CanadaKhabar.com

Sunday, December 14, 2025 -

‘बा’को हलोको फालीमा अड्किएको माटो

बाको हलोको फालीमा अड्किएको माटो
_______________________________

                                                                              मुक्ती गौतम ।

 

बिहानै काँधमा हलो

एकहल गोरुसंगै गएका बा
दिउँसोको धुपमा घर फर्किए
हलो पर कुनामा राखेर
पेटिमा बसे
मलाई हेरे

आमाले लोटामा राखेर गएको
पानी बोकेर रछ्यानतिर लागे पखालिन
मैले बा बसेको ठाउँमा
बाको पसिना र झरेको बारीको माटो देखें ।

अलि पहिले
आमाले त्यहि ठाउँमा
डोको बिसाएकि थिईन् गाग्री निकाल्न
उनको ढाडमा डोकोको डाम

निधारमा बरियोको चित्र
देखेको थिएँ मैले
पसिनासंगै उनको
दृष्टी खसेको थियो भुँईमा
जहाँ बाले टेकेर पसिनाको डोब मेटाए
पछि उनैले दिएको पानीको लोटा उठाउँदा ।

उनीले खसाउँने भनेको
माटो थियो
उनीले चुहाउँने भनेको
पसिना थियो
त्यो घर
त्यो आँगन

त्यो बाटोमा
उनीले देखाउँने भनेको
त्यसैको माया थियो,
मेरा बाले कहिल्यै कतै सिकाएनान्
अथवा
देखाएनान् कुनै बाटो भ्रमको
जीताएनान् मलाई कुनै युध्द
बरु
उनीले फालीमा अड्किएको
माटो निकाल्दा
म पग्लिएँ कैयौ गुणा
बाको माटो संगको मायाले

हेरिरहें फाली र फालिबाट झरेको
ओसिलो मेरो बाको पसिना सहितको
मेरो खेतको माटो एकसाथ ।

अगष्ट ७, २०१७
टोरण्टो, क्यानडा

Save

Save

Save