CanadaKhabar.com

Saturday, January 4, 2025 - 15:09:56
  • नवनिर्वाचित प्रधानमन्त्री देउवाका सम्भावना र चुनौती

    सत्तासाझेदार नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच पालैपालो सरकारको नेतृत्व गर्ने समझदारीले मूर्तरुप लिएपछि मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री चुनिएका छन्।

    ७० वर्षीय देउवाको जन्म सुदूर पश्चिम नेपालको रुवाखोला असिग्राम डडेल्धुरामा भएको थियो ।

    नेपाल विद्यार्थी संघका प्रथम सभापति हुँदै राजनीतिक यात्रा थालेका देउवाले २०४८ साल यताका हरेक संसदीय निर्वाचन जित्दै आएका छन्।

    मंगलबार संसदमा निर्वाचित भएसँगै उनी चौथो पटक नेपालको प्रधानमन्त्री बन्न सफल भएका छन्।

    तर उनको विगतका कार्यकाल सफल नमान्नेहरु पनि धेरै छन्।

    सत्ताको बागडोर

    उनले देश संकटको संघारमा रहेको बेला यसअघि तीन पटक सत्ताको बागडोर सम्हालिसकेका छन्।

    उनी २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बन्दा देशमा माओवादी विद्रोहको झिल्का विस्तारै फैलिँदै थियो।

    त्यसको ६ वर्षपछि २०५८ सालमा उनी दोस्रो पटक प्रधानमन्त्री चुनिँदा माओवादी विद्रोहको डढेलो देशको पश्चिमबाट पूर्वसम्मै फैलिने क्रम शुरु भइसकेको थियो।

    त्यसको व्यवस्थापन गर्न देउवाले देशमा संकटकाल लगाए, तर त्यसले द्वन्द्व झनै चर्काइदियो।

    उनले संसद विघटन गरिदिएपछि नेपाली कांग्रेस नै विभाजित हुन पुग्यो र उनी पनि तत्कालीन राजा ज्ञानेन्द्रद्वारा “अक्षम” भन्दै सत्ताच्युत गरिए।

    उनी २०६१ सालमा फेरि राजाबाटै प्रधानमन्त्री बनाइए र पुन: बर्खास्त पनि गरिए।

    गणतन्त्र घोषणा

    तत्कालिन सात दलीय गठबन्धन र नेकपा माओवादीबीचको बृहद् शान्ति सम्झौता र गणतन्त्र घोषणा पश्चात् परिस्थिति बदलियो।

    दुई पटक भएका संविधानसभा निर्वाचनपछि पनि कुनै एक दलले बहुमत हासिल गर्न नसकेपछि नेपाली राजनीति पुरानै अवस्थामा फर्कियो र दलहरुबीच सत्ताप्राप्तिका लागि ध्रुवीकरण हुने क्रम दोहोरियो।

    फलस्वरुप नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको आलोपालो नेतृत्व गर्ने एक वर्षअघिको समझदारीले अहिले देउवालाई पुन: देशको कार्यकारी प्रमुखको रुपमा उभ्याइदिएको छ।

    तर देउवाको बाटो सहज देखिँदैन।

    कठिन मोड

    उनले फेरि देश कठिन मोडमै रहेको ठानिएको बेला सत्ता सम्हाल्न पुगेका छन्।

    उनको पहिलो चुनौती पटक पटक मिति सारिएको दोस्रो चरणको स्थानीय तह चुनाव आगामी असार १४ गते सम्पन्न गर्नु हो।

    त्यसका निम्ति उनले संविधान संशोधनको माग एकोहोरो रुपमा अघि सारिरहेका राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) लगायतका असन्तुष्ट दलको मागलाई संवोधन गर्न नेतृत्वदायी भूमिका खेल्नु पर्नेछ।

    दुई तिहाइ बहुमत विना संविधान संशोधन सम्भव नुहने हुँदा त्यसका लागि देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेको मत जित्ने काम यतिखेर सबैभन्दा चुनौतीपूर्ण देखिन्छ।

    यस्ता प्रतिकूलतामाझ देउवासामु रहेको सबैभन्दा ठूलो चुनौती हो – आगामी २०७४ माघ ७ गतेभित्रै प्रदेशसभा र संघीय संसदको निर्वाचन स्वच्छ र निष्पक्ष ढंगले सम्पन्न गराउनु।

    त्यसकालागि उनले सत्ता साझेदार दलहरुसंगै विपक्षलाई पनि विश्वासमा लिएर जान सक्छन् वा सक्दैनन्, त्यसमै उनको सफलता वा असफलता निर्भर रहने देखिन्छ।#bbc

    Save

    Save

    Save