भाबी डिआईजीको दौडमा रहेका ४ डीआइजी मध्ये एक हुन प्रकाश अर्याल । डीआइजी अर्यालले सीआइबीमा हुँदा ०७० साल असारको अन्तिम साता कोटेश्वरबाट ३५ किलो सुनसहित केही तस्करहरुलाई समातेका थिए ।
त्यही सुन बरामद गर्नु अर्याललाई जिवनमा अभिसाप बन्यो । अख्तियारवालाको संरक्षणमा रहेका तस्करहरु सहजै उम्किए, अनि डीआइजी अर्यालले चाँहि अहिलेसम्म ‘सुनकाण्डमा मुछिएका प्रहरी अधिकृत’ को पगरी लगाइरहेका छन् ।
तत्कालीन सीआइबी प्रमुख प्रकाश अर्यालका पालामा समातिएको सो ३५ किलो सुन तातोपानी नाका हुँदै काठमाडौं भित्रिएको थियो । सुराकीका आधारमा प्रहरीले सामान बोक्ने कन्टेनरमा खानतलासी गर्दा फल्स बटम बनाएर ल्याइएको अवस्थामा सुन फेला परेको थियो ।
प्रहरीले त्यसबेला सुन धनी भनिएका ग्याम्जो लामालाई बौद्धबाट पक्राउ गरेको थियो भने सुनसरीका मोहनकुमार अग्रवाललाई कालिकास्थानबाट समातेको थियो । गाडीधनी तातोपानीकै नाङगेल भनिने ओमबहादुर बज्राजाचार्य माइतीघर मण्डलाबाट पक्राउ परेका थिए ।
सो घटनामा सुन बरामद गर्ने सुराकीको कमिसनबारे विवाद चर्कियो । सुन तस्करीमा संलग्न भीआइपीहरुको खोजी नै भएन । डीआइजी प्रकाश अर्यालले सुराकीको कमिशनमा लोभ गरेको आरोप लगाईयो र उनलाई बदनाम गरियो ।
सुनको सुराकी कमिसनबारे एक पूर्व प्रहरी अधिकारी भन्छन–‘प्रहरीले प्रायः आफन्तजन र आफ्नै मान्छेलाई सुराकीका रुपमा प्रयोग गर्छन ।’ परको मान्छेबाट यस्तो काममा विश्वास गर्न नसकिने भएरै प्रहरीलाई आफैं सुराकी खटाउन भनिएको हुन्छ ।
एकताका काठमाडौंमा चर्चित बनेका एसएसपी रमेश खरेलले पनि श्रीमतीलाई सुराकी राखेर कमिसन लिएको चर्चा चलेकै थियो । यो स्थितिमा डीआइजी प्रकाश अर्यालले ३५ किलो सुन र तस्करलाई समातेको विषय ठूलो हुँदाहुँदै पनि चोर पक्रनेलाई नै बदनाम गरेर चोरहरु चाँहि उम्किएको गुनासो प्रहरी संगठनभित्र अहिले पनि चर्चामा छ ।
स्रोतका अनुसार त्यसबेला सुन तस्करहरुको पहुँच राजस्व अनुसन्धान विभागका कर्मचारी र अख्तियारसम्मै थियो । त्यसैले उनीहरुले डीआइजी अर्याल विरुद्ध सुनको नयाँ सुराकी मार्फत विवाद गराएको अर्याल पक्षधर प्रहरी अधिकारीहरुको दाबी छ ।
तथापि त्यो ३५ किलो सुन प्रकरणले के स्पष्ट गर्छ भने प्रहरीले साना एवं राजनीतिक पहुँचमा नभएका अपराधीमाथि सहजै कारवाही चलाउन सक्छ, तर ठूला एवं राजनीतिक पहुँच बनाएका अपराधीहरुलाई छुनै सक्दैन ।
सिंगै देश तस्करहरुले चलाएको स्थितिमा प्रहरी यसरी निरीह बन्नु स्वाभाविकै हो । स्रोतको दाबी के पनि छ भने डीआइजी प्रकाश अर्याल सीआइबीमा हुँदा सुन तस्करहरुका लागि काँडो बनेका थिए । तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीसमेत डीआइजी अर्याललाई देखी सहँदैन थिए ।
डीआइजी अर्याल अहिले महानगरीय ट्राफिकको जिम्मेवारीमा छन् । र, त्यहाँ पनि उनले घुस खाने प्रहरीहरुलाई भटाभट कारवाही गर्ने गरेका कारण उनी अलोकप्रिय छन । डिआईजी प्रकाश अर्याल आईजीपीको दौडमा त छन तर अरु डिआईजी जस्तो लविङ्गमा त्यति देखिँदैनन ।