आमाको सम्झनामा;
उनीसंगै
घर बिउँझन्छ
गाईबस्तु
बारीका रुखका चराहरु
रातभरी मुर्झाएका
करेसा बारीका फूलहरु
शीतमा लथ्रक्क भीजेका
तरकारीका बोटहरु
बिउँझन्छन् उनीसंगै ।
उनीसंगै
मस्त निन्द्रामा परेका छपेर्नीहरु
घर माँथीको पुरानो मन्दिरका घण्टहरु
रातभरी सुसाएर थाकेको रानीबन
हलीहरु, पधेर्नीहरु
सुदूर पूर्बमा
लाली भरिएको उँज्यालो दिन
र
खोपीमा निशब्द बसिरहेका
देउता पनि बिउँझन्छन् ।
उनीसंगै
चुल्हो ब्युझन्छ
चुल्होको उँज्यालो संग
घरभित्र आशाहरु छिर्छन्
हजूर बाका निभ्न थालेका आँखाहरुमा
चमक थपिन्छ हरेक दिन,
त्यहि आगोले
हाम्रो पेटमा तातो पस्छ
र
तातोले अनुहारमा मुस्कान खस्छ ।
हावा
उनीलाई छोएर
यतैबाट घर भित्र छिर्छ ,
घरका बस्तु
बारीको अन्न
जंगलका रुख
यतै चौबिसै घण्टा
चलिरहने हावा
र
धाराको पानीमा पनि
उनकै माया छ ,
उ त्यो माँथीको घामको उँज्यालो पनि
त्यही ममताको सप्को छोएर खस्छ आँगनमा
आँगनबाटै हाम्रो जीउँ
हाम्रो गोठ
र
बारीमा पर्छ घाम,
उनै त हुन्
सखारै उठेर
घाम छरेर
खुशी फलाउँने धर्तीमा
उनी
अर्थात
आमा ।