको छ। यसले चलचित्र महोत्सवलाई स्थापित गराउन थप अभिप्रेरित गरेको छ। वार्षिक रुपमा आयोजना गरिने पहिलो चलचित्र महोत्सव ३ दिन सम्म चल्ने छ। पहिलो दिन उद्घाटन हुने छ। दोस्रो दिन विभिन्न स्थानहरुमा चलचित्र प्रदर्शनी हुने छ। महोत्सवको तेस्रो दिन चलचित्र प्रदर्शन र साँझ समापन र पुरस्कार वितरण कार्यक्रमको आयोजना हुने छ।
चलचित्र महोत्सवको आयोजना गर्नु आफैंमा ज्यादै कठिन काम हो। अझ अमेरिकाको व्यस्त जीवनमा चलचित्र महोत्सवको आयोजना गर्नु धेरै कठिन र चुनौतिपूर्ण छ। हामी सवैको साझा पहल हुन सक्यो, सवैले हातेमालो गर्न सकियो भने एउटा राम्रो, भव्य र उदाहरणीय चलचित्र महोत्सवको रुपमा विकास गर्न सकिन्छ। यो व्यस्त जीवनमा पनि हामी जन्मदिन देखि विभिन्न चाडर्वको पार्टीहरुमा पुगी रहेकै हुन्छौं। त्यसलाई अलिकति व्यवस्थापन गरेर सहभागीता जनाउन सकियो भने हामीले एउटा राम्रो महोत्सव बनाउन सक्छौं। अन्य धेरै देशका डायस्पोरा समुदायले बर्षौं देखि चलचित्र महोत्सवको आयोजना गर्दै आइरहेका छन्। छिमेको मुलुक चिन र भारतको डायस्पोराको मात्रै अध्ययन गरियो भने पनि धेरै राम्रा चलचित्र महोत्सव र सिनेमा सम्बन्धि काम गरेका छन्। आउनुहोस, हामी पनि प्रयास त गरौँ| नेपाली र अमेरिकन दुवै समुदाय र संकृतिलाई चलचित्रको माध्यमबाट जोड्ने एउटा साझामञ्चको निर्माण गरौँ।